Comments Add Comment

शीतलनिवासमा ‘चिल्ड्रेन पार्क’ का लागि बजेट थप्न माग

२३ करोडको सिलिङमा १६ करोड थप्न आग्रह

Shitalnibas८ वैशाख, काठमाडौं । राष्ट्रपति कार्यालयले ‘शीतलनिवास’ भित्रै ‘चिल्ड्रेन पार्क’ बनाउन प्रस्ताव गरेको छ । राष्ट्रपति कार्यालयको पुरानो रातो भवन पछाडिको खाली जमीनमा पार्क बनाउने अवधारणासहित राष्ट्रपतिको कार्यालयले राष्ट्रिय योजना आयोगसँग बजेट माग गरेको छ ।

‘राष्ट्रपति कार्यालयले शीतलनिवासभित्रै चिल्ड्रेन पार्क बनाउने भन्दै आगामी आर्थिक वर्ष ०७३/०७४को बजेटमा योजना आयोगले दिएको सिलिङभन्दा १६ करोड रुपैयाँ बढी माग गरेको छ,’ योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले अनलाइनखबरसँग भने ।

सचिव श्रेष्ठका अनुसार योजना आयोगले आगामी आर्थिक वर्षका लागि राष्ट्रपति कार्यालयलाई २३ करोड ५० लाख रुपैयाँको बजेटको सिलिङ दिएको छ । तर, राष्ट्रपति कार्यालयले भने भूकम्पले क्षति पुर्‍याएको शतिलनिवासको मर्मत सम्हार र चिल्ड्रेन पार्कका लागि भन्दै थप १६ करोड रुपैयाँ बजेटको माग गरेको हो ।

स्कुले विद्यार्थीलाई भ्रमण तथा अवलोकन गराउने उद्देश्यले राष्ट्रपति कार्यालयमा चिल्ड्रेन पार्क निर्माण गर्ने प्रस्ताव निकै राम्रो भएको श्रेष्ठले बताए । योजना आयोगले अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरी उचित निर्णय लिने उनको भनाइ छ ।

किन गरियो चिल्ड्रेन पार्कको प्रस्ताव ?

राष्ट्रप्रमुखको कार्यालय भनेको राष्ट्रिय महत्व र सबैको चासो भएको ठाउँ भएकाले पार्क निर्माणको प्रस्ताब गरिएको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

‘राष्ट्रपति कार्यालय भनेको विद्यार्थीहरुका लागि सूचनाको केन्द्रजस्तो हुन्छ र  आम सर्वसाधारणका लागि घुम्न आउने आकर्षक ठाउँ हुन्छ भनेर पार्क निर्माणको प्रस्ताव गरिएको हो,’ सचिव पौडेलले पार्क निर्माणको औचित्य पुष्टि गरे ।

राष्ट्रपतिलाई बालबालिकामैत्री र बालबालिकालाई राष्ट्रपति मैत्री बनाउन यस्तो अवधारणा तयार गरिएको राष्ट्रपति कार्यालयका उच्च् अधिकारीहरु बताउँछन् ।

‘बालबालिकाहरु राष्ट्रपति कार्यालय आउँदा उनीहरुलाई खेल्ने ठाउँ होस् भनेर पार्क बनाउन प्रस्ताव गरिएको हो,’ एक अधिकारीले भने ।

कति छ जमिन ?

राष्ट्रपति कार्यालयको कूल क्षेत्रफल १०८ रोपनी हो, जसमध्ये करिब ३ रोपनीमा पुरानो रातो भवन, २ रोपनीमा नयाँ भवन, दुईवटा व्यारेक गरी २ रोपनी जमीन मात्रै उपयोग भएको छ । बाँकी रहेको खाली जमिनमध्ये आधा जमिनमा पार्क बनाउने सोच भएको एक सहसचिवले जानकारी दिए ।

रामवरणकै ईच्छा थियो

स्रोतका अनुसार शीतलनिवासमा चिल्ड्रेन पार्क बनाउने अवधारण निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको हो । यादवले आफ्नो कार्यकालमा ‘बालबालिकासँग राष्ट्रपति’ भन्ने अभियान सुरु गरेका थिए । अभियान अन्तर्गत उनले वर्षमा एक दुईपटक प्राथमिक विद्यालयका विद्यार्थीहरुसँग चौरमा बसेर प्रश्नोत्तर गर्थे ।

चौरमा बालबालिकाले घेरिएर पूर्वराष्ट्रपति यादवले खुल्ला प्रश्नोत्तर गर्थे । त्यहाँ सहभागी बालबालिकाले राष्ट्रपतिलाई स्वतन्त्रतापूर्वक प्रश्न गर्थे ।

बालबालिकाहरुले तपाई कसरी राष्ट्रपति बन्नुभयो ? राष्ट्रपति बन्न के गर्नुपर्छ ? राष्ट्रपति नबन्नुभएको भए के बन्नुहुन्थ्यो ? भन्नेलगायतका प्रश्नहरु गर्ने गरेको राष्ट्रपति कार्यालयका अधिकारीहरु बताउँछन् ।

पूर्वराष्ट्रपति यादवसँग राष्ट्रपति कार्यालयले छलफल गरी योजना आयोगसँग चिल्ड्रेन पार्क बनाउने अवधारणा पेश गरेको हो ।

विभिन्न देशहरुमा राष्ट्र प्रमुखको कार्यालयमा वर्षमा केही दिन बालबालिकाका लागि खुल्ला गर्ने र राष्ट्रपतिले छलफल गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment