२० वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा दुबईमा ज्यान गुमाएका धनकुटाका एक युवकका परिवारले चार वर्षपछि बल्ल क्षतिपूर्ति पाएका छन् । दुबईमा रहेको नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको लापरवाहीको कारण क्षतिपूर्ति पाउन ढिलाइ भएको हो ।
२०६६ सालमा डीडी ओभरसिजमार्फत दुबईको रोयल कंक्रिट प्रोडक्टमा काम गर्न गएका धनकुटाका २९ वर्षीय तुलसीप्रसाद चापागाईको २०६९ सालमा मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।
कम्पनीले २०७० सालमा क्षतिपूर्ति बापतको दुई लाख दिराम रकम त्यहाँको अदालतमा जम्मा गरेको थियो । तर, दूतावास र परराष्ट्र मन्त्रालयले बेवास्ता गर्दा पीडित परिवारले एक सामाजिक अभियन्ताको प्रयासमा लामो संघर्ष र लाखाैं रुपैयाँ खर्च गरेपछि मात्रै क्षतिपूर्ति पाएका हुन ।
सोमबार रिपोर्टर्स क्लब भएको पत्रकार सम्मेलनमा मृतकका पिता धनन्जय चापागाईले कम्पनीका मालिक नरान सल्वानीले जम्मा गरिदिएको क्षतिपूर्ति लिन वषौं लागेको सुनाए । उनले दूतावासमा पटक-पटक पहल गर्दा पनि बेवास्ता भएको गुनासो गरे ।
उनले आशा एचफोर फाउण्डेसनकी अध्यक्ष आशा लामाको प्रयासमा आफुहरुले दुई वर्षपछि क्षतिपूर्ति पाएको बताए । आफू रकम लिन दुबई आउन लागेको थाहा पाएपछि पोल खुल्ने डरले दुतावासले क्षतिपूर्तिको रकम बुझेर पठाएको आरोप चापागाईले लगाए । उनले साढे ५७ लाख हुने क्षतिपूर्ति रकम पाएपनि यसलाई लिनकै लागि २५ लाख बढी खर्च भएको गुनासो गरे ।
दुतावासको लापरवाहीले गर्दा धेरै नेपालीहरुले दुख पाईरहेको बताउँदै अभिययान्ता लामाले आफूले अहिलेपनि धेरै नेपालीहरुको मुद्दा लडिरहेको जानकारी दिइन् । उनले सरकार र दुतावासले गलत नियतले क्षतिपूर्ति लिने प्रक्रिया सुरु नगर्दा यस्तो भएको भन्दै यस्तो पीडामा धेरै नेपाली परिवार रहेको दावी गरिन् ।
प्रतिक्रिया 4