Comments Add Comment

सिंगटी: भूइँचालोले थिचेको सुन्दर वस्ती

Dolakha Singati (1)

सिंगटी, दोलखा । चैत ३० गते बिहान हामी सिंगटी पुग्दा तुवाँलो र डढेलोको धुवाँले आकाश धमिलिएको थियो सिंगटीको । सिंगटीमात्रै होइन, दोलखाको पूरै आकाशमा कत्ला परेको थियो । गौरीशंकर हिमालका मनोरम दृश्यहरु कालो तुवाँलोले पूरै छोपिएका थिए । वातावरणमा प्रदूषण व्याप्त थियो । खडेरी परेका बेला मौसम खराब हुनु अस्वाभाविक थिएन ।

स्थानीय खिलबहादुर दुलाल भन्दै थिए, ‘खडेरीले गर्दा किसानले मकै छर्न पाएका छैनन् । छरेर टुसाउन थालेका मकैका बिरुवा मृगले चरेर सकिदिए । दाना लाग्नै नपाई गहूँबाली सुक्यो । अब पन्ध्र दिन पानी परेन भने सब खतम हुन थाल्दछ । जमीन जलेर चरचरी चर पर्न थाल्छ । तै, हावा चीसो छ । पानी मीठो छ । हाम्रो जीवन पनि यही चीसो र मीठोमा टिकेको छ ।’

दोलखाको उत्तरी भागमा रहेको सानो सिंगटी बजार सम्पन्न थियोः एकप्रकारले दोलखाको अनकण्टार खोंचमा रहेको समृद्धिको टापु । तामाकोशी र बिगु (सिंगटी) खोलाकोे दोभानले बनाएको बगरमा गुजमुज्ज बसेको बजारलाई छेउको भीरले बेला बेलामा चुनौति दिन्थ्यो । सिंगटी बजारले दोलखा जिल्लाको उत्तरी भेगमा रहेेका १८ गाउँ विकास समितिको क्षेत्रफलभित्र आफनो आर्थिक आधिपत्य जमाएको थियो । सिंगटीका व्यवसायीहरु मध्ये दुई चारजना बाहिरबाट आएका भए पनि १८ गाविसबाट आएका बासिन्दाकै प्रभूत्वमा बजार रहेकाले  व्यवसायीहरु बजारसँग भावनात्मक हिसाबले जोडिएका छन् ।

भूइँचालो अघि निकै रमाइलो सिंगटी अहिले पनि रमाइलो छ । त्यो रमाइलोमा उदासीका थुप्रै रेखाहरु कोरिएका छन् । वैशाख १२ र त्यसपछि गएका भूइँचालोका कडा धक्काले यहाँका व्यवसायी र बासिन्दालाई निरीह बनाएको थियो । अहिलेसम्म घाउ राम्ररी पुरिएको छैन र पनि बासिन्दाहरुले निराशालाई थिचेका छन् । भूइँचालोमा परेर जीवन गुमाएका ३२ जना नागरिकको सम्झनाले सबैलाई गहिरो शोक र अवसादमा डुवाएको छ । धेरै मानिसको मनमा भूइँचालोले नराम्रो मानसिक धक्का दिएको छ । सिंगटी सामुदायिक अस्पतालका स्वास्थ्य सहायक आकाश भन्छन्, ‘भूइँचालोपछि ट्रमा बिरामीको संख्या हलक्क बढेको छ । अहिलेसम्म २०० बिरामीहरु उपचारका लागि अस्पताल आइसकेका छन् । अस्पतालमा छाला र आँखाका बिरामीहरुको संख्या पनि उल्लेखनीय हिसाबले बढेको छ ।’

Dolakha Singati (2)बजारमा ठडिएका साना ठूला २०० घरहरु भग्नावशेषमा परिणत भएका छन् । सिंगटीको शान मानिएको पाँचतले घर भाँचिएर टुक्राटुक्रा भएकोे छ । भूइँचालोबाट जोगिएका दुईचार पक्की घरहरु पनि असुरक्षित हिसावले क्षतिग्रस्त छन् । कुनैको पिल्लर भाँचिएको छ । कुनैको छत चर्किएको छ । कुनैका भित्ताहरु सावूत छैनन् । भत्किएका घरहरुको अवशेष उठाइसकिएको छैन । बजार भने बिस्तारै व्युझिँदै छ । चहल-पहल बढ्दैछ मन्द गतिमा ।

भूइँचालोपछि सिंगटीको बजार र बस्ती अन्यत्र सार्ने विचारहरु नआएका होइनन् । तत्कालीन राष्ट्रपति रामवरण यादवले क्षतिग्रस्त सिंगटीको अवलोकन गर्दा यही कुरामा जोड दिएका थिए । तर, त्यसमा स्थानीय बासिन्दा कसैले जोड दिएका छैनन् । एक त, सिंगटीको विकल्प बन्न सक्ने सहज विन्दू दोलखामा अन्यत्र कतै छैन ।

अर्को, व्यावसायीहरुले आफ्नो जीवनको सम्पूर्ण कमाइ यही बजारमा खन्याएका छन् । यो स्थान छाडेर अन्यत्र कतै जाने मन छैन उनीहरुको । बजारको आकर्षण खस्किएको छैन । अस्थायी रुपमा बनाइएको ‘कटेज’ को एउटा कोठाको भाडा तीन हजार रुपैयाँ तिरेर पनि मानिस यहीँ बसेका छन् । उनीहरुका लागि सिंगटीको विकल्प सिंगटी नै हो । बजारको उत्तरतिर रहेको भीरको खतरालाई बलियोसँग छेकेर, तामाकोशी र विगु खोलामा तटवन्ध निर्माण गरेर यो बजार र वस्तीको सुरक्षा मजवूत ढंगले गर्नुपर्ने विचार छ धेरैको ।

सरकारले भूइँचालोको ठीक एक वर्षपछि सिंगटीबाट राष्ट्रिय पुनर्निर्माणको काम थाल्ने प्रचार गरेको छ । सरकारको पुनर्निर्माणका योजनाहरु कस्ता छन् ? अहिलेसम्म यो अनुमानकै विषय छ । भूइँचालोपछि लामो समयसम्म सत्ताको तरानामा रहेको सरकारले बल्लतल्ल पुनर्निर्माणको साइत जुराएकोे छ ।

यसैको पूर्वसन्ध्यामा, चैत ३० गते घर बनाउने अभियान अन्तर्गत भूइँचालो पीडितहरुलाई अनुदान वितरण गर्ने काम भइरहेको थियो । त्यो दिन लादूक र लामीडाँडा गाविसका पीडितहरुलाई ५० हजार रुपैयाँ उपलव्ध गराइँदै थियो । सरकारी स्वामित्वको वाणिज्य बैंक र निजी क्षेत्रको इनभेष्टमेण्ट बैंकका कर्मचारीहरु पीडितहरुको रिकर्ड हेर्दै, मिलाउँदै अनुदान वितरण गर्दै थिए । शायद, पैसाको मामिला भएर होला, वितरणको गति सुस्त थियो । मध्यान्हसम्म ४० भन्दा बढी पीडितले अनुदान पाएका थिएनन् ।

Dolakha Singati (4)

पीडितहरु लाइनमा थिए । उनीहरुको अनुहारमा खुशी थिएन । सरकारले दिएको अनुदान थोरै थियो । अनुदानभन्दा त्यो पाउन पूरा गर्नुपर्ने प्रक्रिया निकै लामो थियो । लेखपढ गर्न नजान्ने ग्रामीण समाजका मानिसलाई एकैपटक सरकारले जटिल लाग्ने प्रक्रियाको झमेला बोकाइदिएको थियो । गाउँका अधिकांश मानिसले बताएअनुसार, परिवारका सबै सदस्यहरु एकै घरमा बसेका थिएनन् । श्रीसम्पति र जग्गा-जमीनको अंशवण्डा भएर परिवार टुक्रिसकेको थियो । अंशवण्डाको कागज मालपोत कार्यालयमा रजिष्ट्रेशन हुन मात्र वाँकी थियो, भूइँचालो गयो । अंशवण्डा गरिदिने बाबुहरु र अंश लिएर छुट्टै बस्ने छोराहरु दुवै पक्षको घर भत्किएर पाताल बन्यो । तर, घर निर्माणका लागि अनुदानको राहत रकम जग्गाको लालपूर्जा बोकेर बसेको बाबुले पायो, घर बनाएर बस्नेे छोराले पाएन ।

लादूक-७ का भीमसेन नेपालीका तीनवटा घर भत्कायो भूइँचालोले । तीमध्ये दुइवटा उनका छोराका र एउटा उनको आफ्नो घर थियो । लालपूर्जा भीमसेनका नाममा थियो । उनैले पाए अनुदान । उनका छोराहरुको दुइ घरले ‘सुको’ पाएनन् ।

यो नसोचिएको समस्या सरकारले स्थानीय राजनीतिक संयन्त्र र गाउँ विकास समितिको सहयोग लिएर समाधान गर्न सक्दथ्यो । तर, अनुदान वितरणको चटारोमा रहेको सरकारले यो मानवीय पक्षमाथि अलिकति पनि विचार पुर्‍याएन । सरकार कुनै प्रकारको झण्झटमा पर्न चाहँदैनथ्यो ।

सरकारले दिएको पहिलो किस्ता ५० हजार रुपैयाँको अनुदानले ३० क्यूविक फिट काठ पनि आउँदैन । गाउँमा सामान्य घर बनाउन पनि कम्तिमा ५ लाख रुपैयाँ लाग्छ

एकातिर यो समस्या छँदैछ, अर्कोतिर, सारै तुच्छ छ सरकारी अनुदानको रकम । दाताहरुले भूइँचालो पीडितहरुका लागि उदारतापूर्वक दिए पनि सरकारले अनुदान रकममा कञ्जुसी गरेको छ । सिंगटीका जयन्द्र पोखरेल बताउँछन्, ‘यो त माग्नेलाई दिइस् भन्दा दिएँ भनेजस्तो मात्रै भयो । सरकारी अनुदानले डीपीसी लेभलसम्म जग उठाएर काठपातको जोरजामसमेत गर्नु पर्ने रे ! यताका काठ धमीराले खान्छन् । जोड जोडमा राखेको काठ दुई वर्षभन्दा बढी टिक्दैनन् । बालुवा, सिमेण्ट र कीला-काँटी केबाट ल्याउने ? अहिलेको समयमा यो दुई लाख रुपैयाँले घर होइन, एउटा गतिलो छाप्रो पनि बन्दैन । अहिले सरकारले दिएको पहिलो किस्ता ५० हजार रुपैयाँको अनुदानले ३० क्यूविक फिट काठ पनि आउँदैन । गाउँमा सामान्य घर बनाउन पनि कम्तिमा ५ लाख रुपैयाँ लाग्छ । यति जानकारी त सरकार चलाउनेहरुले राख्नै पर्ने हो ।

अर्कोतिर भूइँचालो प्रतिरोधक घरको जस्तो नक्सा सरकारले काठमाडौंको अफिस कोठामा बसेर कोरेको छ, त्यो शहर बजारका लागि ठीकै होला । तर, गाउँमा यो मोडल कामै लाग्दैन ।’

घर बनाउन सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणले दिने गरेको सर-सल्लाह, बनाएको नियम र बाँडेको नक्सा घाँडो बनेको छ गाउँका किसानहरुका लागि । गाउँमा सरकारले बाँडेको आधुनिक नक्सा अनुसार बनाएको घरमा किसानले आफनो दैनिक जीवन धान्नै सक्दैन । दैला छेउमा अंगेनो, घरसँगै जोडिएको बाख्रा बाँध्ने कटेरो र गाईभैंसी बाँध्ने गोठ, अन्नपात थन्क्याउने बुईंगल, कामबाट आएपछि सुस्ताउने पींढी, गाईबस्तुको भकारो मिल्काउने खाल्डो, किसानलाई सबैथोक चाहिन्छ । सरकारी कर्मचारीहरुले नेपाली गाउँको अवस्था नै नबुझी नक्सा बनाएका छन् ।

सिंगटी १८ गाविसको व्यापारिक केन्द्र हो । सबै गाउँमा पुुगेर अनुदान बाँड्न सरकारको प्राधिकरणसँग पर्याप्त कर्मचारी छैनन् । त्यसैले गाउँका मानिसहरु अनुदानका लागि सिंगटी आउनैपर्ने देखिन्छ । सहज र बौरिँदै गरेको बजारका लागि अनुुदान वितरणको मेला पनि अलिकति फाइदाजनक नै देखिन्छ ।

Dolakha Singati (3)

अनुदान लिन लाइनमा बसेका भीमसेन नेपाली स्पष्ट शब्दमा भन्छन्, ‘यो पैसाले घर त के बन्ला र ? यसबाट घर व्यवहार धान्न सजिलो होला भन्ने लागेको छ । घरमा अनाज छैन । केटाकेटीको किताब र झोला किन्नु छ । यही त हो नि । चारैतिर समस्या नै समस्या छ । टालो हाल्दै जाने हो । अहिले छाप्रामा गुजारा चलेकै छ । घर त बन्दै गर्ला ।’

अपरान्ह चरिकोट उक्लिँदा अनुभव भयो, वैशाख १२ गतेको भूइँचालोले ९९ प्रतिशत भौतिक संरचनाहरु नष्ट भएको दोलखा जिल्लामा आर्थिक र राजनीतिक गति मन्द नभएको होइन । तर, यो गति पूरै अवरुध्द भएको छैन । सदरमुकाम चरिकोटमा नयाँ नयाँ होटल खुल्दैछन् । ढलेका घरहरु उठ्न सकेका छैनन्, नयाँ बनाउने होड चल्न थालिसकेको छ । जल उर्जाका हिसावले निकै सम्पन्न जिल्ला दोलखा सामान्य अवस्थामा फर्किँदैछ । विभिन्न दलका राजनीतिक नेताहरु यही विश्वासमा छन् ।

नेपाली कांग्रेसका नेता तारा कोइराला बताउँछन, ‘भूइँचालो त प्राकृतिक थियो । त्यसले विनास गरेको हो । दोलखा बाढी पहिरोका ठूलठूला विपत्ति झेल्दै आएको जिल्ला हो । यहाँ विनासले बढी प्रभाव पार्नुको कारण हाम्रो र हाम्रो प्रशासनकै कमजोरी हो ।

यत्रो ठूलो भूइँचालोपछि पनि कुन बस्ती सुरक्षित र कुन छैन भन्ने मूल्यांकन गर्न सकेका छैनौं हामीले । कति ठाउँमा शुरुमा दिइएको २ हजार रुपैयाँको राहत रकमसमेत जनताको हातमा परेको छैन । भूइँचालोले विनास गरेको सात महिनापछि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अकर्मण्यता र लाचारीको प्रतीक बनेको छ । हाम्रो जिल्लामा भूइँचालो पीडितको संख्या ८५ हजार छ । सरकारले समयमा नै उद्धार र पुनर्स्थापनाको काम शुरु नगरेकाले जनता सकसमा परेका छन् ।’

गर्मी चर्किंदै गएको अहिलेको मौसममा पनि दोलखामा ‘न्यानो’ वितरणको काम सकिएको छैन । खुशी यतिमात्रै हो, पीडित जनताले मौसम गर्मीकै भए पनि न्यानोको रकम १० हजार पाउने भएका छन्

कोइरालाको विचारमा सरकारले जनताको घरवास पुननिर्माणका लागि छुट्याएको रकम अपर्याप्त छ । उनी भन्छन्, ‘पुनर्निर्माणबाट जिल्ला प्रशासन र दैवी प्रकोप उद्धार समितिलाई अलग राख्ने सरकारी नीति पनि गलत छ । प्राधिकरण गठन नहुँदासम्म सरकारले जिल्लाको हात बाँधिदियो । यसले गर्दा स्थानीय तहमा कुनै पनि काम शुरु हुन सकेन । प्रारम्भिक उद्धारका क्रममा पनि धेरै लापरवाही भयो । जिल्लामा आउनुपर्ने हाइ डेन्सिटीको पाइपको सट्टा लो डेन्सिटीको पाइप आयो । जिल्लाका लागि आवश्यक ४ हजार पालमा २८ सय मात्रै आयो ।’

कोइरालाले दिएको जानकारी अनुसार, गैरसरकारी संस्थाहरुको काममा कुनै समन्वय भएन र बढी अनियमितता भयो । एउटा गैससले ल्याएको दुई ट्रिप जस्तामा एक ट्रिप बाटैमा गायव हुन्थ्योे । सेभ दि चिल्ड्रेनले गर्मीका लागि पठाएको कपडा मंसीर महिनामा मात्रै आइपुग्यो । गैसस विरुद्ध अख्तियारमा उजुरी हाल्न नपाइने नियम रहेछ । यसले गर्दा भूइँचालोका नाममा भएका गैससका अनेकौं अनियमित काम छोपिएका छन् । तर, अहिले तिनै गैससलाई सरकारले पुननिर्माणमा संलग्न गराउन खोज्दैछ ।

पत्रकार किशोर नेपाल
पत्रकार किशोर नेपाल

कोइराला भन्छन्, ‘सरकारका लागि संविधानभन्दा ठूलो र महत्वपूर्ण काम २२ जिल्लाका भूइँचालो पीडितहरुको उद्धार र बसोबास थियो । संविधान जनताका लागि हो । जनता ठूलो विपत्तिमा परेको अवस्थामा पनि ठूला राजनीतिक दलको प्राथमिकतामा भूइँचालो परेन । यो संवेदनहीन अवस्था एकप्रकारको राजनीतिक विडम्वना नै थियो । उद्धार र संविधान निर्माण सँगसँगै जान नसक्ने थिएनन् ।’

गर्मी चर्किँदै गएको अहिलेको मौसममा पनि दोलखामा ‘न्यानो’ वितरणको काम सकिएको छैन । एमालेका दोलखा अध्यक्ष ईश्वरचन्द्र पोखरेल भन्छन्, ‘काम ढीलो भएको छ । यो गतिको कामबाट हामी कोही पनि सन्तुष्ट हुने अवस्था छैन ।’ न्यानो सबै ठाउँमा पुगेको छैन । खुशी यतिमात्रै हो, पीडित जनताले मौसम गर्मीकै भए पनि न्यानोको रकम १० हजार पाउने भएका छन् ।

एमाओवादीका विशाल खड्का र दोलखा कांग्रेसका अध्यक्ष रुद्र खड्का पनि भूइँचालो पीडितका लागि सरकारले छिटो पाइला नचालेकोमा सन्तुष्ट छैनन् । रुद्र खड्काले बताए, ‘प्रमुख प्रतिपक्षी पार्टीका रुपमा कांग्रेसले भूइँचालो पीडितका पक्षमा काम गर्नु जरुरी भइसकेको छ, मैले केन्द्रीय नेताहरुसँग यो विषयमा नीति बनाएर काम गर्न विन्ती बिसाएको छु । स्थानीय तहबाट मैले गर्न सक्ने त्यत्ति नै हो ।’

(झण्डै चार दशकदेखि नेपाली गाउँघरका समाचार लेख्दै आएका बरिष्ठ पत्रकार किशोर नेपालले ग्रामीण पत्रकारितामा विशिष्टता हासिल गरेका छन् । सशस्त्र द्वन्द्वका समयमा सामान्य जनताका आवाजलाई शक्तिको शीर्षस्थानमा स्थापित गर्ने उनको गाउँ केन्द्रित टेलिभिजन कार्यक्रम ‘मत-अभिमत’ नेपाली समाजमा अत्यधिक लोकप्रिय थियो। भुइँचालो पीडित क्षेत्रबाट  पत्रकार किशोर नेपालको ताजा रिपोर्टको यो दोस्रो श्रृंखला हो ।)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो पनि पढ्नुहोस्

भुईंचालो पीडित वस्तीमा नयाँ वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment