Comments Add Comment

धरहराः ११ तले बनाउन प्रस्ताव, तीनतले भूमिगत पार्किङ

सरकारले खोलेको खातामा २५ लाख मात्रै

Dharahara-810

२ वैशाख, काठमाडौं । भूकम्पले ढालेको धरहरा कस्तो बनाउने ? धेरैको जवाफ हुनसक्छ, र बलियो र पहिलेको जस्तै । तर, अब बन्ने धरहराको स्वरुप तपाईंले यसअघि देखेको भन्दा फरक हुन सक्छ । किनभने सरकारले अब ९ तले नभएर ११ तले बनाउन प्रस्ताव गरेको छ ।

भीमसेन थापाले बनाएको धरहरा सुरुमा ११ तले थियो । वि.सं.१९९० को महाभूकम्पमा २ तला भत्किएर ९ तलामा सीमित भयो । जुद्ध सम्शेरले ९० सालको भूकम्पमा भाँचिएको दुई तला नथपी नौ तलामै सीमित राखेर पुनर्निर्माण गराएका थिए ।

गत वैशाख १२ को भूकम्पमा फेदैदेखि ढलेको धरहरा पुरातत्व विभागले अब १९९० कै स्वरुपमा बनाउने तयारी गरेको छ । तर, यसबारे अन्तिम र औपचारिक निर्णय भने भएको छैन ।

अब धरहरा ११ तले बनाउनेबारे सरकारी अधिकारी, पुरातत्वविद र सुन्धाराका स्थानीयसँग ब्यापक छलफल र बहसपछि मात्रै अन्तिम निर्णय गरिने पुरातत्व विभागका अधिकारीहरु बताउँछन् ।

उचाइ बढाउन प्रस्ताव

नयाँ प्रस्तावअनुसार निर्णय भएमा धरहरा वि.सं. १८६२ मा भीमसेन थापाले बनाएकै स्वरुपमा फर्कनेछ । यसअनुसार भत्किनुअघि २ सय ३ फिट अग्लो धरहरा अब २ सय ४५ फिट अग्लो बन्नेछ । अब सातौं तलाको बार्दली ९ औं तलामा राखिनेछ ।

पुरातत्वविदले १९९० माघ २ गतेको भूकम्पअघिको धरहरा स्वरुप र बनोटबारेको विस्तृत विवरण विभागमा बुझाइसकेका छन् । पुरात्वविदले धरहराको मौलिक स्वरुप ११ तलाको नै भएकाले अब स्थापनाकालको जस्तै बनाउनुपर्नेमा जोड दिएका छन् ।

१९९० अघिका तस्वीर र विभिन्न प्रमाणहरु पनि समेत सुरक्षित रहेकाले ११ तलाको धरहरा निर्विवादित रहेको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् ।

भूकम्प प्रतिरोधी बन्ने

पुनर्निर्माण हुने धरहराको अग्लाइसहित न्युनतम पुर्वाधारको सीमाहरु तोकेर विभागले ६ वटा इञ्जिनियरिङ कन्सल्टेन्सीलाई त्यसको उपयुक्त ड्रोइङ/डिजाइन पेश गर्न भनेको छ ।

उनीहरुले दिनेमध्ये सबैभन्दा उत्कृष्ट ड्रोइङ-डिजाइनलाई स्वीकृत गरेर धरहराको पुनर्निर्माण अघि बढाउने तयारी गरिएको छ । अब बन्ने धरहरा भूकम्प प्रतिरोधी बन्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । यसको उचाइबाहेक बाहिरी स्वरुपमा कुनै परिवर्तन गर्ने तयारी छैन ।

लिफ्ट राख्ने तयारी

तर, यसका भित्री स्वरुपमा भने आमूल परिवर्तन हुनेछन् । धरहरामा अब लिफ्ट पनि प्रयोग गरिनेछ । पहिलेकै स्वरुपमा भर्‍याङसमेत राखिने छ ।

तर, अत्यााधुनिक लिफ्टमार्फत पनि धरहरा चढ्न सकिनेछ । कुनैबेला आकस्मिक रुपमा बाहिरिन पनि लिफ्ट राख्नैपर्ने विभाग स्रोतले बतायो । लिफ्ट राखेरै डिजाइन तयार गर्न सीमा तोकिएको छ ।

तीनतले भूमिगत पार्किङ !

अब धरहरा हेर्न र चढ्न जानेलाई पार्किङको पनि समस्या हुने छैन । अब धरहरामुनि ३ तलासम्मको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न प्रस्ताव गरिएको छ । यसमा साना गाडी र मोटरसाइकलहरु पार्क गर्न सकिने छ ।

धरहराभित्र स्मृति पार्क स्थापना गर्ने तयारी पनि छ । तर, धरहराको जग्गा एकदमै कम भएकाले समस्या आउन सक्ने विभागका अधिकारी बताउँछन् ।

जग्गाको समस्या

धरहरा छेउमै टक्सार विभागको जग्गा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ । तर, त्यसमा अर्थ मन्त्रालयले सहमति दिन आनाकानी गरेको स्रोतले बतायो । धरहरा छेउमा टक्सार विभागको झण्डै १० रोपनी जग्गा उपयोगविहीन अवस्था छ । त्यसलाई पनि समेटेर धरहरा आसपास पार्क बनाउने तयारी छ ।

जग्गा पर्याप्त नहुँदा धरहरालाई व्यवस्थित बनाउन समस्या भएको छ । अहिले उपलब्ध जग्गाको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग छलफल गर्ने विभागको तयारी छ । धरहराको जग्गामा अहिले व्यापारिक स्टलहरु पनि छन् ।

सरकारको खातामा २५ लाख मात्रै

सरकारले धरहरा जनताकै लगानीमा पुनर्निर्माण गर्ने घोषणा गरिसकेको छ । लागत अनुमान सार्वजनिक नगरे पनि ‘म बनाउँछु धरहरा’ अभियान चलाएर सरकारले बैंकमार्फत जनतासँग रकम पठाउन थालिसकेको छ । तर, त्यसमा रकम जम्मा गर्न नागरिकहरु खासै उत्साहित भएका छैनन् ।

यो खातामा अहिलेसम्म झण्डै २५ लाखमात्रै उठेको छ । पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया धरहराको अब बन्ने स्वरुप सार्वजनिक भएपछि रकम उठ्ने क्रम बढ्ने बताउँछन् । धरहरा बनाउने रकम संकलन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीबाट एक महिनाको तलब राखेर खाता खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment