+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राजेश हमाल भन्छन्-भारतले मित्रतामा दाग लगायो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १८:१२

विजय आवाज

२ पुस, काठमाडौं । चर्चित नायक राजेश हमालले नाकाबन्दीका नाममा भारतले मित्रतामा लगाएको कलंक हटाउन कम्तिमा एक पुस्ता अर्थात् ६० वर्षसम्म लाग्ने बताएका छन् ।

भारतीय नाकाबन्दीबारे अनलाइनखबरसँग कुराकानी गर्दै हमालले भने- ‘आजको अवस्थामा भारत कसरी हात बाँधेर बस्न सक्छ ? यसले मित्रतामा ठूलो कलंक र दाग लगाएको छ । मलाई लाग्छ, यो मेटाउन एक पुस्ता भन्दा बढी लाग्छ । अहिले जन्मेको बच्चा ६० बर्ष हुँदा पनि यो बिर्सन सक्दैन ।’

भारतको व्यवहारजस्तै नेपाली नेताहरुको व्यवहारबाट पनि नायक हमाल दिक्क बनेका छन् । नयाँ नेपाल भन्नेहरु पनि पुरानै पाराका देखिएको भन्दै हमालले नेपालका नेताहरु कहिल्यै नसुधि्रएको देख्दा दुःख लागेको बताए ।

भारतीय नाकाबन्दी र नेपालका नेताहरुको व्यवहारबारे हमालसँग अनलाइनखबरले गरेको कुराकानी उनकै शब्दमा:

rajesh hamal_650

यो (नाकाबन्दी) हाम्रा लागि असाध्यै दुखद घडी हो । हाम्रो मित्रराष्ट्र जुन छ दक्षिणको, उसले यस्तो स्थिति हुँदा हात बाँधेर बसेको छ ।

उहाँहरुको नाकाबन्दी हो या होइन, म ठोसरुपमा भन्न सक्दिँन । तर, एक हिसाबले भन्दा सुतिरहेको मान्छेलाई उठाउन सकिन्छ, नाटक गर्नेलाई उठाउन सकिँदैन ।

नाकाबन्दी गरेको पनि छैन भन्नुहुन्छ, हामी जुन नाकाबन्दीको असर हुन्छ, त्योभन्दा डबलरुपमा असर भोगिरहेका छौं । त्यतातिर खोतल्नुभन्दा पनि, उहाँहरु भन्नुहुन्छ कि हाम्रो विशेष सम्बन्ध छ भन्नुहुन्छ । हामीमा दाजुभाइको सम्बन्ध छ भन्नुहुन्छ । अरु राष्ट्र भन्दा हामी दुई राष्ट्रको विशेष सम्बन्ध छ भन्नुहुन्छ । अस्ति उहाँको प्रधानमन्त्री आएर नेपालको संसदमा भाषण गर्दा पनि नेपालीलाई यदि दुख्छ भने भारत कसरी चुप लागेर बस्छ भन्ने उहाँको कोटेशन नै थियो । नेपालमा दुःख पर्छ भने भारत कसरी चैन ले सुत्छ भन्नु पनि भएको छ । तर, त्यस्तो विशेष सम्बन्ध भएको त्यस्तो वाक्य बोलेको मान्छेले त, यदि समस्या हो भने उडाएर हुन्छ कि, गुडाएर हुन्छ कि, सुरुङ खनेर हुन्छ कि कसरी मित्रलाई सहयोग गर्ने हो भन्ने सोच्नु पर्दथ्यो ।

किनकि यो त मानवीय हिसाबले नै मान्छेहरुलाई असर परेको छ । राजनीतिक आफ्नो ठाउँमा छ, राजनीतिक चाल आफ्नो तरिकाले चल्नुपर्छ । यो राजनीतिक मुद्दा राजनीतिक तवरले नै हल होस् भन्ने म चाहन्छु । विशेष समस्या भएको समयमा, आफ्ना विशेष सम्बन्ध भएका नागरिकहरु यसरी तड्पिरहेको समयमा उहाँहरुलाई कसरी निद्रा लागेको छ ?

नेपाललाई (इन्धन) पुर्‍याउँ, उहाँहरुसँग हाम्रो आत्मिय सम्बन्ध छ भनेर सोच्नुपर्दथ्यो । मित्र भनेको आवश्यकता परेको समयमा पो हो त । उसले मित्रताको सम्बन्ध देखाउने हो । सामान्य अवस्थामा त मित्रताको आवश्यकता किन पर्छ र ? यस्तो अवस्थामात्र मित्रता कस्तो हो भन्ने थाहा लाग्छ ।

भिडियो हेर्नुहोस्

आजको अवस्थामा भारत कसरी हात बाँधेर बस्न सक्छ ? यसले मित्रतामा ठूलो कलंक र दाग लगाएको छ । मलाई लाग्छ यो मेटाउन एक पुस्ता भन्दा बढी लाग्छ । अहिले जन्मेको बच्चा ६० बर्ष हुँदा पनि यो बिर्सन सक्दैन । अब नाकाबन्दी छ या छैन मलाई थाहा भएन । तर, यस्तो अवस्थामा मित्र हात बाँधेर बस्न मिल्दैन ।

नेताहरु कहिल्यै नसुध्रिएको देख्दा दुःख लाग्छ

नेपालको राजनीतिको परम्परा एकतर्फी मात्र ढल्कने भयो । यदि, हामीले एउटा मात्र आधार समात्यौं भने त्यो आधार ढल्ने वित्तिकै आफू पनि ढलिन्छ । एकतर्फी मात्र नढल्की अन्य कुनै आधार पनि समात्नुभएको छ भने एकातिर ढल्यो भने पनि अर्कोतिरकोले थाम्छ ।

नेपाली परम्परागत राजनीतिक एकातर्फी मात्र ढल्कने बानी भयो । यो इतिहासबाट नै भएको हो । नयाँ नेपालवालहरु आएर त्यो परम्परा ढाल्न सक्नुपर्दथ्यो । तर, उनीहरु पनि त्यही परम्पराको पछि लागे ।

जंगबहादुरको परम्पराबाट आएको कुरा नै नयाँ नेपालवालाहरुले पछ्याउनुभयो, परम्परा ढाल्न सक्नुभएन । छिमेकी राष्ट्रले त चाहन्छ कि कुनै पनि देश मेरो मात्र भर परोस् । उसले आफूमा मात्र भर पर्दा समय समयमा दुःख दिनका लागि यस्तो नाकाबन्दी गर्न सक्छ ।

एउटा राजनीतिले मात्र यो परम्परा ढल्छ भन्ने मलाई लाग्दैन । यसका लागि समय लाग्छ । तर, यसबाट नेताहरुले पाठ सिक्नुपर्छ । र अन्य आधार पनि खोज्न थाल्नुपर्छ । नेपालको राजनीति सुध्रिएको भए यो अवस्था पनि सुखद हुने थियो । तर, नेताहरु कहिल्यै नसुधि्रएको देख्दा दुःख लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?