८ वैशाख, काठमाडौं । एसएसपीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको झडपमा दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वयको अभाव देखियो ।
क्षेत्राधिकारलाई लिएर केन्द्रमा देखिएको विवाद टीकापुर घटनामा पनि देखिएको सुरक्षा विश्लेषकहरुले दाबी छ । अहिले सशस्त्र प्रहरीको प्रमुख फेरिएपछि दुई सुरक्षा निकायको सम्वन्धमा सुधार मात्र भएको छैन, भिड नियन्त्रणबारे संयुक्त अभ्यास नै सुरु भएको छ ।
गत भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपी सहित ९ जनाको ज्यान गएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय नहुँदा कैलालीको घटनाबाट पाठ सिक्दै गृह मन्त्रालयले आफु मातहतका सुरक्षा संगठनलाई आन्दोलन तथा भीड नियन्त्रणको संयुक्त अभ्यास सुरु गरेको हो ।
जसमा राष्ट्रिय अनुसन्धान विभागको टोली पनि सहभागी भएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोलीले बुधबार प्रहरी प्रधान कार्यलय स्थित खेल मैदानमा संयुक्त अभ्यास प्रदर्शनी अवलोकन गरेका छन् । जसमा सशस्त्र र नेपाल प्रहरीका गरी १ सय ७० भन्दा बढी सहभागी थिए ।
सेनाले दिएको थियो सुझाव
सैनिक दिवसको अवसरमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले मधेसमा चलिरहेको आन्दोलनमा सशस्त्र र नेपाल प्रहरीको समन्वयमा केही समस्या देखिएकोले उनीहरु बीच संयुक्त अभ्यास हुनु पर्ने बताएका थिए ।
राजनीतिक आन्दोलनमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको सामना गर्ने पहिलो सुरक्षा संगठन नेपाल प्रहरी र त्यसपछि सशस्त्र प्रहरी बल भएकोले यी दुई बीच संयुक्त अभ्यास हुनुपर्ने उनको भनाइ थियो ।
नेपाली सेना देशको अन्तिम शक्ति भएकोले सशस्त्र र नेपाल प्रहरीको संयुक्त भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा सेनाले जोड दिंदै आएको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए । उनले भने, ‘सशस्त्र र नेपाल प्रहरीको संयुक्त अभ्यास जरुरी देखिएको कुरा प्रधानसेनापतीले भनिसक्नु भएको हो । यसले दुई सुरक्षा संगठनबीचको सम्बन्ध प्रगाढ बनाउँछ ।’
राअविले ल्याएको सूचना संयुक्त कमाण्ड सेन्टरमा दिने र त्यो अनुसार सुरक्षा योजना बनाउने गरी अभ्यास भइरहेको सहभागी एक प्रहरी अधिकृतले बताए ।
सम्बन्ध सुधार हुन्छः प्रहरी
सशस्त्र प्रहरीको नेतृत्वमा दुर्जकुमार राई आएपछि दुई संगठनबीच सम्बन्ध सुधारको प्रयास भइरहेको छ ।
अहिलेको अभ्यासले नै धेरै हदसम्म समझदारी हट्ने नेपाल प्रहरीका प्रवक्ता डिआइजी माधव जोशीले बताए । डिआइजी जोशी भन्छन्, ‘कतिपय आन्दोलनहरुका कार्यक्षेत्र स्पष्ट नहुँदा विवाद देखियो । एकले अर्काप्रति रहेका अस्पष्टता हटाउन संयुक्त अभ्यास भएको हो ।’
प्रतिक्रिया 4