
१६ वैशाख, काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।
हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुन् ।
२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ ।
को हुन् श्रेष्ठ ?
सत्यनारायण बहादुर श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनैको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्न गरिएको छ ।
उनको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।
यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।
महासंघलाई ज्ञापनपत्र
नेवाः पत्रकार राष्ट्रिय दबूले सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक घोषणा गर्नुपर्नेलगायतका मागसहितको ज्ञापनपत्र बिहीबार नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई बुझाएको छ ।
ज्ञापनपत्रमा धर्मादित्य धर्माचार्य -जगतमान वैद्य)लाई मातृभाषाको पहिलो पत्रकारको रुपमा घोषणा गर्न पनि माग गरिएको छ । वैद्यले ९० वर्ष अघि नेपाल भाषामा पत्रकारिता गरेका थिए ।
नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ज्ञापन पत्र बुझाउँदै माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका थिए ।
सञ्चारमाध्यमलाई समावेशी बनाउन माग
ज्ञापनपत्रमा सञ्चारमाध्यमलाई समावेशी बनाउन, पत्रकार महासंघको सदस्यता वितरणलाई सहज बनाउन लगायतका माग समेत गरिएको छ ।
अध्यक्ष विष्टले ज्ञापनपत्रमा उल्लेखित मागप्रति समर्थन जनाउँदै पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको संरचना समावेशी बनाउन थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको दबूले जनाएको छ ।
प्रतिक्रिया 4