Comments Add Comment

बर्मादेखि श्रीलंकासम्मः जहाँ वैशाखमा नयाँ वर्ष मनाइन्छ

सिराहाको सलहेस फूल र वैशाख १ को महिमा

वैशाख १ लाई नयाँ वर्षका रुपमा राज्यले औपचारिक मान्यता दिएको देश सम्भवतः विश्वमै नेपाल मात्र हो । तर, नेपालबाहेक पनि अन्य विभिन्न देशको संस्कृतिमा वैशाख १ र आसपासलाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन रही आएको छ ।

Hari-man-lamaयदि हामीले उचित नीति र योजना बनाएर अघि बढ्ने हो भने वैशाख १ लाई नयाँ वर्षको रुपमा मनाउने विश्वका अन्य संस्कृतिको केन्द्र नेपाललाई बनाउन सक्छौं ।

विशेषगरी पूर्वीय सभ्यता बोकेका थुप्रै देशहरु विविध संस्कृतिमा वैशाख १ र आसपासलाई नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ ।

छिमेकी मुलुक भारतका विभिन्न राज्यहरु, बंगलादेश, श्रीलंका, बर्मा, थाइल्याण्ड, लाओस जस्ता देशहरुमा वैशाख १ र आसपासको दिनलाई नयाँ वर्ष आरम्भ भएको मानेर भव्य रुपमा मनाउने प्रचलन रहेको पाइन्छ ।

जस्तै भारतको तमिलनाडुमा तमिलहरु वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउँछन् । यसलाई उनीहरु पुथान्दु भन्छन् । यस दिन उनीहरु घर तथा आँगनलाई सजाउँछन् । आफन्तजनसँग भेटघाट र रमाइलो गर्छन्, शुभकामना आदान-प्रदान हुन्छ ।

मलेसिया, सिंगापुर आदि जस्ता देशहरुमा छरिएर रहेका तमिलहरुले पनि यस दिनलाई एउटा महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा मनाउने गरेको पाइन्छ ।

त्यस्तै भारतकै पञ्जाबका पञ्जाबी तथा शिखहरु जो अमेरिका, क्यानडा लगायत थुप्रै देशहरुमा छरिएका छन्, उनीहरुले अपि्रल १४ को दिनलाई नयाँ वर्ष मानेर ‘वैशाखी पर्व’ मनाउँछन् ।

भारतको नेपालसँग जोडिएका मिथिला संस्कृति मनाइने क्षेत्रमा पनि वैशाख १ को दिन मैथली नयाँ वर्ष मनाइन्छ । भारतकै असाममा पनि यही दिन नयाँ वर्ष मनाइन्छ । उनीहरु यसलाई ‘रंगोली विहु’ वा ‘बोहाग बिहु’ भन्छन् ।

भारतकै दक्षिण पूर्वी राज्य उडिसामा अप्रिल १४ लाई नयाँ वर्ष आरम्भ भएको दिनका रुपमा मनाउँछन् । त्यस्तै भारतको दक्षिणी राज्य केरलामा यही दिन मलायाली नया वर्ष मनाइन्छ । उनीहरु यसलाई ‘विशु पर्व’ पनि भन्छन् ।

भारतकै कनार्टक राज्यको पश्चिम भेगमा तुलु भाषा बोल्ने जातिहरु यसै दिन नयाँ वर्ष मनाउने गर्छन् । त्यस्तै भारतको मणिपुरको नयाँ वर्ष पनि अप्रिल १४ अर्थात वैशाख १ को आसपास पर्छ । उनीहरु यसलाई ‘चेरोउवा’ भन्छन् ।

दक्षिण एशियाली मुलुक बंगलादेश र भारतको पश्चिम बंगालमा पनि वैशाख १ लाई पर्वका रुपमा धुमधामसग मनाइन्छ । उनीहरु यसलाई ‘पोहेला वैशाख’ भन्छन् ।

श्रीलंकामा सिंहालीहरु पनि वैशाख १ मै नयाँ वर्ष मनाउँछन् । यस दिन उनीहरु परिवारका सदस्यसहित जम्मा हुने, प्रार्थना गर्ने तथा सगै बसेर खाने गर्छन् । सिंहालीहरु नया वर्षलाई ‘अथुल अभुरुद्ध’ भन्छन् ।

ऐतिहासिक पृष्ठभूमि जे जस्तो भएपनि वैशाख १ मा नयाँ वर्ष मनाउने प्रचलनले नेपाललाई विश्व मानचित्रमा अलग पहिचान दिएको छ, यो नेपालको अलग सांस्कृतिक विशेषता बनेको छ

बर्मामा यही समयमा मनाइने नयाँ वर्षलाई ‘थिंगयान’ भनिन्छ । उनीहरु यसलाई आफन्त भेटघाट गरेर, पानीसँग खेलेर तीन दिनसम्म मनाउँछन् । यस दिन शान्ति र समृद्धिका लागि वुद्ध मन्दिरमा पूजा गर्ने चलन उनीहरुको छ । थाइल्याण्डमा यही समयमा मनाइने नयाँ वर्षलाई ‘सोङक्रान’ भनिन्छ । यस दिन मानिसहरु आफ्नो पुख्र्यौली घर फर्केर आफूभन्दा पाकासँग भेटघाट गर्छन् ।

थाइल्याण्डमा पनि तीन दिनसम्म नयाँ वर्ष मनाइन्छ । लाओसमा अपि्रल महिनामै मनाइने नया वर्षलाई ‘पी माई लाओ’ भनिन्छ । लाओसमा हरेक वर्ष अप्रिल १४ देखि १६ सम्म तीन दिनसम्म नाचगान, भेटघाट गरेर नया वर्ष मनाइन्छ ।

कम्बोडियामा पनि थाइल्याण्ड र लाओसजस्तै यही समयमा तीनदिनसम्म नया वर्ष मनाइन्छ । ‘चाउल नाम थेमे’ भनिने नया वर्षको अवसरमा कम्बोडियालीहरु पुलाउजस्तो परिकार बनाएर खान्छन् । साथै उनीहरु परम्परागत खेलहरु खेल्छन् ।

चीनको युनान प्रान्तका केही जनजातिहरुले पनि यही समयमा नयाँ वर्ष मनाउँछन् । नया वर्षको अवसरमा यस जातिको विशेष मयूर नृत्यसहितका कार्यक्रम आयोजना गरिन्छन् ।

उल्लेखित संस्कृति बोकेका मानिसहरु आज विश्वका विभिन्न कुनाहरुमा पुगेका छन् । जहाँ पुगे पनि उनीहरुले आफ्नो संस्कृतिलाई अगाल्दै आएकाले पनि संसारभरि करोडौं जनसंख्याले कुनै न कुनै रुपमा वैशाख १ र आसपासको दिनलाई नयाँ वर्षको रुपमा मनाइरहेकै छन् ।

तर, नेपाल मात्र एउटा यस्तो देश हो जसले सांस्कृतिक रुपमा मात्र नभएर आफ्नो औपचारिक प्रशासनिक क्यालेण्डर नै वैशाख १ बाट सुरु गर्दै आएको छ । यसले नेपालको विशिष्ट पहिचान बनेको छ । तर, यसबारेको प्रचार प्रसार भने न्युन मात्रामा भइरहेको छ ।

यदि नेपालले नयाँ वर्षको सास्कृतिक पहिचानलाई वैशाख एकलाई पर्वको रुपमा मनाउने अन्य मुलुकका संस्कृतिहरुमा पनि योजनावद्ध तवरले विस्तार गर्ने हो भने ती स्थानहरुमा नेपालप्रतिको आकर्षण बढ्न सक्छ र नेपाल वैशाख एकलाई नया वर्षको पर्व मान्ने सास्कृतिक केन्द्र बन्न सक्छ । यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय टेवा पुग्नेछ ।

पर्यटक आकर्षणका आधार 

हरेक वर्ष बैशाख १ गते सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा सलहेस नामक फूल फुल्ने गर्छ

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मभूमि हो । गौतम बुद्धको जन्म वैशाख पूणिर्मामा भएको थियो । यसले गर्दा वैशाख महिनाको महत्व अझ बढी छ । र, अर्कोतर्फ वैशाख १ को आसपासमा नयाँ वर्ष मनाउने अन्य देशहरुमा बुद्ध धर्मको आकर्षण रहेको पाइन्छ ।

जस्तो श्रीलंका, थाइल्याण्ड, म्यानमार जस्ता मुलुकहरुमा बुद्धमार्गीहरुको संख्या ठूलो छ । यदि वैशाख महिनासँगै सुरु हुने नयाँ वर्ष र सोही महिनामा पर्ने बुद्ध जयन्तीलाई समन्वय गरेर ती मुलुकहरुमा प्रचार-प्रसार गर्ने हो भने नेपालमा वर्षेनी यो समयमा लाखौ पर्यटक भित्र्याउन गाह्रो हुँदैन ।

यसका साथै नेपालमा नयाँ वर्ष वैशाख १ लाई महत्व दिने विविध सांस्कृतिक जात्रा तथा पर्वहरु पनि छन् । जस्तो भक्तपुरको विस्केटजात्रा, जिब्रो छेड्ने जात्रालाई हामी लिन सक्छौं ।

नयाँ वर्षको आसपासमा मनाइने यी जात्राहरुको बारेमा वैशाख १ र आसपासको दिनलाई नयाँ वर्षको रुपमा मनाउने संस्कृति भएकाहरु माझ प्रचार प्रसार गर्न सकेमा नेपालमा पर्यटकहरुको संख्यामा अवश्य पनि बृद्धि हुने छ ।

यति मात्रै होइन, नेपाली नयाँ वर्षको विशेषतालाई उजागर गर्ने अन्य थुप्रै सांस्कृतिक, धार्मिक एवं प्राकृतिक पर्व, स्थान तथा वस्तुहरु नेपालमा छन् ।

बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिँदै भोलिपल्ट झर्ने गर्छ

जस्तो हरेक वर्ष बैशाख १ गते सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा सलहेस नामक फूल फुल्ने गर्छ । यो यस्तो फूल हो, जसमा अघिल्लो दिन कोपिला लाग्ने र बिस्तारै आकार दिँदै नयाँ वर्षको बिहानी वैशाख १ गते मालाको आकारमा प्रकट हुन्छ ।

बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिँदै भोलिपल्ट झर्ने गर्छ । नेपालमा मात्रै पाइने यो दुर्लभ फुलको बारेमा यदि प्रचार प्रसार हुने हो भने त्यसलाई हेर्न पनि पर्यटकहरु नेपाल आउन सक्छन् ।

ऐतिहासिक पक्ष 

नेपाल एउटा यस्तो मुलुक हो जहाँ विक्रम संवतका आधारमा वैशाख १ एक (मध्य अप्रिल) महिनाबाट औपचारिक रुपमा नया वर्ष प्रारम्भ हुन्छ ।

हुन त नेपालभित्र पनि सास्कृतिक विविधता अनुसार फरक फरक दिनमा नया वर्ष मनाउने परम्परा पनि रहँदै आएको छ । लोसार, माघी, नेपाल संवत् आदि विविध सांस्कृतिक आधारमा नेपालभित्र मनाइने नयाँ वर्षहरु हुन् ।

यद्यपि औपचारिक रुपमा राज्यले मान्यता दिएको र आम मानिसले मान्दै आएको नया वर्ष भने बैशाख १ बाटै प्रारम्भ हुदै आएको छ । यसले विश्वमा नेपाललाई अलग पहिचान पनि दिएको छ ।

पूर्वीय ज्योतिषशास्त्र अनुसार सौर्यमानको आधारमा वैशाख १ लाई नया वर्ष मानिएको हो । वैशाख १ गतेदेखि सूर्यले १२ राशीको आफ्नो एक वर्षे यात्रा पूरा गरी मीन राशीबाट पुनः मेष राशीमा प्रवेश गर्दछ ।

सौरमानलाई नै समय मापनको मुख्य पद्धति मान्ने विक्रम सम्वत् अनुसार यस दिनदेखि नया वर्ष शुरू भएको ज्योतिषहरुको धारणा छ । यसको ऐतिहासिक पृष्ठभूमि खोतल्ने हो भने नेपालमा विक्रम संवतलाई चन्द्रशमशेरले ज्योतिषीहरुको सल्लाहमा तिथि र बारहरुमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाख १ गतेदेखि प्रारम्भ गरी लेख्ने चलन चलाएको जानकारी प्राप्त हुन्छ ।

यसैगरी केही इतिहासकारहरुका अनुसार विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी-चौबीसी, मल्ल, शाह राजाहरुले विक्रम संवत् चलाउदै आएका थिए । केन्द्रका तीन सहरका मल्ल राज्यहरुमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरुमा विक्रम संवतको प्रयोग हुँदै आएको थियो ।

ऐतिहासिक पृष्ठभूमि जे जस्तो भएपनि वैशाख १ मा नयाँ वर्ष मनाउने प्रचलनले नेपाललाई विश्व मानचित्रमा अलग पहिचान दिएको छ, यो नेपालको अलग सांस्कृतिक विशेषता बनेको छ । त्यसैले यसलाई धार्मिक वा जातिय संकृणताबाट अलग रहेर सांस्कृतिक र पर्यटकीय दृष्टिबाट हेर्नु आवश्यक छ ।

(लामा पर्यटन व्यवसायी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment