२२ वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले गोमा एयरका को-पाइलट विशाल कार्कीलाई पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेको भन्दै प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।
कार्की धनुषा भरतपुर-१ का हुन् । उनी ललिपुरको टिकाथली बस्दै आएका थिए । कार्कीलाई ललितपुरको कुपण्डोलबाट मंगलबार पक्राउ गरेको सिआइबीले जनाएको छ ।
काठमाडौंको अस्कल क्याम्पसमा आइएससी पढेको नक्कली शैक्षिक प्रमाणपत्र बनाइ उनले फिलिपिन्समा पाइलट कोर्स पढेका थिए । नेपाल नागरिक उड्ययन प्राधिकरणबाट उनले पाएको इजाजत पत्र नम्बर सिपिएल (ए) ४८६ हो ।
उनीमाथि सरकारी छाप दस्तखत कीर्ते ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘अपरेशन हक’अन्तर्गत नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेका थप व्यक्तिको खोजी जारी रहेको सिआइबीले जनाएको छ ।
यसअघि सिआइवीले नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध चलाएको अपरेशनमा १७ जना पक्राउ परिसकेका छन् । यसैगरी अपराध महाशाखाले पनि नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसहित १० जना इन्जिनियरहरूलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया 4