Comments Add Comment

चितवनमा पत्रकार महासंघको साधारण सभाको तयारी तीव्र

सिसिटिभीबाट निगरानी, सहभागीहरुलाई गाडीको व्यवस्था

FNJ-Chitwan-Building
नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन । तस्वीर: गोविन्द घिमिरे

१२ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सम्पन्न गर्न गठित स्थानीय उपसमितिहरुले तयारीलाई तीब्र पारेका छन् । सबै उपसमितिहरुको बैठक सम्पन्न भइ कार्यविभाजन समेत भइसकेको मूल व्यवस्थापन समितिका संयोजक एवम् नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए ।

केन्द्रीय साधारण सभा सम्पन्न गर्न शाखाले अध्यक्ष पोखरेलको संयोजकत्वमा ६१ सदस्यीय स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा महासंघको कार्यसमिति, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, छिमेकी जिल्लाका शाखा अध्यक्ष र पत्रकारहरु रहेका छन् । साधारण सभामा देशभरका १ हजार ६ सय ५१ पत्रकारहरुको सहभागिता रहनेछ ।

राष्ट्रपतिबाट उदघाटन

महासंघले अध्यक्ष पोखरेलको संयोजकत्वमा स्टेयरिङ र स्वागत सत्कार उपसमिति गठन गरेको छ । यसैगरी सहसचिव सविता श्रेष्ठको संयोजकत्वमा सचिवालय व्यवस्थापन, सदस्य प्रविण दत्तका संयोजकत्वमा भोजन व्यवस्थापन, प्रकाश सिग्देलको संयोजकत्वमा मायाको चिनो, दुर्गाकुमारी रेग्मीको संयोजकत्वमा मसलन्द व्यवस्थापन उपसमिति गठन गरेको छ ।

साधारण सभाको वैशाख २१ गते विहान ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । उदघाटन समारोहमा सरकारका मन्त्री, सांसद, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति र वरिष्ट पत्रकारहरु सहभागि हुनेछन् ।

महासंघका उपाध्यक्ष एवम् आर्थिक समितिका संयोजक दिपेन्द्र बडुवालले साधारण सभामा लाग्ने बजेट अनुसारको श्रोत संकलन भइरहेको जानकारी दिए । कार्यक्रममा अधिक खर्च आवास र भोजन व्यवस्थापनमा हुने भएकाले सोही अनुसार सम्बन्धित क्षेत्रका व्यवसायीसँगको सहकार्यमा काम गरिएको उनले बताए ।

निवर्तमान अध्यक्ष एवम् आवास व्यवस्थापन समितिका संयोजक जनक अर्यालले प्रतिनिधिहरुको आवासका लागि सौराहामा होटल व्यवस्थापन भइसकेको जानकारी दिए ।

महासंघले प्रकाशन गरिरहेको ‘पत्रकारिता चितवन’ बुलेटिनलाई साधारण सभा विशेषका रुपमा प्रकाशन गरिने सम्पादन समितिका संयोजक कृष्ण गिरीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविर

महासंघका कोषाध्यक्ष एवम् स्थानीय समन्वय समितिका संयोजक होमनाथ सापकोटाले स्थानीय संघसंस्थाहरुको सहयोग र समन्वयमा सरसफाइ, स्वागतलगायतका काम गरिने बताए ।

साधारण सभामा सहभागिहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिक उपचारको व्यवस्था गरिएको स्वास्थ्य शिविर व्यवस्थापन समिति संयोजक प्रमिता ढकालले जानकारी दिइन् ।

भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख डा. प्रकाश खतिवडाको नेतृत्वमा रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. कृष्ण पौडेल, चितवन मेडिकल कलेजका मुटु रोग विशेषज्ञ डा. सुधिर रेग्मीले  शिविरमा स्वास्थ्य परीक्षण गर्नेछन् ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले साधारणसभा अवधिभर कार्यक्रम स्थलमा दुईवटा एम्बुलेन्स तयारीअवस्थामा राखिने जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले उपचार सामग्री र आवश्यक औषधिको व्यवस्थापन गर्नेछ ।

चितवनको कला, सँस्कृति र चिनारी झल्कने गरी साँस्कृतिक कार्यक्रम र मञ्च सजावटको काम गरिने मञ्च व्यवस्थापन एवम् साँस्कृतिक कार्यक्रम व्यवस्थापन संयोजक अनिल ढकालले बताए ।

गाडीको विशेष व्यवस्था, सिसिटिभीबाट निगरानी

जिल्ला ट्राफिक कार्यालय र यातायात व्यवसायीहरुको सहकार्यमा सहभागिहरुको यातायातका साधन व्यवस्थापन गरिने यातायात/पार्किङको व्यवस्था गरिएको संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।

कार्यक्रमस्थलदेखि आवासस्थलसम्म प्रतिनिधि र अतिथिहरुलाई नियमित यातायातको व्यवस्था गरिएको छ ।

सञ्चार प्रविधि उपसमिति संयोजक शान्ता अधिकारीले उदघाटन समारोहको स्थानीय सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रसारण गर्ने र कार्यक्रमस्थलमा तीब्र गतिको इन्टरनेटको व्यवस्था गरिएको जानकारी दिइन् । पत्रकारहरुलाई समाचार सम्प्रेषणका लागि छुट्टै मिडिया सेन्टर तयार पारिने अधिकारीले जानकारी दिइन् । साथै सुरक्षाका लागि सबै क्षेत्रमा सीसीटिभी राखिनेछ ।

स्वयमसेवक परिचालन समितिका संयोजक रामकान्त पौडेलले प्रतिनिधि, अतिथिको सुरक्षा र आवश्यक सहयोगका लागि ठाउँ-ठाउँमा स्वयमसेवक परिचालन गरिने बताए । जिल्लास्थित सुरक्षा निकायको समन्वय र सहयोगमा उदघाटनस्थल, आवास र त्यस वरपरका क्षेत्र सुरक्षित बनाइनेछ ।

१० प्रादेशिक संरचनाको प्रस्ताव

साधारणसभा विधानसभा पनि हुने भएकाले साधारणसभामा महासंघलाई संघीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी संगठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने कार्यक्रम छ ।

नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको संगठन संरचना प्रस्ताव गरिनेछ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासंघले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठिान एक गरी १० पुर्‍याइँदै छ ।

हाल महासंघका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा छन् । देशभरका पत्रकारको संख्या १० हजारभन्दा माथि छ ।

साधारण सभालाई सफल पार्न पत्रकार महासंघ चितवनले विभिन्न क्षेत्रसँग राय सुझाव लिँदै काम गरिरहेको छ । चितवनका विभिन्न राजनीतिक दल, स्थानीय निकाय, संघ संस्था, उद्योगी व्यवसायी र सरोकारवालाहरुले साधारण सभा सफलताका लागि महासंघसँग भएको भेटमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

केन्द्रीय साधारण सभाले चितवनको समृद्धि, उन्नतीमा समेत विशेष भूमिका निर्वाह गर्ने भएकाले यसलाई सफल बनाउन लागिपर्ने राजनीतिक दलहरुका स्थानीय नेताहरुको प्रतिबद्धता छ । यसैगरी चितवनका स्थानिय निकायहरुले पनि साधारणसभा सम्पन्न गर्न आवश्यक सबै प्रकारका सहयोग गर्ने बचन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment