Comments Add Comment

लमजुङका भूकम्प पीडितको वेदनाः कसले सुन्ने ? कसलाई सुनाउने ?

वारपाकलाई बिर्साउने लमजुङका केही ठाउँहरु छायाँमा परे

lamjung Earth Quack Victim Story (1)

भूइँचालोले लमजुङ जिल्लाको सबै भू-भागलाई समान रुपले प्रभावित गरेन । तर, जिल्लाको पूर्वी र उत्तरी भागका वस्तीहरु भने सखाप भए । लमजुङको भू-बनोटलाई हेर्दा यो जिल्ला किन दुर्गम वा विकटको श्रेणीमा परेन ? यो प्रश्न लगातार उठिरहन्छ मनमा । सम्वृद्ध भएर पनि दरिद्रजस्तो देेखिन्छ लमजुङ । किनभने, यहाँको सम्वृद्धि शहर बजारमा केन्दि्रत छ । पहाडी क्षेत्रका गाउँहरुमा दरिद्रताका छायाँहरु सल्लाइरहेका देखिन्छन् ।

लमजुङको विकट पूर्वीक्षेत्रको प्रवेशद्वार हो भोटेओडार । यहाँबाट विचौर र दूधपोखरी जस्ता गाउँलाई जोड्ने मोटरबाटो खुलेको छ, जहाँ मोटर चलाउनु अत्यन्त कठिन छ ।

लगभग ५५ किलोमिटरको दूरी पूरा गर्न दिनभर लाग्दछ । मोटरको यात्रा जति खतरनाक छ त्यति नै छ रोमाञ्चक । मोटर कतै घिसि्रन्छ र कतै चल्छ । फोरव्हिल नभएको मोटर गुडनु त कठिन नै छ ।

lamjung Earth Quack Victim Story (29)

लमजुङको साल्मेगाउँ गुरुङहरुको रमाइलो वस्ती हो । वस्तीका घरहरु चिटिक्क परेका छन, देख्दै लोभलाग्दा । “राम्रा त छन् नि । राम्रा भएर के गर्नु ? भित्रभित्रै सवै भत्किएका छन्,” गाविसकी सामाजिक परिचालक मनकुमारी गुरुङ बताउँछिन्, “गाउँका १५ घरले रातो कार्ड पाएका छन् । ५ घरमात्रै आंशिक रुपले क्षतिग्रस्त छन् ।”

[sam_list] धनमायाँ गुरुङको घर क्षतिग्रस्त छ । उनको घर फूलका बोट विरुवाले सजिएको थियो । अहिले पानीको मूलहरु सबै सुकेकाले हाहाकार मच्चिएको छ गाउँमा । आकाशबाट एकथोपा पानी झरेको छैन । त्यसैले बोट विरुवाको जीवन शून्य भएको छ । ढुंगा छापेको सफा आँगनको डिलमुनि कफीका बोट हुर्किएका छन् । लटरम्म फलेको छ कफी । बीस-पच्चीस किलो कफी फल्छ । अलिकति आम्दानीको बाटो भएको छ यो ।

गौंडा गाउँको साल्मेदेखि नै शुरु हुन्छ भूइँचालो प्रभावित क्षेत्र । भूइँंचालोबाट अति प्रभावित लमजुङका ६ वटा गाउँहरुमा दूधपोखरी, बिचौर, इलमपोखरी, गौंडा, कोल्की र पाचोक पर्दछन् । इलम पोखरीमा भूइँचालोबाट तीनजनाले ज्यान गुमाएका थिए ।

यो क्षेत्रका बाटोबाट देखिने सबै गाउँवस्ती भूइँचालो प्रभावित क्षेत्र हुन् भन्ने अनुमान गर्नु कठिन छैन । घरहरु भत्किएका छन् । शहर-बजारसँग कतैबाट पनि नजोडिएका यी वस्तीहरुको सुगम बजार भनेको बिचौर हो । बिचौर अर्थात सानो पहाडी बजार जहाँ निर्माण सामग्रीदेखि नून-तेल र लत्ता-कपडासमेत उपलब्ध हुन्छन् । तर, पहाडका यी अनकण्टार गाउँबाट बिचौर पुग्नु त्यति सहज छैन । “बाटोमा बस पनि चल्ने गरेको छ” मनकुमारी निकै उत्साहका साथ बताउँछिन् । जो कसैको पनि मनमा आउँछ, त्यो बस चलाएको होइन, धराप थापेको होला ।

झमक्क साँझ पर्न लाग्दा जसोतसो बिचौर पुगे पनि मौमसले दूधपोखरी जाने बाटो छेक्यो । धेरै दिनपछि परेको पानीका स-साना थोप्लाले रातो र कालो माटोलाई चिप्लो बनाएपछि दूधपोखरीको बाटो अगम्य बन्यो । बिचौरका होटलहरु भूइँचालो पीडितले भरिएका थिए । बास पाउनु साँच्चै कठिन थियो । तै बजारका माइला साहूले गाँस-बासको प्रवन्ध मिलाइदिए ।

lamjung Earth Quack Victim Story (2)

लमजुङको दूधपोखरी र वरिपरिका क्षेत्रमा भूइँचालोले ठूलो बिनास गर्‍यो । यहाँ मानवीय क्षति नभए पनि भौतिक क्षतिको विवरण निकै लामो हुन्छ । दूधपोखरीका वडा संयोजक घनश्याम न्यौपाने भन्छन, “मानवीय क्षति नभए पनि गाउँका कुनै पनि घर बस्न लायक छैनन् ।

भूइँचालोले बालीनाली र वस्तुभाउको बिजोग भएको छ । सारै अप्ठेरो अवस्थामा छौं हामी । गाउँका १,२,३ र ६ वडाका जनताले कुनै प्रकारको राहत पाएका छैनन् । घर बस्न नहुने भनी रातो कार्ड पाएकाले राहत पाएका छैनन् । पहिले राहत पाएका तर घरबार नभत्किएका व्यक्तिहरुले राहत फिर्ता गरेका छैनन् । जाडो सकिन लागेका बेला ढिलो बाँडिएको न्यानो कपडाको राहत नपाउने पनि छन् । सरकारले के नियमले वितरण गरेको हो ? बुझ्न सकिएको छैन ।”

अन्यत्र जस्तै यहाँ पनि दुईवटा घर हुने र ती दुबै घर भत्किएकाले भत्किएको एउटा घरको मात्र राहत पाएका छन् । अंशवण्डा भएर बेग्लै बसेका तर अंशवण्डाको कागज पास नभएका कारण लालपूर्जा नपाउनेहरुले राहत पाएका छैनन् । भूइँचालोले बिनास गरेको क्षेत्रमा यस्ता समस्याहरु थुप्रै देखिएका छन् । सरकारले राम्ररी छानविन गरेर यसको सम्वोधन गरेन भने राहत र पुननिर्माणको कुनै अर्थ रहनेछैन ।

lamjung Earth Quack Victim Story (14)

लमजुङको यो क्षेत्रबाट जनताको प्रतिनिधित्व गर्ने सांसद जमीन्द्रमान तमु र लालबहादुर तमु जनताको हालचाल बुझ्न क्षेत्रमा आइसकेका छन् । उनीहरुले आफ्ना क्षेत्रको जनताका लागि कुनै योजना बनाएको जनताले थाहा पाएका छैनन् ।

दूधपोखरी-५ का अर्जुन गुरुङको घर भूइँचालोको धरापमा परेको छ । उनी अहिले जस्ताको कटेज बनाएर त्यसैमा बसेका छन् । दूधपोखरीका ४ र ५ वडामा ९३ घर क्षतिग्रस्त भएका छन् । सरकारले दुईलाख दिए घर बनाउने विचारमा छन् अर्जुन । आफैं खर्च गरेर घर बनाउने अवस्था छैन उनको । पारि गोर्खा जिल्लाको हंसपुरमा सरकारले घर बनाउनका लागि पहिलो किस्ताको ५० हजार दिन थालेको छ । यता लमजुङमा कहिले दिन्छ, थाहा छैन ।

बिचौरको अवस्था पनि उस्तै छ । तारा पौडेल भन्छिन, राहत भनेको त्यही १० हजार र १५ हजार पाइएको हो । सरकारले थप पैसा दिने भनेको छ । तर कुन आधारले दिने हो, थाहा छैन । सरकारका मान्छे भनेर दुई तीन टोली आएका थिए, केही सरसल्लाह पनि दिए ।

बिचौरको यो वडामा प्रायःजसो सबै घर भत्केका छन् । मानवीय क्षति भएको छैन । मेरो घर पनि गाह्रो बाँगो भएर बसेको छ, पूरा भत्किएको छैन । भत्काउनलाई खेताला लाउनुपर्‍यो । अहिल्यै भत्काइहाले सरकारले पैसो नदिने हो कि ? टिनको छानोमुनि असजिलो गरी बसेका छौं । हावाहुरी आउँदा छाप्रै उडाउलाझैं गरी उचाल्छ । डराई-डराई गर्मी सहेर बसिएको छ । जाडोमा चिसोले धेरै च्याप्यो । साह्रै गाह्रो भयो । आयस्रोत पनि कम छ, आय कम भएपछि बल पनि कम हुँदोरहेछ ।

lamjung Earth Quack Victim Story (11)

पार्वती दवाडीको परिवार गोठमा बसेको छ, घर भत्काउन सकेको छैन, बनाउने त परैको कुरो भो । सरकारले सबैलाई दिए जति राहत रकम पाएकी पार्वती भन्छिन्, घरको भित्तो चर्केको छ, कतिखेर ढल्ने हो थाहा छैन । सरकारले दिन्छ कि त ? आशा राखेका छौं ।

पार्वतीको परिवारमा दुई बुढाबुढी मात्रै छन् । उनीहरु न घर भत्काउन सक्छन्, न बनाउन ।

“सरकारले घर बनाउन दिने भनेको पैसाले घर त होइन, भत्केको पन्छाएर कटेरोसम्म बन्ला । आजको जमानामा दुई लाखले पनि घर बन्छ त ? सरकारले नै आएर बनाइदिए त हो । नत्र कसरी बन्छ ? भूइँचालो पछि खेतालाको दाम बढेको छ । दिनको हजार भन्छन् । तै पनि पाइँदैन” भन्छन, ज्ञानसाली दवाडी । “रोएर घर नबन्ने होइन, हाँसीहाँसी बाँच्नुपरेन त । टिनको छाप्रोमा बसिएको छ, खाना बनाउन र खानसम्म डराई-डराई घर भित्र पसिन्छ । म बूढो भइसकें, सक्तिँन । बिजोग छ । पन्छाउन पनि सकिएको छैन । छोरो सुस्तमनस्थितिको छ ।”

बाबुराम दवाडी गुनासो गर्छन्, भूइँचालो गएको वर्ष दिन हुन लाग्यो, सरकारले दिन्छ भनेर कुर्दा-कुर्दा वषर्ा कट्यो, हिउँद पनि कट्यो । तर, घर बनाउन अनुदान पाउने कहिले हो, थाहा छैन ।

युवराज दवाडी ५८ वर्षका भए । दमको रोगी, अहिलेे सुगर रोग पनि थपियो । उनी चिन्ता गर्छन, घर बनाउन सकेको छैन । रोग मात्रै बढ्यो । मैले त टिन पनि पूरा पाइँन । अघिल्लो दिन बाँड्न आएका थिए, आफूले बोकेर ल्याउन सकिएन । भोलिपल्ट जाँदा उनीहरुले आफ्ना मान्छेलाई दिइसकेछन् ।

lamjung Earth Quack Victim Story (21)

भूइँचालो गएको वर्ष दिन हुन लाग्दा पनि कुनै पनि सरकारले आफ्नो गाउँलाई नहेरेकोमा भोलाप्रसाद दवाडी खिन्न छन् । “वर्ष दिन हुन लाग्दा पनि सरकारका तर्फबाट केही नआउँदा हामी पुर्पुरोमा हात हालेर निराश भएर बाँचेका छौं । लथालिङ्ग पाराले बाँच्ने यसै गरी टारेर जाने हाम्रो नियति रहेछ । सरकार भाषण गर्न सिपालु छ । बोल्छ । तर, पीडितका लागि केही गर्दैन ।

वागीश्वरी उच्च माविका अध्यक्ष रामहरि दवाडी भन्छन, “दूधपोखरी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । हाम्रो यो भेग गोर्खा वारपाकको छायाँमा परेको छ । वारपाकमा जनधनको ठूलो विनास भयो । हामीकहाँ मान्छे जोगिए, भौतिक सम्पत्ति सबै सखाप भयो । हाम्रो यो पीडित क्षेत्रमा सरकार पनि ढीलो आयो । वर्षात त्यत्तिकै बित्यो । खेतीपातीका कामसमेत भएनन् । जाडो गयो । अहिले हावाहुरी र डढेलो शुरु भएको छ । यसपछि वर्षात लाग्दछ । घर बनाउन सकिँदैन । काम गर्ने मजदूर र मिस्त्री पनि छैनन् । सरकारले दिने भनेको नक्सा पनि दिएको छैन । गाउँ विकासका सचिव जति सबै बेंशी शहर बस्छन् ।”lamjung Earth Quack Victim Story (8)

एमालेनिकट दवाडी भन्छन, “सरकार आफ्नै पार्टीको छ । भएर पनि के गर्नु र ? के नमिलेको, के नमिलेको जस्तो छ । आफनो दर्द आफैसँग छ । कसले सुन्नु ? कसलाई सुनाउनु ?”

(झण्डै चार दशकदेखि नेपाली गाउँघरका समाचार लेख्दै आएका बरिष्ठ पत्रकार किशोर नेपालले ग्रामीण पत्रकारितामा विशिष्टता हासिल गरेका छन् । सशस्त्र द्वन्द्वका समयमा सामान्य जनताका आवाजलाई शक्तिको शीर्षस्थानमा स्थापित गर्ने उनको गाउँ केन्द्रित टेलिभिजन कार्यक्रम ‘मत-अभिमत’ नेपाली समाजमा अत्यधिक लोकप्रिय थियो। भुइँचालो पीडित क्षेत्रबाट  पत्रकार किशोर नेपालको ताजा रिपोर्टको यो चाैंथो श्रृंखला हो ।)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment