Comments Add Comment

१३ बर्षीया बालिकाको सामुहिक बलात्कारका मुख्य अभियुक्त पक्राउ

Balatkari-Nawalparasi४ वैशाख, नवलपरासी । नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका मुख्य अभियुक्त कृष्ण महतो पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा महतोलाई मोरङको विराटनगरबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । कावासोती १३ लौखानीका कृष्ण महतोलाई  आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी परशुराम तिवारीले जानकारी दिए ।

बलात्कारमा संग्लग्न अन्य दुई जना भने अझै फरार छन् । पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालय नवलपुरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गत चैत्र १८ गते साँझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामुहिक बलात्कार गरेको थियो । डिएसपी तिवारीले, प्रहरीले महतोलाई चार ठाउँमा पिच्छा गर्दै जाँदा विराटनगरबाट पक्राउ गर्न सफल भएको बताए । सिभिलमा खटिएका प्रहरी नायव निरीक्षक प्रकाश सिंखडा र प्रहरी जवान धनबहादुर कँडेलले महतोलाई पक्राउ गरेको हो ।

बलात्कार घटनाको अभियुक्तहरु विरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएका दुई साता वित्दा समेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो । महिला अधिकारकर्मी, आफन्त, स्थानीय बासिन्दा, बालअधिकारकर्मी लगायतले दिनहुँ जसो आन्दोलन समेत गरेका थिए ।

यसरी पक्राउ परे फरार आरोपी

बलात्कार गरेको हल्लाखल्ला भएपछि गाउँबाट फरार भएका तीनै जना दोस्रो दिन अर्थात चैत १९ गतेसम्म एकअर्काको सम्पर्कमा थिए । त्यसपछि उनीहरु आ-आफ्नो ढंगबाट फरार भएका थिए ।

फरार मध्येका कृष्ण महतो अष्ट्रेलिया जाने सक्ने सम्भवना रहेका कारण प्रहरीले उनीमाथि विशेष निगरानी राख्न थाल्यो अर्थात महतोको खोजीकार्यलाई प्रहरीले पहिलो प्रथामिकतामा राख्यो ।

कावासोतीबाट फरार भएका महतो केही दिन चितवनको भरतपुरमा लुकेर बसे । उनको लोकेसन पत्ता लगाउत प्रहरीलाई हम्मे परेको थियो । जव प्रहरीले पत्ता लगायो उनी काठमाडौं पुगिसकेका थिए ।

काठमाडौंसम्म खोज्दै आइपुगेको प्रहरीलाई छक्याउँदै उनी सुनसरी पुगे । सुनसरीमा पनि प्रहरीले उनी बसेको स्थान पत्ता नलगाएको होईन तर प्रहरी पुग्दा उनी त्यहाँबाट फरार भइसकेका थिए ।

तीन प्रयास असफल भएपछि प्रहरीले बिशेष तरिकाले चौथो प्रयासमा उनलाई बिराटनगरबाट पक्रिन सफल भयो । उनी त्यहाँ आफन्तको साथीको घरमा लुकेर बसिरहेका थिए । उनलाई त्यहाँबाट पक्राउ गरी नवलपुर ल्याइएको डिएसपी तिवारीले जानकारी दिए ।

उनीसँगै फरार अन्य दुई अभियुक्तको खोजी प्रहरीले तीव्र पारेको छ । नवलपुर प्रहरीले घटनाको अनुसन्धानको क्रममा सिविआई, अपराध अनुसन्धान महाशाखा, सुनसरी प्रहरी र विराटनगर प्रहरीको सहायता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment