News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पत्रकार महासंघले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा भएको सञ्चार माध्यमहरूको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ।
- महासंघले १९ सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको र ३८ सञ्चारकर्मीको व्यक्तिगत सम्पत्ति नष्ट भएको जनाएको छ।
- सरकारले क्षतिग्रस्त सञ्चारकर्मीलाई राहत दिन सकारात्मक रहेको र महासंघले विशेष राहत प्याकेजको माग गरेको छ।
२ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ ।
महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले क्षति पुगेका सञ्चारसंस्था र पत्रकारहरुलाई बिशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।
सो क्रममा मन्त्री खरेलले क्षति पुगेका सञ्चार संस्थाहरू र निजी सवारी जलेका पत्रकारहरूलाई राहत दिनेबारे सरकार सकारात्मक रहेको बताए ।
महासंघ प्रतिनिधिमण्डल संगको भेटमा सचिव अर्यालले सञ्चार क्षेत्रमा परेको समस्यामा सरकार र मन्त्रालय गम्भीर रहेको बताइन् ।
महासंघले संकलन गरेको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख छ ।
यो क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पुर्याएको महासंघको निष्कर्ष छ ।
क्षति पुगेका सञ्चारसंस्थाहरूले नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको तथ्यांक अनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको जनाएको छ ।

जसबाट १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
‘घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन् । तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको अवस्था छ, जुन अत्यन्तै दु:खद र गम्भीर विषय हो,’ महासंघले भनेको छ ।
‘कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्य तिरेर पनि पुन: प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ,’ महासंघका सचिव रमेश खतिवडाद्वारा जारी विज्ञप्तिमा छ ।
हालसम्म संकलिन विवरण अनुसार सञ्चार संस्थाहरू र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको उनले बताए ।
‘यस परिस्थितिमा, क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधन पुन: खरिदका लागि राहत उपलब्ध गराउन, सरकारले आवश्यक सहजीकरण गर्दै क्षतिपूर्ति प्रदान गर्न, साथै क्षति पुगेका सञ्चार माध्यम तथा निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा सञ्चारसम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ नेपाल सरकार संग जोडदार माग गर्दछ । घाईते पत्रकारका लागि बिशेष राहत ल्याउन माग गर्दछ,’ विज्ञप्तिमा छ ।
प्रतिक्रिया 4