Comments Add Comment

सरकारले भारतसँग फायर खोलेको छैनः उपप्रधानमन्त्री रावल

Bhim-Rawal

२५ वैशाख, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले भारतका लागि नेपाली राजदूतलाई फिर्ता बेलाउने सरकारको कदम भारतसँगको सम्बन्धमा फायर खोल्न नभई रोक्न भएको दावी गरेका छन् ।

राष्ट्रिय हित विपरित काम गरेकाले भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको उनले बताए । उपाध्याय सरकार फेरबदलमा संलग्न भएको उनको आरोप छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा रावलले भने, ‘परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई कार्यक्षेत्र छाड्ने, तराई जस्तो आन्दोलन भईरहेको संवेदनशील क्षेत्रमा अर्को देशका राजदुतसँग कार्यक्रममा संलग्न हुँदै हिड्ने र सरकार फेरबदलको प्रसंगमा उनको संलग्नताको कुरा आएको छ । यस्ता गम्भिर विषयहरु आएपछि फिर्ता बोलाइएको हो ।’

एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री रावलले राजदुतलाई फिर्ता बोलाउनु अघि स्पष्टीकरण लिनु नपर्ने दाबी गरे ।  सरकारले भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेको उनले बताए ।

साथै उनले कूटनीतिक कारण नभई आन्तरिक कारणले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको दाबी गरे ।

उपप्रधानमन्त्री रावलले एमाले र एमाओवादीबीच भएको नौंबुँदेमा सहमति अनुसार अर्को निर्वाचनसम्म यो गठबन्धन अगाडि बढ्ने दाबी गरे । प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलहरुले सहमति गर्नासाथै स् निर्वाचनको मिति घोषणा गर्ने उनले स्पष्ट पारे ।

यद्यपि सरकार आउँदो हिउँदसम्ममा निर्वाचन गर्ने पक्षमा रहेको उनले बताए । एमाले र एमाओवादीवीच भएको भनिएको भद्र सहमतिको विषयमा बोल्न अप्ठ्यारो पर्ने भन्दै भद्र सहमतिलाई भद्र नै रहन दिनु पर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment