Comments Add Comment

कांग्रेस नेताहरु सरकारमाथि खनिए, ओलीको विकल्प खोज्न देउवालाई आग्रह

bimelandra nidhi and shekhar koirala

१९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संविधान कार्यान्वयन गर्न असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीमाथि संघीयता विरोधीको समेत आरोप लगाउँदै मधेशवादी दलहरुका मागलाई सम्बोधन गरेर संविधानको प्रभावकारी कार्यान्वयनका लागि सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट भएको राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा कांग्रेसका प्रभावशाली नेताहरुले ओली सरकारको आलोचना गरे । पार्टी सभापति शेरबहादुर देउवाकासामू केन्द्रीय सदस्य विमलेन्द्र निधि र डा. शेखर कोइरालाले संविधान कार्यान्वयन र मधेसको माग सम्वोधन गर्न सरकार उदासीन रहेको बताए ।

सत्तारुढ एमालेको अरुची र नकारात्मक धारणाका कारण सीमांकनका विषयमा मधेशवादी दलहरुसँग सहमति हुन नसकेको नेताहरुले बताए । नेता विमलेन्द्र निधिले भने, ‘संविधान कार्यान्वयन गर्न र सीमांकन लगायतका मुद्दा सम्बोधन गर्न एमाले नेतृत्वको सरकार नै बाधक छ ।

नेताद्वय निधि र डा. कोइरालाले प्रधानमन्त्री ओली संघीयता विरोधी भएको बताए । संघीयताविरोधी प्रधानमन्त्रीबाट संघीयतासहितको संविधान कार्यान्वयन हुन्छ भनेर आश गर्न नहुने दुबै नेताले बताएका छन् । नेता कोइरालाले भने, ‘संविधान कार्यान्वयन गर्न यो सरकार उदासीन छ भनेपनि हुन्छ । मधेस र आदिवासीको समस्या समाधान होस् भनेर यो सरकार चाहँदैन ।’

ओलीले न्यायपालिकामा राजनीतिकरण गरेको र निर्णय प्रक्रियामा निरंकुश शासकको शैली अपनाएको नेताहरुको आरोप छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्ने, कालोबजारी नियन्त्रण गर्ने, प्रशासनलाई चुस्त दुरुस्त पार्ने मामिलामा पनि सरकार पूरै असफल भएको दुबै नेताले बताएका छन् ।

वैशाख २१ गतेबाट व्यवस्थापिका संसद्को अधिवेशन सुरु हुन लागेको भन्दै दुबै नेताले कांग्रेसले सरकारको विकल्प खोज्नतिर ध्यान दिनुपर्ने बताए ।

नेताद्वय निधि र डा. कोइरालाले सरकारविरोधी अभिव्यक्ति दिएपनि काँग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारेमा कुनै टिप्पणी गर्नुभएन । उनले श्रमिकहरुमाथि वर्षौंदेखि शोषण हुँदै आएको भन्दै श्रमिकहरुले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्न श्रम आयोग गठन गरिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment