Comments Add Comment

मोर्चाको बन्द झन् कडा, रौतहटमा मोटरसाइकलसमेत चलाउन रोक

Studentsगौतम श्रेष्ठ
४ मंसिर, रौतहट । छठ पर्व सम्पन्न भएलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रौतहटमा आन्दोलन झन् कडा पारेको छ । विहीबार विद्यालय सञ्चालन गर्न दिने भनेर विज्ञप्ति निकालिए पनि विद्यालय सञ्चालनको सहज वातावरण बनेको छैन ।

बन्दको अवज्ञा गरेको भन्दै रौतहटका विभिन्न स्थानमा ५ वटा मोटरसाइकल तोडफोडसमेत भएका छन् ।

मोटरसाइकल समेत चलाउन रोक

बिहीबार बसेको मोर्चाको बैठकले शुक्रवारबाट मोटरसाइकल सञ्चालनमासमेत रोक लगाउने निर्णय गरेको छ । मोटरसाइकलबाट इन्धन तस्करी बढेको भन्दै सञ्चालनमा रोक लगाइएको मोर्चाको एक नेता शेष जमशेदले बताए ।

‘मोटरसाइकलबाट डिजेल-पेट्रोल बोकेर इन्धन तस्करी बढेकाले मोटरसाइकललाई समेत रोकेका हौं,’ सदभावनाका जिल्ला अध्यक्ष समेत रहेका शेष जमशेदले भने, ‘चाडबाडलाई मध्यनजर गदर्ैै केही दिन हामीले आन्दोलन खुकुलो पारेका थियौं । मोर्चाले आन्दोलन अब सशक्त बनाउँछ ।’

९७ दिनदेखि बन्द रहेका जिल्लाका बजार र उद्योगहरु चाडबाड पछि पनि सञ्चालन नहुँदा उद्योगी व्यापारी मारमा परेका छन् । झण्डै दुई महिना लामो नाकाबन्दीका कारण बजारमा खाद्यसामग्री सँगै अत्यावश्यक औषधि समेत अभाव भएको छ ।

शुक्रवारबाट मोर्चाले मोटरसाइकलमा समेत रोक लगाएपछि छठ मान्न घर आएकाहरु आ-आफ्नो कार्यस्थल र्फकन सकेका छैनन् । गौरबाट यात्रुबाहक बस नचल्ने हुँदा मोटरसाइकलमा चन्द्रनिगाहपुरसम्म गएर गन्तव्यसम्म जाने गरेका यात्रुहरुको झन् बिचल्ली भएको छ ।

विद्यालय सञ्चालनमा समस्या

मोर्चाको केन्द्रीय निर्णय अनुसार आजबाट विद्यालय खोल्ने भनिए पनि सदरमुकाम गौरमा केही निजी विद्यालय मात्र आज सञ्चालनमा आएका छन् । मोर्चाको निर्णय हिजो साँझ आएकाले सबै विद्यार्थीलाई खबर गर्न नसकेपछि आइतवारबाट मात्रै सबै विद्यालय सञ्चालन हुने बताइएको छ ।

मोर्चाले विहीबार विज्ञप्ति निकालेर विहानको समयमा मात्रै विद्यालय खोल्न दिने बताएको थियो । तर, बिहान ११ बजेसम्म मात्रै विद्यालय सञ्चालन गर्न समय तोकिएकाले चिसो मौसममा समस्या भएको सञ्चालकहरुले बताएका छन् ।

बिहान बाक्लो हुस्सु लाग्ने भएकाले टाढा गाउँका विद्यार्थीहरु विद्यालय पुग्न समस्या भएको नीजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका रौतहट जिल्ला अध्यक्ष शंकर साहले बताए । ‘जाडो मौसममा विहान अँध्यारो हुने र लोडसेडिङले गर्दा कक्षा सञ्चालनमा पनि समस्या छ,’ अध्यक्ष साहले भने, ‘तीन महिनादेखि बन्द विद्यालय नखोली पनि भा’छैन, मौसमले गर्दा बिहान सञ्चालन गर्न पनि कठिनाई छ ।’

जाडो मौसममा तराई मधेसमा महिनौं सम्म शितलहर चल्ने गर्दछ । मधेस बन्दका कारण यस वर्षको शैक्षिक क्यालेण्डर नै प्रभावित भएको छ ।

२२० दिनमा न्यूनतम १९२ दिन विद्यालय सञ्चालन हुनुपर्ने शिक्षा नियमावलीमा रहे पनि मधेसका निजी र सामुदायीक सबै विद्यालयहरु झण्डै एक सय दिनदेखि बन्द छन् । दिउँसोको समयमा मोर्चाको विभिन्न कार्यक्रमहरु हुने भएकाले बिहान मात्रै विद्यालय सञ्चालन गर्न दिइएको मोर्चाका रौतहट संयोजक रामनिवास यादवले बताए ।

सरकारी कार्यालय तीन महिनादेखि बन्द

मधेस आन्दोलन शुरु भएयता सदरमुकाम गौरका एक दर्जन भन्दा बढी सरकारी कार्यालयहरु बन्द छन् । झण्डै चौध वटा कार्यालयमा कार्यालय प्रमुख नै छैनन् ।

जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, मालपोत, भूमिसुधार, नापी, घरेलु तथा साना उद्योग, सहकारी डिभिजन, भन्सार, कृषि कार्यालय, सिचाई लगायतका कार्यालय प्रमुखविहीन भएका छन् भने कर्मचारी समेत कार्यालय पुगेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भए पनि सेवाग्राही आएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment