१६ वैशाख, काठमाडौं । नुवाकोटको काउलेमा विशाक्त खानाका कारण एकजनाको मृत्यु भएको छ । झण्डै पचास जना बिरामी परेका छन् । यसैगरी चितवनको कविलासमा विशाक्त खानाकै कारण १२ बालबालिकासहित ३२ जना बिरामी परेका छन् ।

नुवाकोटको काउले-६ माझगाँउमा शान्तबहादुर तामाङको घरमा भोज खाएकाहरु विरामी परेका हुन् । विषाक्त खानाका कारण झाडापखाला लागेर स्थानीय २८ वर्षीय मेघबहादुर तामाङको मृत्यु भएको नुवाकोटका प्रहरी उपरिक्षक देव बहादुर बोहराले जानकारी दिए ।
झाडा पखालाबाट १९ पुरुष र ३० महिला विरामी परेका उनले बताए । विरामी परेकाहरुको सदरमुकाम विदुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
चितवनमा ३२ जना विरामी
यसैगरी चितवनको कविलास गाविस-९ कुसुमटारमा बिहेको भोज खाँदा ३२ जना बिरामी भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
पुष्पा तामाङ र सुरज तामाङको बिहेको भोज सोमबार खाएकाहरुमा मंगलबारदेखि झाडापखाला लाग्ने, ज्वरो आउने, वान्ता हुने लगायतका समस्या देखिएको थियो । बिरामी भएकाहरुमध्ये १२ जना बालबालिका छन् ।
भरतपुर अस्पतालको आकस्मिक कक्षका इन्चार्ज बिष्णु सापकोटाले उनीहरुमा ‘फुड पोइजन’ भएको प्रारम्भिक परीक्षणबाट देखिएको बताए ।
अस्पतालले विरामीहरुको उपचार निःशुल्क गरिदिएको अस्पतालको सामाजिक शाखा प्रमुख नारायण सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया 4