Comments Add Comment

प्रधानमन्त्रीले सोधेः पारवहन सम्झौता उखान टुक्का हो ?

KP-Oli-Samsad-ma

२३ वैशाख, काठमाडौं । बिहिबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवतः अहिलेसम्मकै लामो भाषण गरे । झण्डै दुई घन्टाको सम्वोधनमा उनी विगतमा भन्दा गम्भीर र आक्रामक रुपमा प्रस्तुत भएका थिए । यद्यपि, उनले आफ्नो मौलिकता बिर्सिएनन् ।

गम्भीर मुद्रामा नै प्रधानमन्त्रीले सांसदहरुमाझ घोचपेच र ख्यालठट्टा गर्न भ्याए । आफूलाई उखान-टुक्कामा सिमित भएको भनेर आलोचना गर्नेहरुलाई उनले यसरी जवाफ दिए, ‘काम केही गरेन, उखान-टुक्का मात्रै भन्यो भन्छन्, के चीनसँग गरिएको पारवहन सम्झौता उखानटुक्का हो ? विशाखापट्नम जोक हो ?’

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको प्रसंगलाई पनि ठट्यौंलो पारामा उठाए । ‘सबैले राष्ट्रिय सहमति-राष्ट्रिय सहमति भन्छन्, मैले त झन् पहिलेदेखि यही भन्दै आएको छु,’ ओलीले भने, ‘मेरो त भन्दा-भन्दा घाँटी नै सुकिसक्यो ।’ यति भन्दै उनले अगाडि राखिएको पानी घटघट पिए । सांसदहलमा हाँसो गुञ्जियो । पानी पिएपछि  उनले थपे, ‘राष्ट्रिय सहमतिको सरकार पनि भन्ने, लोकतन्त्रमा दह्रो प्रतिपक्ष चाहिन्छ पनि भन्ने । दुवै काम एकैसाथ कसरी हुन्छ ?’

पुनर्निमाण प्राधिकरणमा कनिष्ठ कर्मचारी नियुक्त गरिएको भनेर हुने गरेका आलोचनालाई उनले यसरी जवाफ दिए, ‘हामीले सिइओ नयाँ भए रे ? कांग्रेसले बनाएका कति पुराना थिए ? कति वर्षका थिए ? कतिचोटी सिइओ खाएका थिए ?’

‘साथीहरुले खडेेरीको कुरा निकालेर सरकारको खुबै आलोचना गर्नुभयो,’ अर्को प्रसंग निकाल्दै उनले भने, ‘अब हेर्नुस, सरकारलाई आपत् नै पर्‍यो कि भनेर हिजै बेलुका पानी परिदियो ।’

सम्वोधनका क्रममा ओलीले आफ्ना महत्वाकांक्षी अभिव्यक्तिबारे हुने गरेका आलोचनाको एक-एक जवाफ दिए । सुरुमा चुल्होचुल्होमा ग्यासको प्रसंग निकाले । आफूले जानेबुझेर सम्भव कुरा बोलेको भन्दै उनले आफ्नो चर्चित अभिव्यक्तिको प्रतिरक्षा गरे ।

‘दाँत बन्द गरेर हिँड्नुपर्‍यो, जिभ्रो निकालिदेलान् भनेर,’ प्रधानमन्त्रीले गम्भीर मुडमै ठट्यौली गरे, ‘यस्तो बोल्न पाइन्छ ? भनेर होहल्ला गरियो ।’

उनले चुल्हो चुल्होमा ग्यास सपना नभएर यथार्थ भएको बताए । ‘बंगलादेशमा चुल्होचुल्होमा ग्यास पुगेको छ, पाकिस्तानमा छ, रुस जस्तो ठूलो देशमा छ, चाइनामा अधिकांस ठाउँमा छ, भारतका कतिपय शहरमा छ, काठमाडौंमा चाहिँ गर्छु भन्ने नपाइने ?’ के संविधानमा पाइदैन भनेर लेखेकेा छ ?’ यप्रधानमन्त्रीले यसो भन्दा संसद हलभित्र हाँसो गुञ्जियो ।

लोडसेडिङ अन्त्य गर्ने आफ्नो घोषणालाई मजाकको विषय बनाइएको प्रति उनले जवाफ दिए, ‘मैले एक वर्षमा लोडसेडिङ अन्त्य गर्छु भनेको हुँ । दुई वर्षमा बिजुली बेच्छौं भनेको हुँ । बजारबाट मैनवत्ति किनेर घरमा ल्याएर बाले जस्तो हो र आजको आजै हुनलाई ?’

पुर्वपश्चिम रेलमार्गको विषयमा पनि उनले यस्तै डाइलग मारे । ‘बजारबाट गुडिया किनेर ल्याएर घरमा गुडाउने हो र ? लिक बिछ्याउनु पर्दैन ? आजको भोली हुन्छ ? मैले ल्याउछु भनेको छ । ल्याएरै छाड्छु, गुडाएरै छाड्छु ।’ ओलीले भने ।

तस्वीरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment