+
+
Shares

जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारले नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने

स्वदेशमा काम गर्न सिपमूलक तालिम प्रदान गरिने

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा घाइते भएका र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा जान राज्यले सहजीकरण गर्ने भएको हो ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ पुष २ गते १७:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाएको छ।
  • श्रम मन्त्रालयले घाइते र मृतकका परिवारलाई आन्तरिक रोजगारीका लागि सिपमूलक तालिम प्रदान गर्ने गृहकार्य अघि बढाएको छ।
  • मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जान चाहनेलाई नि:शुल्क पठाउन र आन्तरिक रोजगारीमा जोड्न निर्देशन दिएका छन्।

२ पुस, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान चाहने जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई नि:शुल्क पठाउने भएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा घाइते भएका र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा जान राज्यले सहजीकरण गर्ने भएको हो ।

त्यस्तै स्वदेशमा काम गर्न चाहनेका हकमा सिपमूलक तालिम प्रदान गरिने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घाइते तथा मृतकका परिवारलाई आन्तरिक रोजगारीमा जोड्न आवश्यक पर्ने सिपमूलक तालिम प्रदान गर्न लागेको हो ।

मन्त्रालयले व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान मार्फत उनीहरूलाई सिपमूलक तालिम प्रदान गर्न लागेको हो । कोही वैदेशिक रोजगारीमा जान चाहनेको हकमा म्यानपावर व्यवसायीसँगको समन्वयमा नि:शुल्क पठाउने व्यवस्था मिलाउन लागिएको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई आन्तरिक रोजगारीका लागि आवश्यक पर्ने सिपमूलक तालिम दिइने बताए । त्यसका लागि मन्त्रालयले आन्तरिक गृहकार्य अघि बढाएको उनको भनाइ छ ।

नवनियुक्त श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले उनीहरूलाई आन्तरिक रोजगारीमा जोड्न आवश्यक पर्ने सिपमूलक तालिम दिने गरी काम अघि बढाउन निर्देशन दिएका दिए ।

त्यस्तै वैदेशिक रोजगारीमा जान चाहनेलाई नि:शुल्क जाने व्यवस्था मिलाउन समेत निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन अनुसार मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाएको हो ।

मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष भुवन गुरुङ लगायत पदाधिकारीसँग समेत छलफल गरेका थिए । छलफलमा वैदेशिक रोजगारीमा जान चाहनेलाई नि:शुल्क पठाउन समन्वयन गर्न अनुरोध गरेका थिए ।

सिपमूलक तालिम लिएकालाई स्वदेशमै काम गर्न खोजे सोही अनुसार गरिने र वैदेशिक रोजगारीमा जान चाहेको खण्डमा संघसँगको समन्वयमा अघि बढ्ने गरी छलफल भएको थियो ।

छलफल क्रममा नि:शुल्क वैदेशिक रोजगारीमा पठाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता संघले व्यक्त गरेको थियो ।

मन्त्रालयले यसका लागि जेनजी रोजगार सहजीकरण संयन्त्र निर्माण गर्ने भएको छ । प्रवक्ता घिमिरेले उक्त संयन्त्रले घाइते तथा मृतकका परिवारका सदस्यलाई मर्यादित र सुरक्षित आन्तरिक र वाह्य रोजगारी अवसर सुनिश्चत गरिने बताए ।

‘जेनजी आन्दोलनका घाइतेका परिवार र मृतकका परिवारलाई आन्तरिक रोजगारीका लागि आवश्यक पर्ने सिपमूलक तालिम दिने र त्यसलाई कसरी रोजगारीसँग, आन्तरिक रोजगारीसँग जोड्ने भन्नेमा मन्त्रालयले वर्कआउट सुरु गरेको छ, मन्त्रीज्यूको निर्देशन अनुसार सुरु गरिएको हो,’ प्रवक्ता घिमिरेले भने ।

तालिम लिएकामध्ये कोही वैदेशिक रोजगारीमा जान चाहे संघ लगायत संस्थासँग समन्वय गरेर नि:शुल्क पठाइने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा वैदेशिक रोजगार बोर्डको सचिवालय मार्फत तालिम दिने गरिएको छ । साथै, विभिन्न संघसंस्था मार्फत समेत तालिम प्रदान गर्ने गरिएको छ ।

प्रतिष्ठान, सीटीईभीटी लगायत सरकारी निकायबाट आन्तरिक रोजगारीका लागि सिपमूलक तालिम प्रदान गर्दै आएका छन् ।

घाइतेका परिवार र मृतकका परिवारसँगको समन्वय, छलफल र परामर्शमा उनीहरूलाई आवश्यक पर्ने तालिम प्रदान गरिने प्रवक्ता घिमिरेले बताए ।

‘बजारमा बिक्री हुने खालको तालिम दिइसकेपछि, आन्तरिक रोजगारीका लागि पनि पहल गर्ने र वाह्यतर्फ वैदेशिक रोजगार व्यवसायी संघ लगायतसँग समन्वय गरेर इथिकल रिक्रुटमेन्ट मार्फत नि:शुल्क पठाउने भन्ने छ,’ घिमिरेले भन, ‘मन्त्रालयमा आन्तरिक सहजीकरण सेल बनाउन गृहकार्य पनि भइरहेको छ ।’

जेनजी आन्दोलन क्रममा करिब २ हजार ५ सय घाइते भएका थिए भने ७६ जनाको मृत्यु भएको थियो । सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलन मान्यता दिएको थियो । सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको थियो ।

सहमति अनुसार सहिद परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथोचित सम्बोधन गर्न सम्बन्धित सहिद परिवार र घाइतेसँगको परामर्श तथा समन्वयमा तत्काल एक उच्चस्तरीय कार्यदल गठन गरी अन्तरिम राहत, क्षतिपूर्ति, नि:शुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, नि:शुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षा एवं अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेसन) समेतको परिपूरणीय व्यवस्था सुनिश्चित गरिने सहमति भएको थियो ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?