२७ वैशाख, भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बन्ने भएको छ । यो विमानस्थललाई अत्याधुनिक बनाउन ‘एरो ब्रिज’ बनाउने र ‘रन वे सेन्टर लाइन लाइटिङ सिष्टम’लाई ‘क्याटेगोरी टु’मा स्तरोन्नती गरिने छ ।
‘एरो ब्रिज’ भनेको टर्मिनल भवनबाट सिधै जहाजमा चढ्न र जहाजबाट टर्मिनल भवनमा झर्न मिल्ने पुल हो । धावनमार्गमा ‘लाइटिङ सिस्टम क्याटेगोरी टु’ को व्यवस्था भएपछि खराब मौसममा समेत जहाजहरु सहजै उडान र अवतरण गर्न सक्छन् ।
अहिलेसम्म त्रिभुवन विमानस्थलमा एरो ब्रिज छैन । गाडीबाट जहाजसम्म पुगेर भर्याङ चढ्नुपर्छ । त्रिभुवन विमानस्थलको धावनमार्गमा ‘सेन्टर लाइन लाइटिङ सिष्टम क्याटोगरी वान’ रहेको हुँदा खराब मौसममा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता छ । खराब मौसममा पनि उडान अवतरण सहज बनाउन धावनमार्गको लाइटिङ सिष्टम अपग्रेड गर्न लागेको परियोजना प्रमुख ओम शर्माले अनलाइनखबरलाई बताए ।
‘एरो ब्रिज’ र ‘लाइटिङ सिष्टम’को भेरियसनको लागि युसिन इञ्जिनियरिङ कर्पोरेसन कोरियाको नेभिगेसनल एक्स्पर्ट टोली नेपाल आउँदै छ । शर्माका अनुसार यही भदौ ३१ गते कोरियन टोलीसँग काठमाडौंमा छलफल हुँदैछ ।
‘कोरियन एक्स्पर्टबाट दुबै कामको भेरियसन गराउँछौं’ शर्माले भने, ‘भेरियसन भएपछि नेपाल सरकार र एशियाली विकास बैंकको स्वीकृति लिएर यो काम पनि सँगसँगै अगाडि बढाउँछौं ।’
यस्तो बन्नेछ विमानस्थल (भिडियो)
एरो ब्रिज बनाउनका लागि करिव २० करोड रुपैयाँ र लाइटिङ सिष्टम अपग्रेडका लागि करिव २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । धावनमार्गको लाइटिङ सिस्टमलाई क्याटोगरी वानबाट टुमा स्तरोन्नती गर्नका लागि तीन गुणा बढी खर्च लाग्ने शर्माले बताए । बिमानस्थललाई सुविधा सम्पन्न बनाउन ५० करोड रुपैयाँ लगानी थपिनु खासै ठूलो नभएको उनको भनाई छ ।
‘काठमाडौंमा जहाज अवतरण गर्न नसकेमा भैरहवामा सहज अवतरण गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो,’ शर्माले भने, ‘काठमाडौंबाट डाइभर्ट गरेर भारत पुर्याउने वाध्यता हटाउन सकियो भने नेपाली उडान सुरक्षित हुन्छ ।’
भैरहवा विमानस्थलको धावनमार्गको दुवैतर्फ ३/३ सय मिटर ‘रन वे इन सेफ्टी एरिया’ निर्माण गर्न लागिएको छ । त्रिभुवन विमानस्थलको कोटेश्वर साइडमा बल्ल सेफ्टी एरिया बनाउन लागिएको छ ।
अहिले विमानस्थल निर्माण कार्य तिव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, घाँग्रा खोला डाइभर्सन, धावन मार्ग निर्माण, रेस्क्यू एन्ड फायर फाइटिङ भवन, कन्ट्रोल टावर तथा प्रशासनिक भवनको काम अगाडि बढिसकेको छ ।
यो विमानस्थल एडीबीको ऋण सहयोगमा बन्न लागेको हो । चीनको नर्थ वेष्ट कम्पनीले भौतिक संरचना निर्माणको काम २०१७ को डिसेम्बरमा सम्पन्न गर्नेगरी ६ अर्ब २२ करोड ५१ लाख २० हजार २७ रुपैयाँमा ठेक्का लिएको छ । प्राविधिक सामान फिटिङ गरेर विमानस्थल सञ्चालनमा आउँदा लागत ८ अर्ब ५५ करोड पुग्ने अनुमान छ ।
यो फोर ई स्तरको विमानस्थल हो । विमानस्थलको धावनमार्ग तीन हजार मिटर लामो हुने छ । छेउमा ३/३ सय मिटर लामो रन वे इन सेफ्टी एरिया निर्माण हुने छ । अहिले अन्तरिक उडान भइरहेको धावनमार्गलाई ट्वाक्सी वे (जहाज पार्किङ गर्न लैजाने बाटो)मा परिणत गरिने छ ।
विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । पछिल्लो समय त्रिभुवन विमानस्थल अति व्यस्त हुँदा पार्किङमा समस्या हुँदै आइरहेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य केही पछाडि सरे पनि छिट्टै सम्पन्न हुने परियोजना प्रमुख शर्मा बताउँछन् ।
७९ विगाहा क्षेत्रफलमा फैलिएको आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नती गर्न पहिलो चरणमा २०८ विगाहा जग्गा अधिग्रहण गरिएको थियो । दोस्रो चरणमा अधिग्रहणका लागि प्रस्ताव गरेको १४० विगाहा जग्गा स्वीकृत भई अधिग्रहणको प्रकृयामा रहेको छ ।
परियोजनाले विमानस्थलको लागि तेस्रो चरणमा थप २८८ विगाहा जग्गा अधिग्रहणको प्रस्ताव गरेको छ । सबै जग्गा अधिग्रहण पश्चात विमानस्थलको कुल क्षेत्रफल ७१५ विगाहा पुग्ने छ ।
यो पनि पढ्नुस्
तस्वीरमा हेर्नुहोस्, भैरहवामा यसरी बन्दैछ अन्तर्राष्ट्रिय विमानस्थल
प्रतिक्रिया 4