Comments Add Comment

कैलाली घटनामा दिवंगत सशस्त्र प्रहरीका परिवारलाई १० लाख प्रदान

APF-15th-Day,-Koshraj-Wonta

२३ कात्तिक, काठमाडौं । पन्ध्रौं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलले सोमबार विशेष समारोह आयोजना गरेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भुमा विशेष समारोह आयोजना गरिएको हो ।

कैलाली घटनामा दिवंगत सशस्त्रका परिवारलाई १० लाख

सोही अवसरमा गत भदौ २७ गते कैलालीको टिकापुरमा भएको घटनामा परी वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक स्वर्गीय ललितबहादुर साउद र सशस्त्र प्रहरी बरिष्ठ हवल्दार रामविहारी थारुका धर्मपत्नीलाई १०/१० लाख रुपैयाँको चेक महानिरीक्षक वन्तले हस्तान्तरण गरे ।

APF-15th-Day

कर्तव्य पालनको सिलसिलामा विभिन्न घटनामा परी घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव चौधरी, सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुबहादुर डाँगी र सशस्त्र प्रहरी जवान गणेश नेपालीलाई पनि जनही ५० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको छ ।

सरोज केसी वर्ष जवान घोषित

कार्यक्रममा वर्षभरिमा सर्वोत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी हवल्दार सरोज के.सी.लाई ‘वर्ष जवान-२०७२’ घोषित गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक वन्तले केसीलाई पुरस्कृत गर्नुका साथै ‘वर्ष जवान’ को ट्याग प्रदान गरे ।

सशस्त्र प्रहरी बलमा २०७० सालबाट ‘वर्ष जवान’ घोषणा गर्ने परम्पराको थालनी भएको हो । ‘वर्ष जवान’ घोषित सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार नगदका साथै निजको एक जना सन्ततीलाई १२ कक्षा अध्ययन गरुञ्जेलसम्म छात्रबृत्ती प्रदान गर्ने तथा एफपीयु मिसनमा अवसर लगायतका सुविधाहरुको व्यवस्था सशस्त्र प्रहरी बलले गरेको छ ।

APF-15th-Day-Saroj-KC

विभिन्न विद्यामा उत्कृष्ट कार्यगर्ने ३८ जना एपीएफ अधिकृत तथा जवानहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र पनि प्रदान गरिएको छ । साथै गएकोे एसएलसी परिक्षामा उत्तिर्ण हुने बीरगति प्राप्त, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततीहरु मध्ये सर्वोत्कृष्ट अंक ल्याउने ७३ जनालाई छात्रबृत्ति स्वरुप जनही १०/१० हजार रुपैयाँ तथा प्रसंशापत्र प्रदान गरिएको छ ।

यसैगरी वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततीहरुलाई १२ कक्षासम्म अध्ययन गरुञ्जेल बार्षिक २४ हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिने प्रचलन २०७० सालदेखि गरिएकोमा सोही समारोहमा अमर सशस्त्र प्रहरीका सन्ततीहरुलाई छात्रबृत्ति प्रदान गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । समाजका विभिन्न क्षेत्र, तह र तप्कामा रहेर सशस्त्र प्रहरी बलको कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई समेत कदरपत्र प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सर्वोत्कृष्ट गुल्म सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र खड्का तथा सर्वोत्कृष्ट बोर्डर आउट पोष्ट पोखरभिण्डा महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक भोला खत्रीलाई रनिङ अवार्ड प्रदान गरे ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघका लागि संगठनको तर्फबाट सहयोग स्वरुप प्रदान गरिएको १० लाख रुपैयाँको चेक सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक बासुदेव वलीलाई हस्तान्तरण गरेका थिए । उक्त समारोहमा विभिन्न मितिमा ससम्मान सेवा निबृत्त भएका अधिकृतहरुलाई समेत विदाई तथा प्रसंशापत्र प्रदान गरिएको थियो ।

उक्त विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक वन्तले अमर सशस्त्र प्रहरीलगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पुर्‍याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गरे । उनले अमर सशस्त्र प्रहरीको दिवंगत आत्माको चिरशान्तिको कामना तथा विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्वास्थ्यलाभको कामना समेत गरे । वन्त र सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरु लगायत बलका सकल दर्जाका राष्ट्रसेवकहरुले अमर सशस्त्र प्रहरीको स्मृति वाटिकामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृहसचिव सूर्यप्रस्ााद सिलवालले सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा दिएको शुभकामना सन्देश बाचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment