
३ माघ, बिराटनगर । खाना पकाउने ग्यासको आपुर्ति बढेपनि बिराटनगर क्षेत्रमा ग्यासको अभाव अझै कम भएको छैन ।
अहिलेपनि आधा सिलिण्डर ग्यासका लागि हप्तौं लाइनमा बस्नुपर्ने अवस्था कायमै छ ।
ग्यास उद्योगीले आपुर्ति अघिल्ला महिनाको तुलनामा बढेकाले बजारमा धेरै ग्यास पठाइएको दावी गरेका छन् ।
तर, स्थानीय सन्तोष चौधरीले कोशी कम्पनीको एक सिलिण्डर ग्यासका लागि एकसाता पर्खँदा पनि नपाएको गुनासो गरे ।
उनी जस्तै धेरै उपभोक्ता हप्तौंदेखि ग्यासको लाइनमा छन् । मारुती ग्यास उद्योगका संचालक सुर्दशन प्रधान भने बजारमा माग अनुरुप ग्यास पठाएको दावी गर्छन ।
‘उपभोक्ताले सहज रुपमा पाउनु पर्ने हो । बजारमा ग्यासको अभाव उस्तै छ’ उनी भन्छन्-‘धेरै ग्यासका सिलिण्डर कालोबजारीका लागि राजधानी पुर्याइने गरेकाले वजारमा अभाव भएको हो ।’
ग्यास आयात बढ्दै
नेपाल आयल निगमको क्षेत्रीय कार्यालय बिराटनगरले अघिल्ला महिनाको भन्दा पुसमा राम्रो अनुपातमा आयात भएको बताएको छ ।
जोगबनी नाकाबाट साउनदेखि पुस मसान्तसम्म १४ हजार ९ सय ६५ मेट्रिकटन ग्यास आयात भएको छ । अघिल्लो वर्षको यही अवधिमा १७ हजार ३ सय ५३ मेटि्रकटन ग्यास आयात भएको आयल निगमले जनाएको छ ।
ग्यासको आयातमा तुलनात्मक रुपमा खासै कम भएको नदेखिएपनि बजारमा भने ग्यासको अभाव असामान्य छ ।
साउनमा जोगबनीबाट २ हजार ८ सय १४ मेट्रिकटन ग्यास आएकोमा भदौ महिनामा २ हजार ९ सय ५० मेट्रिकटन भित्रिएको छ ।
असोजमा १ हजार ८ सय १४, कार्तिकमा १ हजार ९ सय ४२, मंसिरमा २ हजार ३ सय ६० र पुस महिनामा ३ हजार २५ मेट्रिकटन ग्यास आयात भएको आयल निगमले जानकारी दिएको छ । आयल निगमले मोरङ, सुनसरी र झापाका आठवटा ग्यास उद्योगलाई ग्यास दिएको छ ।
कोशी ग्यासलाई धेरै
निगमले ६ महिनाको अवधिमा मोरङको कोशी उद्योगलाई सबैभन्दा बढी ३ हजार ९५ मेट्रिकटन ग्यास दिएको छ भने सुनसरीको प्रिमा ग्यास उद्योगलाई १ हजार ८ सय र सुनसरीकै मारुती ग्यास उद्योगलाई १ हजार ६ सय ४ मेट्रिकटन दिएको छ ।
झापाको मेची ग्यासले १ हजार ५ सय ६२ मेट्रिकटन , पराजुली ग्यास उद्योगलाई १ हजार २ सय, रिजाल ग्यासले ९ सय ३, कन्काई ग्यासले १ हजार ४० र सुगम ग्यासले ८ सय ४९ मेट्रिकटन लगेको छ ।
आयल निगम क्षेत्रिय कार्यालयका प्रमुख भुवन रेग्मीले ग्यासको आयात वढेकाले ग्यास वितरण सहज हुने बताए ।
प्रतिक्रिया 4