+
+

न्युयोर्कको ‘अफ-ब्रोडवे’ मा पहिलोपटक नेपाली नाटक

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १०:१६

Natak-Newyork1
न्युयोर्क । आउँदो डिसेम्बर १३ तारिखका दिन संसारकै नाट्यकलाको शहर भनेर चिनिने न्युयोर्कस्थित म्यानहृयाटनको ब्रोडवेमा पहिलो पटक नेपालीहरुले नाटक मञ्चन गर्ने भएका छन् ।

त्यहाँ अशेष मल्लले लेखेको ‘जोडियोस् भत्किएका मनहरु’ शीर्षकको नाटक मञ्चन हुन लागेको हो । नेपाली रंगमञ्चका स्थापित नाट्य समुह सर्वनामका निर्देशक हुन् मल्ल । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भूकम्पमा परि भत्किएका मनहरुलाई जोड्ने प्रयास गर्दैछन् ।

अशेष मल्लसंगै जोडिएका छन् रंगमञ्चकै अर्का हस्ती हरिबहादुर थापा । मालती-मङ्गले र अमरसिंह जस्ता प्रशिद्ध नाटकमा जीवन्त अभिनय गरेर छुट्टै पहिचान बनाएका थापाले यस नाटकको निर्माण र निर्देशन गर्दैछन् ।

थापा विगत दुई महिनादेखि न्युयोर्कमै रहेका कलाकारहरुलाई लिएर यो नाटकको प्रशिक्षण दिइरहेका छन् ।
Natak-Newyork
नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दीपिका श्रेष्ठ, सहदेव पौडेल, अनुज थापा, कृष् थापा, ज्योति कुमार श्रेष्ठ, क्रिष्टल थापा, दिलास्मा रजक, यादव गौतम र विकास विष्टको अभिनय रहनेछ ।

“मलाई न्युयोर्कको रंगमञ्चमा नाटक देखाउने ठुलो रहर थियो, त्यो अब पूरा हुने संकेत देखिएको छ,” थापा भन्छन् ।
थापा नाटकको विषयवस्तुबारे भन्छन्, “नेपालमा आएको विनाशकारी भूकम्प र यसबाट प्रभावित मानवीय समबेदना, घटना र प्रतिक्रिया नै नाटकको सार हो ।”

‘विश्व रंगमंचको राजधानी मानिने न्युयोर्क, जहाँ दिनहुँ अनेक शैलीका नाटकहरु प्रर्दशन भैरहन्छन् । हामीले पनि त्यही व्यस्त ब्रोडवेमा नेपाली भाषाको नाटक पहिलो पटक मन्चन गर्न पाउदा अत्यन्तै हर्ष लागेको छ,’ थापा भन्छन् ।

ब्रोडवे थियटर न्युयोर्कको सबभन्दा ठूलो नाटक मञ्चन हुने ठाउँ हो । ४० वटा व्यवसायिक रंगमञ्च रहेको ब्रोडवेमा सीट क्षमता ५०० देखि लगभग २००० सम्म हुन्छ ।
Jodiyos-Bhatkeka-man
त्यस्तै अफ ब्रोडवे थियटर यो दोस्रो ठूलो नाटक मञ्चन हुने ठाउँ हो जहां सीट क्षमता १०० देखि ४९९ सम्मका हुन्छन् । नेपाली नाटक “जोडियोस् भत्किएका मनहरु” यहीँ देखाइँदैछ । अर्को अफ-अफ ब्रोडवे थियटर पनि छ । तर, त्यो सबभन्दा सानो नाटक मञ्चन हुने ठाउँ हो ।

त्यहाँको सीट क्षमता १०० भन्दा कम छ । नृत्य निर्देशक राजकपुर भन्छन्- “यसभन्दा अघि यसरी न्युयोर्क शहरकोे ब्रोडवे रंगमञ्चमा नेपाली नाटक देखाइएको इतिहास छैन । यसले नेपाली नाटकलाई विश्व रंगमञ्चको सामु ल्याएको छ ।”

“हरि दाइ र अशेष दाइको यो साहस देखेर म त नतमस्तक छु, यो नेपाली नाटकका लागि “ब्रोडवे शो” होभन्दा फरक पर्दैन,” राज कपुरले थपे ।
करिब एकघण्टा लामो नाटक अवलोकन गर्न सबै नेपालीलाई आहृवन गर्दै निर्देशक थापा भन्छन् -” यो कुनै काल्पनिक र मनोरञ्जनात्मक भ्रम होइन, यो एउटा मार्मिक यथार्थ हो । यस यथार्थलाई विश्वभरका शुभ चिन्तकका माझ प्रस्तुत गरिरहेका छौं । यो केवल नाटक मात्र होइन, यो त स्वयं एउटा जीवन हो ।”

न्युयोर्क शहरको म्यानहृयाटनमा रहेका ७७७ थिएटरमा डिसेम्बर १३ तारिखका दिन ३ बजे र ७ बजे दुई शो हुँदैछ । १५८ सीट क्षमता रहेको उक्त थियटरमा नाटक अवलोकन गर्नका लागि २५, ५० र १०० डलरका टिकटहरु राखिएका छन् ।
-अनुज थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?