२७ वैशाख, काठमाडौं । भारतीय जनता पार्टीले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको बीए र एमएको प्रमाणपत्रको कपी बाँड्यो ।
तर, नक्कलीको आरोपबाट अझै मुक्त हुन सकेन । आम आदमी पार्टीले भाजपाले सार्वजनिक गरेको मोदीको प्रमाणपत्र नक्कली भएको दाबी गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको डिग्रीलाई लिएर आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रश्न उठाएका थिए ।
भाजपा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले मोदीको बीए र एमएको डिग्रीको कपी पत्रकारहरुलाई बाँडेका थिए । मोदीले दिल्ली विश्वविद्यालयबाट बीए र गुजरात विश्व विद्यालयबाट एमए पास गरेको उनले जानकारी दिए ।
मोदीको प्रमाणपत्र सार्वजनिक गर्दै शाहले अब केजरीवालले माफी माग्नुपर्ने दाबी गरे ।
तर, आम आदमी पार्टीले सार्वजनिक प्रमाणपत्र नक्कली भएको दाबी गरेको छ । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा आपका नेता आशुतोषले प्रधानमनत्रीको बीए र एमएको डिग्रीमा भएको नाम फरक भएको बताए ।
उनका अनुसार बीएको प्रमाणपत्रमा नाम नरेन्द्रकुमार दामोदर दास मोदी छ भने एमएको डिग्रीमा नाम नरेन्द्र दामोदर दास मोदी मात्र छ ।
उनले भने, मोदीको बीएको अंकपत्र र डिग्रीमा परीक्षा वर्षपछि फरक फरक छ । अंकपत्रमा वर्ष १९९७ र डिग्रीमा १९७८ छ ।’
प्रतिक्रिया 4