Comments Add Comment

देउवाको दाउः सरकार ढालेपछि देखा जायगा

प्रचण्डलाई माछो-माछो भ्यागुतो बनाउने दाउमा कांग्रेस नेताहरु

sherbahadur deuba

२२ वैशाख, काठमाडौं । भारत भ्रमणबाट फर्केलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ रणनीतिमा प्रस्तुत भएका छन् । प्रधानमन्त्रीको चाहना शीरभरि बोकेर भारत गएका उनले  स्वदेश फर्केलगत्तै प्रचण्डलाई जाल हाने ।

प्रचण्ड लगभग देउवा जालमा फसिसकेका छन् । तर, खेलको अन्तिममा उनी (प्रचण्ड) माछो-माछो-भ्यागुतो हुने कांग्रेस स्रोतहरुको दाबी छ । कसरी त ?

भारत भ्रमणबाट फर्केपछि देउवाले विमलेन्द्र निधिलाई भेट्न पठाए । पहिलो भेटमा निधिले देउवाले भारतीय संस्थापनको मन जितेर फर्किएको भन्दै भावि प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरे । तर, प्रचण्डले सकारात्मक जवाफ दिएनन् ।

स्रोतका अनुसार त्यस भेटमा प्रचण्डले भनेका थिए, ‘अब राष्ट्रिय सहमतिको सरकारमा जानुपर्छ । तर, देउवाजीको नेतृत्वमा एमाले आउँदैन । बरु मेरो नेतृत्वमा जाउँ । त्यसका लागि म एमालेलाई मनाउँछु ।’

निधिले यो सन्देश देउवासमक्ष पुर्‍याए । सत्ता राजनीतिका चलाख खेलाडी देउवाले प्रचण्डलाई तुरुन्तै ग्रीन सिग्नल दिए । तर, देउवाको प्रति-प्रस्ताव थियो, ‘ठीक छ, राष्ट्रिय सहमतिको सरकार बन्ने भयो भने तपाईंलाई कांग्रेसले समर्थन गर्छ, अन्यथा बहुमतको सरकार बनाउनुपर्ने अवस्थामा मलाई समर्थन गर्नुस् । त्योभन्दा पहिले ओली सरकारबाट एमाओवादी बाहिर आउनुपर्छ ।’

देउवाको यस्तो सन्देश विमलेन्द्रको मुखबाट सुनेपछि प्रचण्डले जुँगा मुसारे । त्यसपछि सबैतिर गएर भन्न थाले, ‘मलाई प्रधानमन्त्री पदको अफर आयो ।’ यही अफरका आधारमा उनले पार्टीबाट आगामी सरकारको नेतृत्व लिने निर्णय गराए ।

देउवाले के बुझेका छन् भने यो सरकार ढालेर बन्ने कुनै पनि सरकारमा एमाले सहभागी हुनेछैन, चाहे त्यो प्रचण्डको नेतृत्वमा होस् वा आफ्नो । किनभने एमाले आफ्नो सरकार गिराउने यिनै प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी हुँदैन भन्ने देउवाको विश्लेषण सत्य नजिक छ ।

एमाले नआइकन प्रचण्डले सोचेजस्तो राष्ट्रिय सहमतिको सरकार बन्न सक्दैन । यसको अर्थ बहुमतीयमा जानुपर्ने हुन्छ र वाचा बमोजिम त्यतिबेला प्रचण्डले देउवालाई समर्थन गर्नुपर्ने हुन्छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा अहिलेसम्म कांग्रेसमा कुनै आधिकारिक निर्णय नभएको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन् ।

‘दुई पार्टीका नेताहरुबीच केही समझदारी भएको हुन सक्छ, तर पार्टीले त्यस्तो निर्णय लिएको छैन,’ पौडेलले अनलाइनखबरसित भने ।

त्यसो त कुनै पनि महत्वपूर्ण विषयमा छलफल गरेर निर्णय लिने प्रचलन कांग्रेसमा पहिले पनि थिएन र अहिले पनि छैन । यद्यपि प्रचण्डले आफ्नो पक्षमा राष्ट्रिय सहमति निर्माण गर्न नसकेपछि नेतृत्व देउवाकै हातमा आउने कांग्रेस नेताहरुले विश्वास गरेका छन् ।

देउवानिकट कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भन्छन्, ‘निशर्त प्रचण्डलाई समर्थन गर्ने भनिएको होइन, उहाँले राष्ट्रिय सहमति जुटाउन सक्नुभयो भने हामी प्रधानमन्त्रीमा समर्थन गर्छौं, होइन भने देउवा बहुमतीय सरकारको प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले देउवा र प्रचण्डको आन्तरिक छलफलमा यही सहमति भएको बताए ।

देउवाको सबैभन्दा ठूलो स्थार्थ सरकारको नीति तथा कार्यक्रम र बजेटमा गढेको छ । उनी कुनै पनि हालतमा एमालेले पूर्ण बजेट ल्याएको हेर्न चाहँदैनन् । त्यसैले चाँडो भन्दा चाँडो एमाओवादीलाई सत्ताबाट निकाल्ने ध्याउन्नमा उनी छन्, ताकि १५ जेठमा आउने बजेट भाँडियोस् ।

सके जेठ १५ भन्दा पहिल्यै नयाँ सरकार बनाउने, नसके ओली सरकारलाई काम चलाउमा सीमित राख्ने भर्खरै भारतबाट फर्केका देउवाको चाहना छ ।

देउवाले अविश्वास प्रस्तावसम्मको प्रयोजनका लागि आफ्ना सम्पूर्ण सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएका छन् । कुनै पनि बेला आवश्यक पर्न सक्छ भनेर हस्ताक्षर गराइएको एक नेताले बताए ।

कांग्रेस नेताका अभिव्यक्तिले नै बताइरहेको छ कि ओली सरकार ढालिसकेपछि एमाओवादी र कांग्रेसवीच हानाथाप पर्न सक्छ प्रधानमन्त्रीका लागि ।

यो पनि पढ्नुस्

प्रचण्डले सरकार फेर्ने कि आफैंलाई ऐनामा हेर्ने ?

सरकार ढाल्न कांग्रेस र मधेसवादी एक मत

प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको औपचारिक निर्णय

प्रचण्ड पदको लोभमा परेको कमल थापाको आरोप

एमाओवादीको बटमलाइनः सहमतीय भए प्रचण्ड, बहुमतीय भए शेरबहादुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment