१९ फागुन, काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ती पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँले घटेको छ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीले यस्तो देखिएको हो ।
चौधरी समूहका अध्यक्ष चौधरीको कुल सम्पत्ती सन् २०१६ मार्च महिनामा १.१ बिलियन अमेरिकी डलर अर्थात एक खर्ब दश अर्ब रुपैयाँ रहेको छ । जबकी सन् २०१५ मा उनको सम्पत्ति १.३ बिलियन डलर अर्थात एक खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो । त्यतिबेला उनको सम्पत्ती २० अर्ब रुपैयाँले बढेको फोब्र्सले जनाएको थियो ।
फोब्र्सको अर्बपतिहरुको सूचीमा चौधरी १५७७ स्थानमा रहेका छन् । सम्पत्ती घटेसँगै उनको स्थान समेत तल झरेको छ । फोब्र्सको सन् २०१५ को सूचीमा उनी १४१५ स्थानमा रहेका थिए ।
फोब्र्सको सूचीमा अमेरिकाका बिल गेट्स एक नम्बरमा रहेका छन् । उनको सम्पत्ती ७५ अर्ब डलर रहेको छ । दोस्रो नम्बरमा ६७ अर्ब डलर सम्पत्ती सहित स्पेनका अमानकिओ ओर्टेगा रहेका छन् । तेस्रो नम्बरमा रहेका वारेन बफेटको सम्पत्ती ६०.८ अर्ब डलर रहेको छ । फेसबुकका संस्थापक मार्क जुगकरबर्ग ४४.६ अर्ब डलरसहित छैठौं नम्बरमा रहेका छन् ।
नेपालका अर्बपति चौधरीको नबिल बैंक, चाउचाउ, इलेक्ट्रोनिक्स, बियर, सिमेन्ट लगायतमा लगानी रहेको छ । उनले सर्बिया, साउदी अरेविया र बंगलादेशमा चाउचाउ लगायतको खाद्य उद्योग विस्तार गरिरहेको फोब्र्सले उल्लेख गरेको छ ।
चौधरी समूहले भारतको राजस्थानमा फुड पार्क बनाइरहेको छ । यो समूहको होटल, रियल स्टेट लगायतमा पनि ठूलो लगानी गरेको छ ।
समूहले वैशाख १२ गते गएको भूकम्पले ध्वस्त भएका घर र स्कुल निर्माणका लागि २५ करोड रुपैयाँ खर्च गरेको फोब्र्समा उल्लेख छ ।
प्रतिक्रिया 4