२ वैशाख, काठमाडौं । बहुचर्चित ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अझै एकवर्ष सर्वसाधारणका लागि सेयर निष्काशन नगर्ने भएको छ ।
भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणको कार्य डेढ वर्षपछि धकेलिएपछि आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने मिति पनि पछि धकेलेको हो ।
भूकम्पले दोलखा र त्यस आसपासका जनता संकटमा परेको बेला सेयर निष्काशन गर्नुको औचित्य नभएको ठहर गर्दै ०७४ मा मात्रै निष्काशन गर्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।
‘भूकम्पको पीडाले दोलखाबासीहरु छटपटाइरहेका बेला हामीले सेयर निष्काशन गर्नु भनेको पीडामाथि पीडा दिनु हो,’ न्यौपानेले भने- ‘त्यसैले अायोजनाले ०७४ मा मात्रै सवर्साधारणका लागि सेयर निष्काशन गर्नेछ ।’
आयोजनाले ०७२ भदौसम्ममा सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीका साथ ०७१ फागुनमा कर्मचारी र स्थानीयका लागि सेयर आवेदन खुल्ला गरेको थियो । स्थानीयलाई दिने सेयरका विषयमा विवाद उत्पन्न भएपछि सेयर निष्काशनको प्रक्रिया अवरुद्ध भएको थियो ।
भूकम्पले लागत बढायो
०७२ बैशाख १२ गते भूकम्प आएपछि सेयर निष्काशन र आयोजना निर्माणको काम दुबै अवरुद्ध भएको थियो । आयोजना एक वर्ष लम्बिँदा आयोजनाको लागत पनि ५/६ अर्ब रुपैयाँ बढेको अनुमान गरिएको छ । आर्थिक वर्ष २०६७/०६८ मा ४१ अर्ब ७२ करोड रुपैयाँ लाग्ने अनुमानसहित आयोजनाको निर्माण थालिएको थियो । यो आयोजनामा पूर्णरुपमा स्वदेशी लगानीकर्ताको लगानी छ ।
भूकम्पपछि आयोजना अवरुद्ध
न्यौपानेका अनुसार भूकम्प आउनुअघि आयोजना निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको थियो । यो एक वर्षको अवधिमा निर्माण कार्य लगभग ठप्पजस्तै भएको उनले जानकारी दिए । ‘अहिलेको चैत मसान्तसम्ममा आयोजना निर्माणको काम ७७ प्रतिशतमात्रै सकिएको छ,’ उनले भने- ‘आयोजनाले आगामी आर्थिक वर्ष विद्यतु उत्पादन गर्ने विश्वास गरिएको छ ।’
प्रतिक्रिया 4