Comments Add Comment

यस्ता छन् राजदूतको कोटामा परेका ८ कर्मचारी

१० वैशाख, काठमाडौं । सरकारले भागबण्डाका आधारमा मंगलबार सिफारिस गरेका २१ राजदूतहरुमध्ये १३ जना राजनीतिक भागवण्डाबाट आएका छन् । बाँकी ८ जना परराष्ट्रका कर्मचारी छन् ।

राजनीतिक नियुक्तिमा परेका १३ व्यक्तिमाथि विभिन्न प्रश्नहरु उठे पनि परराष्ट्रका कर्मचारीबाट भएको छनोटमा भने खासै विवाद देखिएको छैन ।

परराष्ट्रबाट वरिष्ठताका आधारमा नियुक्त भएका आठैजना आ-आफ्नो ठाउँमा योग्य र क्षमतावान भएको जानकारहरु बताउँछन् । कर्मचारीका तर्फबाट राजदूत बनेका को कस्तो छन् ? हेरौं उनीहरुको संक्षिप्त विवरणः

दुर्गाप्रसाद सुवेदी (दुवसु क्षेत्री): बेलायत

dubasu chhetryबेलायतका लागि राजदूत नियुक्त भएका दुवसु क्षेत्री परराष्ट्रमा प्रशासन महाशाखा प्रमुख हुन् । उनी चर्चित कविसमेत हुन् ।

दुबुसुलाई यसअघि सुशील कोइरालाले पनि राजदूत नियुक्त गर्ने प्रयास गरेका थिए । तर, उनलाई तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले रोकेका थिए ।

दुबुसुको सिंगो परिवार परराष्ट्र सेवामा छन् । झापा घर भएका उनलाई कतिपयले कांग्रेसनिकट मान्ने गर्छन् । उनले यसअघि टोकियोस्थित नेपाली दूतावास र न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनमा सेकेन्ड म्यान भएर काम गरेका थिए । क्षेत्री परराष्ट्रका कनिष्ठ सहसचिवमध्ये पर्छन् ।

लोकबहादुर थापाः बेल्जियम

lokBdr thapaबेल्जियमका लागि राजदूत नियुक्त भएका लोकबहादुर थापा तनहँुका बासिन्दा हुन् । उनी डेढ वर्षदेखि परराष्ट्रमा राहदानी विभागको महानिर्देशक छन् ।

परराष्ट्रबाट राहदानी वितरण प्रणालीमा सुधार ल्याएर भनेर उनको प्रशंसा हुने गर्छ । यसअघि अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा सेकेन्ड म्यान भएर काम गरेको अनुभव उनीसँग छ । विगतमा चीनको बेइजिङस्थित दूतावासमा पनि उनले काम गरेका छन् ।

अन्य सहसचिवभन्दा उमेरले युवा उनी क्षमतावान मानिन्छन् । उनी दुई वर्षअघि सहसचिवमा बढुवा भएका हुन् ।

प्रकाशकुमार सुवेदीः अष्ट्रिया

अष्ट्रियाका लागि राजदूत नियुक्त भएका छन् प्रकाशकुमार सुवेदी । कास्की घर भएका सुवेदी अहिले परराष्ट्र मन्त्रालयमा दक्षिण एशिया महाशाखा प्रमुख छन् ।

यसअघि उनी डेनमार्कमा उपसचिवका रुपमा कार्यरत थिए । जुन पार्टी सत्तामा आउँदा पनि अनुकूल बन्न सक्ने खुबी उनको छ । क्षमताका हिसाबले उनी  औसत मानिन्छन् ।

यूरोपेली मुलुक अष्ट्रियामा नियोग स्थापना हुनुभन्दा पहिल्यै सुवेदीलाई सरकारले राजदूत नियुक्त गरेको छ । अष्ट्रियामा नियोग स्थापनाको खासै औचित्य नरहेको परराष्ट्र मामला जानकारहरु बताउँछन् ।

ताराप्रसाद पोखरेलः ब्राजिल

taraprasadब्राजिलका लागि राजदूत नियुक्त भएका ताराप्रसाद पोखरेल हाल परराष्ट्रका प्रवक्ता हुन् । उनी परराष्ट्रका सहसचिवमध्ये वरिष्ठतामा सबैभन्दा अगाडि छन् । प्रवक्ताको जिम्मेवारीमा रहे पनि पोखरेल अन्तरमुखी स्वभावका छन् र हत्पत्ति खुल्दैनन् ।

उनी अहिलेसम्म कुनै विवादमा मुछिएका छैनन् । तराईका बासिन्दा पोखरेलले यसअघि क्यानाडास्थित नेपाली राजदूतावासमा सेकेन्ड म्यानका रुपमा काम गरेका थिए ।

रमेशप्रसाद खनालः जर्मनी

जर्मनीका लागि राजदूत नियुक्त भएका रमेशप्रसाद खनाल हाल परराष्ट्रका प्रमुख शिष्टाचार महापाल छन् । परराष्ट्रमा उनको छवि राम्रै छ ।

चाबहिलमा घर भएका खनाललाई कतिपयले एमालेनिकट भनेर पनि चिन्छन् । क्षमताका हिसाबले उनी औसत हुन् ।
यसअघि इजरायलस्थित नेपाली नियोगमा उपसचिवका रुपमा काम गरेको अनुभव उनीसँग छ ।

Sewa-Lamsal-Adhikariसेवा लम्साल अधिकारीः पाकिस्तान

न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनमा सेकेन्ड म्यानका रुपमा कार्यरत सेवा लम्साललाई पाकिस्तानका लागि राजदूत नियुक्त गरिएको छ । उनी परराष्ट्रमा सबैभन्दा वरिष्ठ महिला अधिकृत हुन् ।

खुल्लाबाट उपसचिवमा नाम निकालेर निजामति सेवामा प्रवेश गरेकी लम्साल पाँच वर्षअघि समावेशी कोटामा परराष्ट्रमा आएकी हुन् । महिला कोटामा आए पनि उनको क्षमतामा भने कुनै शंका छैन ।

झविन्द्र अर्यालः इजिप्ट

गुल्मीका झविन्द्र अर्याल हाल परराष्ट्रको चीन महाशाखाका प्रमुख छन् । परराष्ट्रका सहसचिवमध्ये उनी सबैभन्दा क्षमतावान र मिहिनेती मानिन्छन् ।

जोसँग पनि निर्भिकरुपमा प्रस्तुत हुने र प्रष्ट कुरा गर्ने उनको स्वभाव छ ।

सरकारले उनलाई इजिप्टको राजदूत बनाएर अन्याय गरेको कतिपयको बुझाइ छ, किनकि त्यहाँ राजदूतका लागि खासै केही ‘स्कोप’ छैन ।

कुनै राजनीतिक लविङ नगरी आफ्नो काममा मात्र ध्यान दिने अर्याल भारतीय नाकाबन्दीपछि चीनसँग द्वीपक्षीय व्यापारको लविङ गर्न निकै सक्रिय थिए ।

ऋषिराम घिमिरेः म्यानमार

rishiram ghimireम्यानमारका लागि राजदूत नियुक्त भएका ऋषिराम घिमिरे हालै अमेरिकास्थित नेपाली राजदूतावासबाट फर्केका छन् । उनी त्यहाँ उपप्रमुख थिए ।

उमेरका आधारमा परराष्ट्रका सबैभन्दा जेठा सहसचिव घिमिरे रिटायर्ड हुने क्रममा थिए । गुल्मी घर भएका घिमिरेले यसअघि सार्कको नेपाल निर्देशक भएर काम गरिसकेका छन् ।

उनी इमान्दार र मिहिनेती सहसचिव मानिन्छन् । केही काम नगरी बस्न नसक्ने उनको स्वभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment