Comments Add Comment

सरकारको चिनी गोदाम रित्तै, अभाव भन्दै उद्योगले मूल्य बढाए

sugar-chini
रवीन्द्र घिमिरे

२६ चैत, काठमाडौं । यो वर्ष नेपाली बजारमा चिनीको अभाव हुने देखिएको छ । अहिले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनी मौज्दात सकिएको छ ।

यसैकारण बजार अनियन्त्रित हुँदा उद्योगहरुले पछिल्लो दुई सातामै चिनीको मूल्य किलोकै ७ रुपैयाँसम्म बढाएका छन् ।

यो वर्ष नेपालमै हुने उत्पादनले वाषिर्क माग नधान्ने निश्कर्षमा सरोकारवाला निकायहरु पुगिसकेका छन् । सरकारसँग पनि चिनी नभएको र उत्पादन पनि घटेको मौका चिनी महंगो बनाइएको छ ।

बितेको क्रसिङ सिजनमा उखुको उत्पादन घटेका कारण मागअनुसार चिनी पनि उत्पादन नहुने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपालमा उत्पादन घट्यो
उद्योग मन्त्रालयले बितेको सिजनमा १ लाख ६७ हजार मेट्रिक टन मात्रै चिनी उत्पादन भएको प्रारम्भिक अनुमान गरेको छ ।

नेपालमा वाषिर्क रुपमा २ लाख ५५ हजार मेट्रिक टन चिनी खपत हुन्छ । त्यसैले नेपालको उत्पादन मात्रैको भर पर्दा बजारमा चिनी अभाव हुनसक्ने देखिएको हो । पर्याप्त उखु नहुँदा मुख्य क्रसिङ सिजमा २ महिना मात्रै उद्योग चलेको जानकारी उद्योगीले सरकारलाई गराएका छन् ।

उद्योगहरुले बेलैमा किसानलाई खरिद गरेको उखुको मूल्य नदिँदा यो वर्ष उखुको उत्पादन घटेको हो । यसका कारण अधिकांश चिनी मिलले क्षमताअनुसार पर्याप्त उखु पाएका छैनन् ।  केही उद्योग चिनी उत्पादन गर्ने सिजनमै बन्द रहे ।

सरकारी गोदाम रित्तो
सरकारी तवरबाट भण्डारण गरिने चिनीको मौज्दात चिनी मौज्दात सकिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

यसबारे आपूर्ति र अर्थ मन्त्रालयलाई जानकारी गराइसकिएको उनले बताए । ‘हामीसँग चिनीको मौज्दात सकिएपछि थप अन्यौल भएको छ । चिनी किन्ने प्रस्ताव निकै पहिले सरकारलाई बुझाएका हौं’ राजभण्डारीले भने-‘हामीसँग चिनी सकिने बित्तिकै बजारमा मूल्य बढिसकेको सुनिएको छ ।’

साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडले चिनी किन्न गरेको प्रस्ताव डेढ वर्षदेखि अर्थ मन्त्रालयमा थन्किएको छ । अत्यावश्यक अवस्थामा प्रयोग गर्न र मूल्य नियन्त्रणका लागि साल्ट ट्रेडिङले २० हजार मेट्रिक टन चिनी किन्न वाणिज्य मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

भारतबाट नल्याए अभाव, ल्याए घाटा
साल्ट ट्रेडिङको प्रस्ताव गर्दा भारतीय बजारमा प्रतिकिलो २४ भारतीय रुपैयाँ रहेको चिनी अहिले ३३ रुपैयाँमा पुगिसकेको छ ।

सकारले बेलैमा चिनी आयात गर्ने निर्णय नगर्दा अब महंगो मूल्य तिर्नेपर्ने भएको छ भने बजारमा चिनीको कृत्रिम कालोबजारी सुरु भइसकेको छ ।

अब नेपालको उत्पादन कम हुने भएपछि माग धान्न झण्डै ५८ हजार मेट्रिक टन चिनी आयात गर्नैपर्ने देखिएको छ । समान्य अभाव हुनासाथ चिनीको मूल्य कालोजारी गरेर बढाई हाल्ने प्रवृत्ति रोक्न पनि सरकारी गोदाममा चिनी भण्डारण गर्नैपर्ने बाध्यता छ ।

साल्ट ट्रेडिङले मौज्दात सकिएर थोक बिक्री बन्द गर्नासाथ बजारमा चिनीको मूल्य किलोमा ७ रुपैयाँसम्म बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment