Comments Add Comment

आइसीसीको प्रतिबन्धले चकित छु

'भारत छिमेकमा क्रिकेटको विकास चाहँदैन'

Binaya Raj Pandey5

नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद -आइसीसी) ले क्रिकेट संघलाई प्रतिवन्ध गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

अनलाइखबरसँग कुरा गर्दै उनले विवाद उत्पन्न भएको छोटो अवधिमै आइसीसीले यति कडा कदम चालेको नजीर अन्यत्र नभएको बताए । पाण्डेसँग अनलाइनखबरका कुशल तिमल्सिनाले गरेको कुराकानीः

लामो समयपछि तपाईं नेपाल र नामिबियाको खेलका क्रममा कीर्तिपुर जानुभएको थियो । के फरक पाउनुभो पहिले र अहिलेको अवस्थामा ?

हो । म चार बर्षपछि कीर्तिपुर पुगेको थिएँ । सुरुमा त्यो मैदान जी टिभीले बनाइदियो । बीचमा केही भएन । किनकि हामीसँगै पैसा थिएन ।

सरकारी बजेट आउन थालेपछि खेलकुद परिषदले सक्रियता देखाएर इण्डोर प्रशिक्षण हल बनेको छ । अरु केही संरचनाहरु पनि बनेका रहेछन् । तर, त्यो पूर्ण भएको छैन जस्तो लाग्छ मलाई । किनभने आधुनिक रंगशालाको सोचबाट ती संरचना बनेका छैनन् । पर्खालबाहेक अन्य संरचनाहरु बजेट सिध्याउने क्रममा निर्माण भएको जस्तो देखिन्छ । यद्यपि नेपाल सरकारले चासो दिएर गरेको यो काम नराम्रो भने होइन । यस्तो विकासमा मलाई खुसी नै लागेको छ ।

आफू कुर्सीमा बस्दा पूर्वाधार निर्माणमा केही गर्न नसकेकोमा पछुतो लाग्दैन ?

क्रिकेटमा जति पनि पूर्वाधार निर्माण भएको छ, सबै क्यान एक्लैले गरेको हो । टीयु मैदान, इञ्जिनियरिङ तथा सेन्टजेभियर्सको मैदानका साथै बीरगञ्ज तथा भैरहवामा मैदान बनाउँदा सबै क्यानले नै गरेको हो ।

त्यसमा आइसीसी र एसीसीको सहयोग त अवश्य नै थियो । तर, त्यतिबेला डिभिजन फाइवमा रहेको हामीलाई आइसीसीबाट पनि कति नै पैसा आउँथ्यो र ? त्यस्तै ५०/६० हजार डलर आउँथ्यो । त्यसले सबै गर्नुपर्थ्यो ।  पहिलोपटक सरकारले पूर्वाधार निर्माणको  लागि पैसा दिएको भनेको २००९ मा हो । जतिबेला  सोल्टी सुपर सिक्स प्रतियोगिताको आयोजना हुँदा मन्त्री, मूख्य सचिव लगायत कीर्तिपुर जानुभएको थियो । त्यतिबेला उहाँहरुसँग कुराकानी भएपछि सरकारले क्रिकेट बिकासका लागि बजेट छुट्याउन थालेको हो ।

सन् २००५ मा म अध्यक्ष भएर आउँदा संघको मात्र १० लाख मौज्दात थियो । प्रायोजन वाइवाइको थियो । त्यसले बर्षमा ३ लाख आउँथ्यो । ३ लाखले बर्षभरी प्रतियोगिता गर्ने कि खेलाडीलाई तलव खुवाउने कि के गर्ने ?

मैले के सोधिरहेको थिएँ भने तपाईं चार बर्षपछि मैदानमा पुग्दा के के परिवर्तनहरु पाउनुभयो ? तपाईंले मुलपानी मैदानबारे के भन्दै हुनुहुन्थ्यो नि ?

हो, मूलपानी मैदान २०११ मै तयार हुनुपर्ने थियो । त्यतिबेला मैदान बनाउन पाकिस्तानी क्यूरेटर आएर विकेट तयार गरिसकेका थिए । त्यसपछि मौषम सुरुभएपछि चार महिनापछि आउने गरी उनी फर्किए । त्यसपछि म क्रिकेटबाट बाहिरिएँ । पछि त्यो योजना त्यत्तिकै रहृयो । पाकिस्तानले आफ्नै खर्चमा कराँचीका अनुभवी क्यूरेटरले विकेट बनाएका थिए । तर, अहिले त त्यो सबै बिग्रिसकेको छ ।

पहिले बिल्डिङ बनायो, मैदानलाई त्यसै फाल्दियो भन्ने मलाई आरोप लागेको छ । तर त्यस्तो होइन । मेरो कार्यकालमा मैले सकेकोजति गरेको हो ।

म पछि पनि मूलपानीको निर्माणका लागि धेरै रकम खर्चिएको भन्ने सुनेको छु । तर, त्यहाँ पहिलेजस्तो पनि तयार भएको छैन । २ करोड खर्चिएर पनि केही नहुनु दुर्भाग्य हो ।

जुन नेपाल र नामिवियाको खेल तपाईंले हेर्नुभो, समर्थकको उत्साह हेर्नुभो, नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रतिस्पर्धा हुँदैथियो । व्यक्तिगत रुपमा कसरी मूल्याङ्कन गर्नुभो ?

हेर्नुस, त्यो नेपालमा खेलिएको सबैभन्दा ठूलो प्रतियोगिता होइन । हाम्रो निम्ति सबैभन्दा ठूलो प्रतियोगिता भनेको डिभिजन फाइव हो । जसमा ८ वटा मुलुकका टोलीहरुको प्रतिस्पर्धा थियो । लेभलको हिसावले तपाईंले भन्नुभएको ठीकै हो ।

हामीले यस्ता प्रतियोगिता गरिरहेका थियौं । मेरो कार्यकालमा वाषिर्क १/२ अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेकै हुन्थ्यो । समर्थकको क्रेज त पहिलेदेखि नै नेपालमा धेरै नै हो । नामिवियासँग खेलेको पनि यो तेस्रो पटक हो । नेपालले रााम्रो खेल्यो । नेपाली टोली परिपक्व देखियो । विशेष गरी शरद, पारस र विनोदको इनिङ अनुभवी देखिन्थ्यो ।

कीर्तिपुरको खेल,  समर्थकको क्रेज तथा क्रिकेटको माहौलमा तपाईंले क्रिकेटका सुरुवाती दिनहरु सम्झनुभएन ?

सुरुदेखि नै क्रिकेटमा फ्यान र मिडियाको सपोर्ट थियो । मैले भन्ने गरेको छु कि नेपालको क्रिकेट यति माथि आउनुमा फ्यान र मिडियाकै ठूलो हात छ ।  हामीले सुरुसुरुमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा पनि १०/१५ हजार मानिस मैदानमा आउँथे । हामीले १९९८ मा एसीसी ट्रफी गरेका थियौं । बंगलादेश लगायतका टोलीहरु यहाँ आएका थिए । त्यतिबेलादेखि नै समर्थकको सपोर्ट राम्रो थियो ।

जब हामीले बंगलादेशमा २०१४ टी-ट्वान्टी विश्वकप खेल्यौं, त्यसपछि नेपालको क्रिकेट अर्कै लेभलमा पुग्यो । त्यसले सबै नेपालीलाई एकताको शुत्रमा बाँध्ने काम गरेको थियो । प्राइभेट सेक्टरदेखि लिएर सबैलाई क्रिकेटमा आकर्षण भयो । किनभने एकातिर फुटबलले राम्रो गर्न सकिरहेको थिएन, अर्कोतिर क्रिकेटले एकपछि अर्को राम्रो प्रदर्शन गरिरहेको थियो ।

तर, दुर्भाग्यवस नेपाल क्रिकेट संघको नेतृत्वले त्यो उत्साहलाई आफुअनुकुल प्रयोग गर्न सकेन । संघका मानिसहरु आफू-आफू झगडा गरेर बस्न थाले ।

Binaya Raj Pandey4भनेपछि, राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्भावना बोकेको खेल भएकाले र्‍याल चुहाउनेहरु धेरै भए ?

यस्तो त जहाँ पनि हुन्छ । मुख्य कुरा सरकार, खेलकुद परिषद र क्यान, यी तीन निकायले लोभ गर्नुभएन । तीनमध्ये कुनैले पनि र्‍याल चुहाउन थाल्यो भने त्यो बिनासको संकेत हो भन्ने बुझ्नुपर्छ । नेपाली क्रिकेटमा भएको पनि त्यही हो ।

हामीले २०१४ मा विश्वकप खेल्यौं, तर एकदिवसीयमा छनौट हुन सकेनौं । पछि ट्वान्टी-ट्वान्टी स्टाटस पनि गुमायौं । हामी क्रमशः पछाडि धकेलिन थाल्यौं । यसमा खेलाडीहरु मात्र दोषी होइन । यस्तो हुनुमा व्यवस्थापनको दोष पनि छ । किनभने यसले योजनाहरु ल्याउन सकेन, खेलाडीहरुलाई सन्तुष्ट बनाउन सकेन ।

बास्तवमा यस्तो सफलतापछि क्यान झन् चुस्त र झन् प्रभावकारी हुनुपर्ने हो । क्रिकेट क्रेजलाई क्यास गर्नुपर्ने ठाउँमा त्यसैमा अल्मलिएर कता पुग्यो कता । विश्वकप खेलेर आएलगत्तै खेलाडीले आन्दोलन गरे, त्यही बर्षको अन्तिममा आइसीसीले क्यानको खाता रोकिदियो । योबीचमा आइसीसीसँग कुनै सम्पर्कको प्रयास गरिएन ।

आजको दिनसम्म पनि नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाउनुको कारण सार्वजनिक भएको छैन । दुवै पक्षले म राम्रो र अर्को चाहिँ चोर हो भन्नेजस्ता अभिव्यक्ति दिइरहेका छन् । प्रतिबन्ध लागिसकेपछि कसरी फुकुवा गर्नेतर्फ पो सोच्न थाल्नुपर्छ त । राम्ररी छानविन गरे त कारण पत्ता लागिहाल्छ नि

आइसीसीले सबै घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ । जस्तो एक वर्षअघिको युरोप टुरमा चारजना म्याजेनर घुम्न गए । तपाईंले सुन्नुभाको छ, एउटा टोलीको चारजना म्यानेजर ? क्रिकेटको टिम लिडर भनेको अहिलेसम्म सुन्नुभएको छ ? त्यो सबै आइसीसीले अध्ययन गरिरहेको थियो । आखिर उनीहरु म्यानेजर भएर गएको त आइसीसीकै पैसामा हो नि ।

हामीलाई यो बताइदिनुस् कि क्यान र आइसीसीबीचको सम्बन्ध सुरुदेखि नै कस्तो थियो र अहिले कस्तो छ ?

हाम्रो पालामा त एकदमै राम्रो  थियो । मेरो कार्यकालमा आइसीसीले क्यानविरुद्ध एउटा घटनाबाहेक अन्य कुनै कदम चालेको छैन । २०१० को डिभिजन फाइवमा समर्थकले ढुंगामुढा गरेपछि आइसीसीले नेपालमा खेल नगराउन बाध्य भएको थियो । त्यो समस्याको समाधान पनि मैले नै चाँडै गरेँ ।

नेपालले आइसीसीको एशोसियट सदस्यता पाउने समयमा आइसीसीको सबै सर्त पूरा भएका थिए ?

१९८५ ताकासम्म सोझै एशोसियट बन्न सकिन्थ्यो । खाली एउटा प्रस्ताव लानुपर्थ्यो । तर, हामीले पहिलोपटक १९९० मा दुबई गएर नेपाली क्रिकेटलाई एसीसीको पूर्णकालीन सदस्य (एफिलियट) बनायौं । त्यतिबेला क्रिकेट भर्खरै विश्वव्यापी हुँदै थियो ।

हामी एसीसीबाट एफिलिएट भए पनि आइसीसीबाट एसोसियट भएका थिएनौं । त्यसको केहि समयपछि आइसीसीका प्रतिनिधिले नेपाल भ्रमण गरे । नेपाललाई एशोसियट बनाउन पूर्वाधार नदेखेपछि त्यसपटक इटालीले एशोसियटको मान्यता पाएको हो ।

त्यसको अर्को वर्ष एशोसियटको लागि आवश्यक पूर्वाधारका बारेमा आइसीसीबाट हामीले बुझ्यौं । त्यतिबेला हामीसँग केही थिएन । टुँडिखेलमा क्रिकेट खेलिन्थ्यो । क्रिकेट भनेकै काठमाडौंमा मात्र थियो । यद्यपि बीरगञ्ज, भैरहवा र बिराटनगरमा पनि खेलिन्थ्यो । तर स्थानीयहरुले समय बिताउने गरी मात्र ।

त्यसपछि आइसीसीको आँखामा छारो हाल्न हामीले एउटा जुक्ति लगायौं । उपेन्द्र भट्टराईले एउटा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुहुन्थ्यो, उहाँका स्वर्गीय पिताका नाममा । त्यो प्रतियोगिता टुँडिखेलमा हुन्थ्यो । तर, आइसीसीको प्रतिनिधि बोलाएर त्यसको फाइनल हामीले दशरथ रंगशालामा गर्ने योजना बनायौं, खेलकुद परिषदसँग स्वीकृति लिएर । फुटबल मैदानलाई क्रिकेट मैदान बनाउन खोज्यो भनेर केहीले बिरोध पनि गरे । तर फुटबल मैदानमा क्रिकेट खेल्दा मैदान बिग्रिरँदैन भनेर सबैलाई आस्वास्त पारेँ ।

१९९५ मा भएको त्यस प्रतियोगिताको फाइनल दशरथ रंगशालामा आइसीसीका प्रतिनिधि बोलाएर गराइयो । हामीले यही मैदानमा अन्तर्राष्ट्रिय खेल खेलाउछौं भनेर उनीहरुलाई भनेँ  । ५/७ सयको सङ्ख्यामा समर्थकहरु पनि फाइनल हेर्न पुगेका थिए । उनीहरु त्यो देखेर खुसी भए र त्यसको अर्को बर्ष नेपालले आइसीसीबाट एशोसियट मुलुकको मान्यता पायो ।

हामीसँग पैसा थिएन । हामीले एउटा कार्यलयसम्म राख्न सकेका थिएनौं । तीस बर्षसम्म क्यानको कार्यालय मैरै कार्यालयमा थियो । सन् २००० मा जी टीभीको कार्यालयको एउटा कोठामा क्यान चल्न थाल्यो । २००२ देखि मात्र हामीले कमलादीमा आफ्नै कार्यालय खोलेका हौं ।

Binaya Raj Pandey6फाइनान्सियल रिपोर्ट अडिट हुनुपर्ने तथा पूर्णकालिन सिइओ नियुक्ति गर्नुपर्ने पनि आइसीसीको शर्तभित्र पर्ला नि होइन ?

होईन, त्यो पछिको कुरा हो । कुनै पनि टोली जब डिभिजन २ मा पुग्छ, त्यसपछि मात्र उनीहरुको नियमअनुसार सीइयो नियुक्त गर्नुपर्ने, फाइनान्स म्यानेजर राख्नुपर्ने हुन्छ । त्यो भन्दा तलतिरको डिभिजनमा रहेका मुलुकमा एउटा आधिकारिक कार्यालय मात्र भए पुग्छ ।

यो शर्तहरु पनि ८/९ बर्षअघिमात्र आएका हुन् । अहिले पनि धेरैजसो एशोसियट मुलुकमा कार्यालय नै छैन । अध्यक्षको घरमा कार्यालय चलिरहेको छ । किनभने तल्लो डिभिजनमा आइसीसीको फन्ड कम आउँछ । पैसा आउने भनेको छ डिभिजन २, १ मा आएपछि हो नि त । मैले मेरो कार्याकालमा त्यही भन्ने गर्थेँ । हामी भर्खर डिभिजनमा आएका थियौं । आउनेवित्तिकै सुविधा खोजेर पाइँदैन । सुविधाका लागि हामी कम्तिमा डिभिजन थ्रीमा पुग्नुपर्थ्यो । माथिल्लो डिभिजनमा पुगेपछि आइसीसीले कार्यालय चलाउन, खेलाडीलाई दिन तथा क्रिकेट बिकास गर्न भनेर पैसा  वितरण गरेको हुन्छ ।

मेरो कार्यकालमा नेपाल डिभिजन फाइवमै थियो । त्यतिबेला आधिकारिक कार्यालय भएमात्र पुग्थ्यो । त्यसैले हामीले सीइओ तथा फाइनान्स म्यानेजर राखेर खर्च बढाउने जोखिम लिएनौं । सीइओ राख्नैपर्ने बाध्यता भएको त तीन बर्षअघि देखि मात्र हो ।

तपाईहरुको पालामा नेपालको स्टाटस कस्तो थियो ?

हाम्रो समयमा नेपाल आइसीसीको उत्कृष्ट तीन एशोसियट मुलुकमा पर्थ्यो । एसीसीकोमा त जहिल्यै पहिलो नै हो हामी । आइसीसीको बैठकमा हामीलाई उत्कृष्ट भनेर बधाइ दिइन्थ्यो । अरु एशोसियट मुलुकहरुलाई पनि आइसीसीले नेपालबाट केही सिक्न सुझाव दिन्थ्यो । त्यसको एक बर्षपछि जब हामी क्यानबाट बाहिर रहृयौंं, क्यानको निर्वाचित कमिटिले हिसावकिताव दुरुस्त नराखेकोमा ८० हजार डलर क्षतिपूर्ति तिरायो ।

अहिलेको समस्या चार बर्षदेखिको कमजोरीको निरन्तरताका कारण उत्पन्न भएको हो । जब आइसीसीले जरिवाना लगायो, त्यतिबेलै गलत भयो भनेर सुधारतर्फ ध्यान जानुपर्थ्यो । तर त्यतिबेला ५ लाखमा जाबो ८० हजार काटेको त हो नि भनेर हल्का रुपमा लिइयो । समस्याको सुरुवात त्यहीँबाट भयो ।

क्रिकेट संघ गठन भएको त ६० बर्षभन्दा बढी भइसक्यो । १९६५ पछि तपाईं नै जिम्मेबार तहमा हुनुहुन्छ । तर, यति लामो अवधिमा तपाईले किन निर्वाचन नगर्नुभएको ?

एक व्यक्तिले पत्रकार सम्मेलन गरेर ४० बर्षसम्म निर्वाचन नगराएको अरोप मलाई लगायो । मिडियादेखि समर्थकसम्म हुँदाहुँदा राखेपले समेत यही लाइनमा टेकेर हामीलाई तारो बनाइरहे । कसैले यसको भित्रि रहस्य पत्ता लगाउने प्रयास गरेनन् ।

पहिले क्रिकेट भनेको काठमाडौमा मात्रै थियो । क्रिकेट खेल्न त आयोजक चाहियो । अनि क्लवका खेलाडीहरु मिलेर एउटा समिति बनायौं । त्यो समितिको महासचिव म भएको हुँ । म क्रिकेट संघको होइन क्रिकेटको महासचिव भएको हुँ । म एशियन एमेच्योर क्रिकेट क्लवमा आवद्ध थिएँ, अध्यक्ष बन्नुभएका जे शाहको ओएनएस क्रिकेट क्लव थियो । इन्डियन एम्बेसी, काठमाडौं खेल मण्डल लगायतका क्लवहरु त्यतिबेला क्रिकेटमा सहभागी हुन्थे ।

Binaya Raj Pandey3राखेपमा चाहिँ कहिले दर्ता भएको हो ?

राखेपमा सन् १९४७ मा दर्ता भएको हो । त्यतिबेला राखेपको प्रभाव कमै थियो । दर्ता गर्नुपर्ने आवश्यकता नै थिएन । तर ०४१ सालमा शरदचन्द्र शाह सदस्यसचिव हुँदा क्रिकेटको राष्ट्रिय प्रतियोगिता गर्न भन्नुभयो । त्यसका लागि दुई शर्त थियो । एउटा कम्तिमा ५ वटा अञ्चलको टोलीले खेल्ने र अर्को संघको निर्वाचन गर्ने । हामीले निर्वाचन गर्‍यौं र अञ्चलमा आहृवान गर्दा ११ अञ्चलका टोलीले सहभागिता जनाए ।

हामीले त्यतिबेला सबै क्षेत्रका मानिसहरु समेटेर समिति बनाएका थियौं । ०४६ सालमा शरदचन्द्र शाह बाहिरिएपछि खेलकुद परिषदमा बजेट घट्यो । त्यस्तै खेलकुदमा लागेका मानिसहरुले पनि छोड्न थाले । यसको प्रभाव क्रिकेटमा पनि पर्‍यो । हामी क्रिकेट संघमा पुनः ७ जनामात्र रहृयौं । हामी ७ जनाले ६ बर्षजति क्रिकेट चलायौं । बर्षमा कम्तिमा एउटा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्थ्यौं ।

हामी एसीसीको सदस्य भएपछि ७ जनाको समितिले एसीसीमा प्रतिनिधित्व गर्न लाज हुन थाल्यो । त्यतिबेला केशव स्थापित सदस्यसचिव थिए । हामीले अनुरोध गरेपछि उहाँले २० जनाजतिको तदर्थ समिति बनाउनुभयो ।

त्यसपछि २०१० सम्म तदर्थ समितिकैरुपमा काम गर्नुभयो । किन निर्वाचन नगरेको ?

सन् २००० मा हामीले विधान बनाएर परिषदमा दियौं । परिषदले हाम्रो विधान पास गरेन । किनभने विधानमा हामी परिषदसँग भन्दा आइसीसीसँग बफादार हुनुपर्थ्यो । आइसीसीको नियम नै त्यही थियो । मैले बुझेअनुसार त्यतिबेलासम्म क्रिकेटमा मानिसको आकर्षण बढिसकेको थियो । विधान पास गरेर निर्वाचन भयो भने त निर्वाचित कार्यसमितिलाई कसैले छुन सक्दैन भन्ने डर परिषदका अधिकारीहरुलाई थियो ।

अध्यक्ष जे शाहले परिषदबाट विधान पास गराउन सक्दो प्रयास गर्नुभएको थियो । सन् २००५ मा म अध्यक्ष भएपछि मैले पनि प्रयास नगरेको होइन । एकैपटक युवराज लामा सदस्यसचिव भएपछि विधान पास गरिदिनुभयो । तर, उहाँले विधान पास मात्र गर्नु भएन, तीन महिनाभित्र निर्वाचन गर्नु भन्नुभो । तर, मेरो सोच जिल्ला स्तरदेखि नै निर्वाचन गराएर केन्द्रमा निर्वाचन गर्ने थियो । त्यसका लागि १ बर्षको समय चाहिन्थ्यो । तर, तीन महिनामात्र समय दिएपछि मैले क्रिकेट संघ छोडिदिएँ । म अध्यक्ष हुँदा १० लाख थियो, मैले छाड्दा खातामा ८ करोड जोडेको थिएँ ।

कसरी संकलन गर्नुभएको थियो यो रकम, केका लागि खर्च गर्ने योजनामा हुनुहुन्थ्यो ?

मेरो कार्यकालमा सरकारले पनि क्रिकेट विकासका लागि बजेट छुट्याउन सुरु गरेको थियो । त्यतिबेला सरकारबाट आएको ५ करोड र हामीले प्रतियोगिता गरेेर बचेको २ करोडभन्दा बढी रकम थियो ।

मैले नेतृत्व गरेपछि पञ्चबर्षीय योजना सुरु गरेको थिएँ । जसअनुसार मुलपानीको क्रिकेट मैदान, कीर्तिपुर मैदानको स्तरोन्नत्ति, पोखरा, भैरहवा, कोहलपुर र बिराटनगरमा मैदान तयार गर्ने योजना थियो । तर, कुनैमा पनि सफल हुन सकिएन । सबैमा सुरु भयो, तर सम्पन्न भएन ।

म क्यानबाट बाहिरिएपछि त्यो रकम कुनै बिकासमा खर्च भएन । मलाई जहिल्यै दुःख लाग्ने कुरा नै त्यही हो । त्यत्रो पैसा कहाँ गयो थाहा भएन ।

अहिलेको तदर्थ समिति र निर्वाचित कमिटीको जस्तै विवाद योभन्दा अघि पनि थियो नि होइन ?

होइन, अलिकति फरक छ । त्यतिबेला अख्तियारले क्यानको कार्यसमितिलाई मुद्धा लगाएको थियो भने आइसीसीले पनि पैसा रोकेको थियो । त्यतिबेला खेलाडी, प्रशिक्षक तथा मिडिया सबैसँग छलफल गरेर क्यान बोर्डको अवधारणा ल्यायौं र सरकारलाई दियौं । सरकारले हाम्रो कुरा विश्वास गरेर तीन जनालाई कार्याभार सुम्पियो । तर, क्यानका पदाधिकारीहरु अदालत जानुभो, अदालतले अन्तरिम आदेश दिएपछि हामीले केही गर्नसक्ने कुरा भएन ।

अहिले आइसीसीले प्रतिबन्ध लगाएको अवस्था छ, यसलाई कसरी लिनुहुन्छ ?

मेरो भनाइ यतिमात्र हो कि त्यसले गर्दा क्रिकेटलाई नराम्रो भएको छ । यो हुनुहुदैनथ्यो ।

अहिलेको समस्याको सुरुवात चाहिँ के हो त ?

हेर्नुस्, यो समस्याको सबैभन्दा मुख्य कारण कम्युनिकेसन ग्याप हो, भिजन नभएको नेतृत्व नहुनु हो । मेरो कार्याकालमा पञ्चबर्षीय योजना सञ्चालन भएको थियो । २०१० मा त्यो योजना सकिएपछि अहिलेसम्म केही भएको छैन । हाम्रो पालामा उमेर समूह लगायत सबैको नियमित प्रतियोगिता हुन्थ्यो । अहिले त राष्ट्रिय प्रतियोगिता नभएकै ३ सिजन हुन लागिसक्यो ।

आइसीसीले नेपालमा अब कस्तो योजना ल्याउला ?

उनीहरुले के गर्छन् भन्न सक्ने अवस्था छैन । म आइसीसीको नियमित सम्पर्कमा नरहेको पनि चार बर्ष भइसक्यो ।

तपाई अध्यक्ष हुँदाखेरि नेपालको क्रिकेट श्रीलंकासँग केही नजिक भएजस्तो देखिन्थ्यो । आफूलाई बाइपास गरेजस्तो देखिएर भारत रिसाएको हो कि ?

होइन, खासमा तपाईंले प्रशिक्षक नियुक्तिको कुरा गर्नुभएको होला । खासमा रोय डायस नेपालको प्रशिक्षक बनेर आएको एसीसीबाट हो । एसीसीले तीनजना प्रशिक्षकमध्ये एकलाई छान्न भनेको थियो । तीनमध्ये रोय उत्कृष्ट देखिएपछि हामीले उनलाई नियुक्त गरेका हौं । रोय गएपछि पनि  हामीलाई प्रशिक्षकको आवश्यकता पर्‍यो । यसपटक पनि एसीसीले तीन जनामध्ये एक छान्न भनेको थियो । त्यतिबेला सायद श्रीलंका, कुवेत र भारतीय प्रशिक्षकमध्ये एक छान्न भनिएको थियो ।

सन् २०११ को विश्वकपमा म भारत गएको थिएँ । त्यहाँ क्यानडाको अध्यक्ष रञ्जित पनि थिए । सँगै डिनरका क्रममा कुराकानी हुँदा प्रशिक्षक आवश्यक परेको सुनाएँ । त्यसपछि उसले पुबुदुको नाम दिए  । उनकै प्रशिक्षणमा क्यानडाले विश्वकप खेलेको थियो । एउटा टोलीलाई विश्वकप खेलाइसकेको भएपछि त यो मान्छे प्रतिवद्ध छ भन्ने सोचेर नियुक्त गरेँ ।

Binaya Raj Pandeyघपुबुदुको सट्टा भारतीय प्रशिक्षक ल्याएको भए खेलाडीले धेरै म्याच एक्स्पोजर पाउँथे कि ?

त्यो भन्ने कुरा मात्र हो । भारतीयको सट्टा त अष्ट्रेलियाको प्रशिक्षक ल्याएको भए झन् राम्रो हुन्थ्यो होला । बीसीसीआई भनेको विश्व क्रिकेटकै नेता हो अहिले । उसलाई आफ्नो मात्रै मतलब छ । छिमेकीलाई माथि उठाउनुपर्छ भन्ने भावना भारतसँग पटक्कै छैन ।

तपाईलाई एउटा उदाहरण दिउँ । माधवकुमार नेपालको भारत भ्रमणका बेलामा मैले भारतीय क्रिकेट बोर्डका तत्कालीन अध्यक्ष मनोहरलाई फोन गरेर भेट्ने तालमेल मिलाएँ । मूलपानीको रंगशाला बनाउने योजना प्रधानमन्त्रीलाई पठाएको थिएँ ।

मुम्बईमा भएको त्यस भेटवार्तामा मनोहरले प्रधानमन्त्री नेपाललाई भने- ‘प्रधानमन्त्री ज्यू, तपाईंको प्रस्ताव मैले स्वीकार गर्न सक्दिनँ, किनभने तपाईंको प्रस्ताव मैले स्वीकार गरेँ भने हाम्रा अन्य छिमेकीले पनि यस्तै सहयोगको अपेक्षा गर्छन् ।’
भारतले आफ्ना छिमेकी मुलुकमा क्रिकेट बिकास भएको देख्न चाहँदैन । अझ नेपालको कुरा आयो कि उनीहरुको एटिच्युडमै समस्या हुन्छ । मैले भारतीय क्रिकेटका थुप्रै अधिकारीसँग नजिक रहेर काम गरेको छु । भारतसँग डिल गर्न सजिलो छैन ।
जहाँबाट प्रशिक्षक आए पनि उसको क्षमता हेर्ने हो । नेपालमा अहिलेसम्म आएका प्रशिक्षकप्रति औँला उठाउने ठाउँ छैन ।

क्यान बोर्ड विवादमा रहेका बेलामा नेपाल र नामिवियाबीचको खेल आफैले आयोजना गरेर आइसीसीले नेपालप्रति सदासयता देखाएको हो ?

त्यो त पक्कै हो । हेर्नुस् संसारमा कुनै पनि त्यस्तो प्रतियोगिता छैन जुन आइसीसीको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको होस् । यो पहिलो र एकमात्र प्रतियोगिता हो । आइसीसीको यत्रो सदासयता हुँदाहुँदै पनि किन प्रतिबन्ध लगायो भन्नेबारेमा म चकित भइराखेको छु  ।

आफ्नो सदस्यलाई प्रतिबन्ध लगाउने जस्तो निर्णय आइसीसीले सजिलै गर्दैन । अमेरिकामा लामो समयदेखि दुई संघबीचको बिबाद थियो । यो सन् १९९२ ताकादेखि नै हो । त्यहाँ उत्तरी र दक्षिणी क्षेत्रबाट दुई संघले आइसीसीका कार्यक्रमहरुमा सहभागिता जनाउथे । जहिले पनि झगडा हुन्थ्यो । त्यसपछि त्यहाँ सिइओ नियुक्त गरियो । सिइओले पनि चार बर्ष चलायो र बल्ल आइसीसीले प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । तर, नेपालमा २०१४ देखि त विवाद सुरु भएको हो नि । डेढ बर्षको अवधिमै प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउनु भनेको मेरो विचारमा कम्युनिकेसन ग्याप नै मुख्य कारण हो ।

आइसीसीले खेलाडीलाई नभएर क्यानलाई मात्र प्रतिबन्ध लगाएको भनेको छ । संघलाई प्रतिबन्ध लगाएपछि खेलस्तरमा कस्तो असर गर्छ ?  

असर पक्कै गर्छ । अमेरिकामा पनि संघलाई मात्र प्रतिबन्ध लगाएको हो । टोलीले खेलिरहेको छ । अमेरिकाको प्रदर्शनको स्तर पनि राम्रै छ । हामी र अमेरिकमा के फरक छ भने उनीहरु क्लव लेभलको प्रतिस्पर्धामा हुन्छन् । त्यसले बर्षभरि नै खेलाडीलाई ब्यस्त बनाउँछ । अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि खेलाडीहरु चुस्त रहन्छन् । तर हामीमा त्यस्तो छैन । संघले प्रतियोगिता गराएन भने खेलाडीले खेल्न पाउँदैनन् ।

अव नेपाली क्रिकेटको भविश्य कस्तो देख्नुहुन्छ ?

के हुन्छ भनेर त मैले भन्न सक्दिनँ । तर, नेपालमा क्रिकेटले उचाइ लिइसकेको छ । विश्वकपसम्म  पुगिसकेको छ । देशभरी क्रिकेटको माहोल छ । हाम्रो एउटा राम्रो कुरा के छ भने जिल्लाहरुमा पनि क्रिकेटका संघहरु मौजुद छन् । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन उनीहरुको योगदान उल्लेखनीय छ । तर उहाँहरु पनि निराश हुनुहुन्छ । अब आइसीसीलाई खुसी पारेर राम्रो  समूह क्रिकेटमा आएमा नेपाललाई पुनःयही स्थानमा फर्काउन धेरै समय लाग्छ जस्तो लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment