Comments Add Comment

पुस्तक अभावबारे नबोल्न जनक शिक्षाको निर्देशन !

शैक्षिक सत्र सुरु भैसके पनि पुस्तक पाइएन, पढाइमा समस्या

१६ वैशाख, नवलपरासी । नयाँ शैक्षिक सत्र सुरु भए पनि नवलपरासीमा पाठ्यपुस्तक अभाव छ । तर, अभिभावक र पत्रकारहरुले अभावबारे स्थानीय बिक्री केन्द्रमा बुझ्दा केन्द्रबाट नबोल्ने निर्देशन आएको भन्दै कर्मचारीहरु पन्छिने गरेका छन् ।

Janak-Shikshyaपुस्तक व्यवसायी महासंघ नवलपरासीका अध्यक्ष देवलाल काफ्लेका अनुसार नवलपरासीमा कक्षा ६ र ७ का अहिले कुनै पनि पुस्तक उपलब्ध छैनन् । कक्षा ९ र १० को ऐच्छिक विषय अर्थशास्त्र र लेखाको पुस्तक पनि पाइएको छैन ।

कावासोतीको प्रकृति पुस्तक पसलका सञ्चालक गीता पराजुलीका अनुसार पाठयपुस्तक लिन नवलपरासीको पहाडी क्षेत्र र कावासोती लगायतका क्षेत्रबाट दिनहुँ विद्यार्थी तथा अभिभावकहरु आउने गरेपनि पुस्तक छैन भन्दै फर्काउनु परेको छ ।

पढाइमा समस्या

नवलपरासीमा सामुदायिक र निजी गरी ७ सय बढी विद्यालयहरु छन् । तर, पुस्तक अभाव हुँदा पढाउन समस्या भएको स्थानीय शिक्षकहरु बताउँछन् ।

सरस्वती साधारण उच्च मावि गिरुवारीका शिक्षक नरनाथ सिग्देलले कक्षा सञ्चालन भएको करिब दुई साता वित्नलाग्दा समेत पुस्तक नआउँदा पठनपाठनमा समस्या भएको बताए ।

त्यसैगरी जीवन ज्योति उच्च माविका निमित्त प्रधानाध्यापक सुमित्रा लम्सालले कक्षा सातको कम्प्युटर, कक्षा ९ को अर्थशास्त्र लगायतका पुस्तकहरु अभाव भएको जानकारी दिइन् ।

लम्सालले भनिन्, ‘शिक्षा मन्त्रालयले १५ गतेभित्र शिक्षा उपत्यका बाहिर पुस्तक पठाइसक्ने निर्देशन दिए पनि पुस्तक आएको छैन जसले गर्दा पठनपाठनमा समस्या भएको छ ।’

‘निजीलाई छाप्न नदिँदा अभाव’

सरकारले बैशाख ३ गतेभित्र सबै पुस्तक सबै ठाउँमा पुर्‍याइसक्नु पर्ने भन्दै निर्देशन दिएको भए पनि जनक शिक्षा सामाग्री केन्द्रले भने ढिलो गरेको छ ।

जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक जतिपनि छ भन्दै बिक्री ढिलो खोलेको कारण र पुनः प्रकाशनमा समयमै नगर्दा समस्या भएको पुस्तक व्यवसायीहरु बताउँछन् ।

नवलपरासीको पहाडी क्षेत्रमा मात्र नभई सडक क्षेत्र र सहरी क्षेत्रमा समेत पाठ्यपुस्तक अभाव भएको पुस्तक व्यवसायी महासंघ नवलपरासीका सचिव रविन्द्र न्यौपानेले बताए ।

न्यौपानेले गत बर्ष प्राइभेट छापाखानालाई पनि पुस्तक छाप्न दिएको कारण पुस्तक पाउन समस्या नभए पनि यस बर्ष जनक शिक्षा सामग्री केन्द्रले मात्रै पुस्तक छाप्दा पुस्तक पाउन समस्या भएको दाबी गरे ।

अभावबारे नबोल्न केन्द्रको निर्देशन

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बिक्री केन्द्रका कर्मचारीहरुलाई पुस्तक अभावबारे पत्रकारहरुसँग कुरा नगर्न निर्देशन दिएको छ ।

चितवन भरतपुरस्थित बिक्री केन्द्रका मोहनकृष्ण श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मलाई यस विषयमा नबोल्नु भनेको छ केन्द्रमै बुझ्नुस् ।’ उनले यसबारे थप प्रतिक्रिया दिन मानेनन् ।

सरकारले पुस्तकको मूल्य घटाएको छ । यसअघि पुस्तक खरिद गरिसकेकाहरुले बिल पेश गरेमा बढी मूल्य फिर्ता पाउने छन् । तर कतिपय पुस्तक पसलहरुले घटेको शुल्क फिर्ता गर्न नमानेको स्थानीय अभिभावकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment