Comments Add Comment

मुस्ताङको जोमसोममा होमस्टेमै बस्न पाइने

jomsom
३ वैशाख, मुस्ताङ। जिल्लाको जोमसोम–१, २ र ३ ठिनी गाउँमा पहिलोपटक होमस्टे (घरबास) सुरु भएको छ ।  जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयवासीको सक्रियतामा पहिलो चरणमा चार घरमा होमस्टे सेवा प्रारम्भ गरिएको हो ।

सदरमुकाम जोमसोमसँग जोडिएको ठिनी गाउँका स्थानीयवासीलाई एक्यापले होमस्टे सञ्चालनसम्बन्धी तालिम दिएपछि सो सेवा सुरु गरिएको हो ।

धार्मिकस्थल, फरक भू–बनोट, तिब्बती कला संस्कृतिको अध्ययन र अनुसन्धान तथा लोमान्थाङ भ्रमणका लागि यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउन होमस्टेले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।
गाउँ मुखिया आशबहादुर थकाली, ममिता थकाली, मनदेवी थकाली र बदी थकालीले सुरु गरेको होमस्टेमा काठमाडौँबाट १६ जना आन्तरिक पर्यटक पुगेको स्थानीयवासी नीरज थकालीले जानकारी दिए ।

“थकाली संस्कृतिको प्रारम्भ यही गाउँबाट भएको भन्ने इतिहास छ, सदरमुकाम नजिक हुँदा पर्यटकलाई होमस्टेमा ल्याउन समस्या छैन,” उनले भने– “अन्य घरले पनि होमस्टे सुरुवात गर्दैछन् ।” एक सय घरधुरी रहेको उक्त गाउँमा करिब २० घरले होमस्टे सञ्चालनको तयारी गरिरहेका छन् ।

धुम्बाताल, ह्यारोजो भ्यूपोइन्ट, तिलिचो ताल जाने मुख्य मार्ग, उच्च स्थानमा अवस्थित भएकाले नीलगिरि र धवलागिरि हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले ठिनीगाउँमा अन्य समयमा पनि नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । भ्यू पोइन्टबाट कोरला नाकासहित जिल्लाको ८० प्रतिशत भू–भाग देख्न सकिन्छ ।

मुस्ताङमा लेतेदेखि लोमान्थाङसम्म करिब ३०० साना–ठूला होटल सञ्चालनमा छन् । एक्यापका पर्यटन सहायक बेलबहादुर पुन होमस्टेको विकासका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिने बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment