Comments Add Comment

बन्द हुने भो पोखराको प्याराग्लाइडिङ ! विकल्प कहाँ खोज्ने ?

विमानस्थल निर्माणसँगै प्याराग्लाइडिङको भविश्य संकटमा

paraglaiding

५ वैशाख, पोखरा । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निश्चित भएसँगै पर्यटनका अन्य आयामहरुबारे बहस प्रारम्भ भएको छ । समयमै निर्माण सम्पन्न भएमा अबको चार वर्षभित्र पोखरामा ठूला जहाजहरु आउन थाल्नेछन् । र, ती विमानबाट आउने पर्यटकको घुइँचो पोखरेली पर्यटनले थेग्नुपर्ने हुन्छ ।

विमानस्थल शिलान्यास भएसँगै पोखरामा सञ्चालित हवाइ खेलकुदको भविष्यबारे चिन्ता सुरु भएको छ । अहिले पोखराको प्रमुख पर्यटकीय आकर्षणका रुपमा प्याराग्लाइडिङ र अल्ट्रालाइट सञ्चालनमा छन् । तर, विमानस्थल बनेपछि दुबै गतिविधि विस्थापित हुने भएको छ ।

अहिले व्यावसायीहरुले सराङकोट र तोरीपानीबाट फेवातालको किनारमा प्याराग्लाइडिङ उडान गर्दै आएका छन् । यो क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच ट्रयास’मा पर्ने हुँदा प्याराग्लाइडिङ हटाउनुपर्ने नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अनलाइनखबरलाई बताए ।

‘अन्तर्राष्ट्रिय उडानका लागि अहिले प्याराग्लाइडिङ उडाउने ठाउँ पुरै खाली गर्नुपर्छ, त्यतिमात्र होइन,’ महानिर्देशक गौतमले अनलाइनखबरसँग भने, ‘अहिलेको डोमेष्टिक विमानस्थल पनि एप्रोचभित्र पर्ने हुँदा पूर्णरुपमा बन्द गर्नुपर्छ र यसले अल्ट्रा फ्लाइटसमेत विस्थापित हुने देखिन्छ ।’

अन्तर्राष्ट्रिय उडानको चाप नभएमा नयाँ विमानस्थलबाट अल्ट्रालाइट भने उडाउन सकिने सम्भवना रहेको गौतम बताउँछन् । तर, अन्तर्राष्ट्रिय उडानको चाप भएमा अल्ट्रालाइट पूरै बन्द गर्नुपर्ने बाध्यता छ ।

तर, प्याराग्लाइडिङ भने ईञ्जिनविनाको हुनाले तत्कालै यताउता सारेर उडाउन नमिल्ने हुँदा अन्तर्राष्ट्रिय विमानस्थलका लागि बढी जोखिमपूर्ण हुन्छ, जसले गर्दा विमानस्थल बनेपछि प्याराग्लाइडिङ पूरै बन्द हुन्छ । सराङकोट क्षेत्र विमानस्थलको एप्रोच ट्रयासभित्र पर्ने हुँदा प्याराग्लाइडिङ बन्द गर्नैपर्ने गौतमको भनाइ छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ)को नियमअनुसार अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र कुनै पनि हवाइ गतिविधि सञ्चालन गर्न पाइँदैन ।

प्याराग्लाइडिङको भविष्य अब के ?

पोखरामा स्वदेशी तथा विदेशी पर्यटक तानिरहेको प्याराग्लाइडिङको भविष्य अब के हुन्छ ? यो प्रश्नमा महानिर्देशक गौतमले भने- ‘अब प्याराग्लाइडिङ उडानका लागि बैकल्पिक ठाउँ खोज्नुपर्छ ।’

पोखरा उपत्यका बाहिर प्याराग्लाइडिङ उडाउन प्रशस्त सुन्दर र उपयुक्त ठाउँहरु रहेको उनको भनाइ छ ।

तर, प्याराग्लाइडिङ व्यावसायी भने ठूला जहाजहरु उडे पनि आफुहरु विस्थापित हुनु नपर्ने दाबी गर्छन् । विदेशमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्याराग्लाइडिङ उडान भइरहेको उदाहरण प्रस्तुत गर्दै हवाइ खेलकुद संघका महासचिव बसन्त दवाडी भन्छन्- ‘अहिले पोखराको प्याराग्लाइडिङ विस्थापित हुन्छ रे भनेर मनगढन्ते कुरा भइरहेको छ ।’

स्वीट्जरल्याण्डको विमानस्थलमा २/३ किलोमिटरको दूरीमा प्याराग्लाइडिङ उडाउन स्वीकृति दिइएको दवाडीले बताए । ‘अहिलेसम्म प्याराग्लाइडिङ विस्थापित हुने प्राधिकरणबाट आधिकारिक जानकारी आएको छैन’ उनले भने- ‘सरकारले चाहेमा अन्तर्राष्ट्रिय उडानसँगै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ ।’

पोखरामा लाखौं पर्यटक भित्राउने प्याराग्लाइडिङ बन्द गर्न नहुने व्यवसायीको तर्क छ । प्याराग्लाइडिङ बन्द हुने नियामक निकायबाट जानकारी नआएको व्यावसायीहरुले दाबी गरिरहँदा महानिर्देशक गौतम भने दुई वर्षअघिदेखि नै पोखराको उपयुक्त विकल्प खोज्न भनिसकेको बताउँछन् ।

‘व्यवसायीलाई हामीले यसअघि नै विकल्प सोच्न भनिसकेका छौं’ महानिर्देशक गौतमले भने- ‘अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा आफ्नै सीमा र मापदण्ड हुन्छ, प्राइमरी र सेकेन्डरी एरिया हुन्छ, व्यवसायीले हचुवाका भरमा उडाउन पाइन्छ भनेर हुँदैन ।’

संघका अध्यक्ष योगेश भट्टराई पोखराबाट प्याराग्लाइडिङ हटाउने भएमा सरकारले विकल्पका लागि ठाउँ खोजिदिनुपर्ने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले उपयुक्त ठाउँ खोजेर प्याराग्लाइडिङ सिफ्ट गरिदिने जिम्मेवारी नियामक निकायको भएको बताए ।

तर, प्राधिकरणका महानिर्देशक गौतम प्याराग्लाइडिङ उडाउने ठाउँ खोज्ने काम आफूहरुको क्षेत्रभित्र नपर्ने बताउँछन् । ‘यो नितान्त व्यवसायिक गतिविधि हो, यसलाई कुन ठाउँमा उडाउने भनेर उहाँहरुले नै निर्णय गर्ने हो’ गौतमले भने- ‘उनीहरुले खोजेको ठाउँ उपयुक्त छ वा छैन, टेक्निकल अध्ययन गरिदिने मात्रै हाम्रो काम हो, उनीहरुलाई रेगुलेट गर्ने हाम्रो काम हो ।’

प्याराग्लाइडिङ उडाउने व्यावसायीलाई नै कहाँ उडाउँदा राम्रो हन्छ भनेर बढी थाहा हुने गौतमको तर्क छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट कति दूरीमा हवाइ खेलकुद सञ्चालन गर्न पाइने भनेर आफुहरुलाई थाहा नभएको संघका अध्यक्ष भट्टराईको भनाइ छ । ‘कम्तिमा प्राधिकरणले यति दुरीमा उडाउन पाइन्छ, पोखराका यो-यो ठाउँमा उडाउन पाइँदैन भनेर देखाइदिनु त पर्‍यो नि’ उनले भने- ‘कहाँसम्म उडाउन पाइँदैन भनेर थाहा नहुँदासम्म कसरी ठाउँ खोज्ने ?’

प्याराग्लाइडिङ विस्थापित गर्नुपूर्व आफूहरुसँग छलफल गर्नुपर्ने उनीहरुको भनाइ छ । यत्तिकै विनाअध्ययन प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनको आकर्षण हराउने अध्यक्ष भट्टराईले बताए ।

यदि हटाउनै पर्ने भएमा विमानस्थल सञ्चालनमा आइसक्दा आफूहरुलाई स्थानान्तरण गरिसक्नुपर्ने उनले बताए ।
‘अन्तर्राष्ट्रिय उडान नै असुरक्षित हुन्छ र रोकिन्छ भने हामी स्थानान्तरण हुन तयार छौं’ संघका महासचिव दवाडीले भने- ‘त्यसभन्दा पहिला अध्ययन त हुनुपर्‍यो नि, यत्तिकै हचुवाको भरमा सिफ्ट होउ भनेर कहाँ सर्ने ? हामीलाई विकल्प त दिनुपर्‍यो नि ।’

विकल्प कहाँ हुन सक्छ ?

pokhara paraglaiding

नेपाल उच्च पहाडी मुलुक भएको हुँदा प्याराग्लाइडिङ सञ्चालनका लागि धेरै उपयुक्त ठाउँहरु छन् । नेपाल सुन्दर मुलुक भएको हुँदा प्याराग्लाइडिङ उडाउन सुन्दर ठाउँको खोजी गर्न समस्या नभएको महानिर्देशक गौतमको तर्क छ ।

गौतमले पोखरा उपत्यकाभित्र बेगनास क्षेत्रमा प्याराग्लाइडिङ उडाउन सकिने सम्भावना रहेको बताए ।

सराङकोटको विकल्पमा पोखरा नजिकै रहेका उत्तरी बेल्टहरु ल्वाङघलेल, रिवान, अर्मला, गि्रनवाल, सौर्यपाखा लगायतका ठाउँमा प्याराग्लाइडिङ उडाउन सकिने सम्भवना रहेको छ । तर, गौतम भन्छन्- यसबारे अध्ययन भइसकेको छैन ।

अहिले पोखराको सराङकोट सँगसँगै कास्कीको ढिकीडाँडा, तोरीपानी, तनहुँको बन्दीपुर, स्याङ्जाको सिरकोट, पाल्पा, सुर्खेत, ललितपुर र भेडेटार-धरान लगायतका ठाउँहरुमा व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको छ ।

अन्य धेरै जिल्लाहरुमा पनि प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको छ । पोखरामा प्याराग्लाइडिङ रोकिए पनि उडाउनका लागि धेरै ठाउँहरु भएको हुँदा व्यवसायीलाई कुनै मर्का नपर्ने नियामक निकायको दाबी छ ।

पोखराको पर्यटन के हुन्छ ?

दुई दशकदेखि पोखरामा प्याराग्लाइडिङ उडान हुँदै आएको छ । २० वर्षको दौरानमा प्याराग्लाइडिङ गराउने कम्पनीको संख्या ६५ पुगिसकेको छ । यी कम्पनीले पूर्ण क्षमतामा उडाउने हो भने दैनिक ५ सय जनालाई सेवा दिन सक्छन् । तर, पर्यटक कम हुँदा दैनिक सय जनालाई प्याराग्लाइडिङ गराउन सकेको दवाडीको भनाइ छ ।

पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल बढीभन्दा बढी पर्यटक भित्राउनका लागि हो । खासगरी यसबाट चिनियाँ र भारतीय नागरिक भित्राउने लक्ष्य राखिएको छ । पोखरामा चिनियाँ नागरिक आउने भनेको प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीप, बञ्जी लगायतका साहसिक खेलको मजा लिनका लागि हो ।

यदि पोखराबाट प्याराग्लाइडिङ सिफ्ट भएमा चिनियाँ पर्यटकको पोखरा आकर्षण घट्न सक्ने चिन्ता पर्यटन व्यवसायीको छ ।

चीनबाट आउने कुल पर्यटकमध्ये ७० प्रतिशत प्याराग्लाइडिङ गर्न आउने गरेको संघका महासचिव दवाडी बताउँछन् ।प्याराग्लाइडिङ संख्या बढ्दा सराङकोटको आकाशसमेत साँघुरिएको छ । एकै पटकमा धेरै प्याराग्लाइडिङ उडान हुँदा आकाशमा ट्राफिक जाम भई दुर्घटना बढ्ने सम्भावना बढी देखिन्छ ।

यसै पनि प्याराग्लाइडिङका लागि अर्को उपयुक्त ठाउँको आवश्यकता देखिसकेको छ । तर, यसका लागि नियामक निकायले ध्यान नदिएको आरोप लगाउँछन्, प्याराग्लाइडिङ व्यावसायी ।

प्याराग्लाइडिङले पोखरा आउने पर्यटकको बसाइसमेत बढाउन सहयोग पुर्‍याइरहेका छन् । पोखरामा साहसिक हवाइ खेलकुदको विकासमा पनि प्याराग्लाइडिङको भूमिका छ । अल्ट्रालाइट, जीप फ्लाई र बञ्जीजम्प धेरै पछाडि आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment