+
+
Shares

मोदनाथ प्रश्रितः कविता भित्तामा टाँसेर जेलबाट भागेँ

मोदनाथ प्रश्रित मोदनाथ प्रश्रित
२०७३ वैशाख २९ गते १४:४७

Modnath 2

अर्घाखाँची जिल्लामा खिदिम भन्ने गाउँमा हाम्रो पुख्र्यौली घर थियो । त्यहाँ बर्दियानिवासी एक जमिन्दारको ५२ हजार बिगाह जग्गा थियो । उहाँले त्यहाँ एउटा विद्यालय खोल्नुभएको थियो । मेरो घर बाट करिब डेढ कोसको दुरीमा थियो विद्यालय ।

मेरो मावली हजुरवा सो विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो भने बुवा र मामाहरु अध्यापक हुनुहुन्थ्यो । ४-५ वर्षको उमेरदेखि म त्यहीँ पढेँ । विद्यालय नजिकै एक जना आफन्तकहाँ बस्थेँ । अष्टमी-प्रतिपदा छुट्टी हुँदा घर जान्थेँ ।

००७ सालको आन्दोलन हुँदा म ८-९ वर्षको थिएँ । प्रजातन्त्र प्राप्तिको लागि भएको आन्दोलनले मेरो बालमस्तिष्कमा एउटा छाप छोडेको थियो । हामी पनि राणाशाही मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद भन्दै जुलुसमा हिँड्यौं । मेरो बुवा र हजुरवुवाहरु धार्मिक कट्टर हुनुहुन्थ्यो । कांग्रेस पार्टी आयो भने जातपात र संस्कृति मास्छ भन्नुहुन्थ्यो उहाँहरु । यद्यपि ममा प्रभाव थियो मेरा जेठाबाको । उहाँ बनारस पढेर आउनुभएको प्रगतिशील सोचको हुनुहुन्थ्यो । जातपात मान्नुहुन्नथ्यो ।

उहाँको प्रभावले गर्दा ममा सानैदेखि प्रगतिशील सोच विकास भयो । सात सालको आन्दोलनले गर्दा राजनीतिक चेत पनि खुलिसकेको थियो । त्यतिबेला राजनीतिक पार्टी भनेकै कांग्रेस थियो । म १०-१२ वर्षको भएपछि नेपाली कांग्रेसको समर्थक भएर हिँड्न थालेँ ।

सुवर्णसम्शेरलाई स्वस्ति

१५ सालको चुनावताका म बनारस पढ्न गएको थिएँ । १७ सालमा संसद विघटन भयो । बनारसमा बसेका हामी विद्यार्थीहरुले संसद विघटनको विरुद्धमा नारा लगाउन थाल्यौं । प्रशासनले हामीमाथि निगरानी सुरु गर्‍यो । तैपनि अलिअलि गर्दै गयौं ।

१७ सालपछि नेपाली कांग्रेसका २ गुट भएका थिए, वीपी र सुवर्णका नाममा । वीपी त्यतिबेला जेलमा थिए भने सुवर्ण कलकत्तामा । सुवर्णले हामीलाई भेट्न बोलाए । हामी बनारसबाट कलकत्ता पुग्यौं । उनी बडो आलिशान महलमा बस्दा रहेछन् । जीवनशैली पनि सामन्ति ढाँचाको रहेछ भन्ने त्यहाँ पुगेपछि थाहा भयो ।

हामी पहिलोपटक पुग्दा ४ घन्टा प्रतिक्षा गर्‍यांै तर उनी प्रकट भएनन् । सन्देश पठाए, भोली आउनु । भोलीपल्ट फेरि गयौं । करिब ३ घन्टा पर्खिएपछि पटांगिनीमा झुल्किए । उनको आगमन हुनासाथ कार्यकर्ताहरुले उठेर स्वस्ती गर्न थाले, राजालाई जसरी । कार्यकर्ताले नेतालाई यसरी झुकेर स्वस्ती गरेको मलाई मन परेन । मैले मनमनै यस्तो सामन्ति पार्टीमा लाग्दिन भन्ने सोच बनाएँ । त्यतिबेला म १८ वर्षको थिएँ । त्यही निहुमा कांग्रेस पार्टी छोडेँ ।

Modnath

कविता बोकेर आए मदन

कांग्रेस छोडेपछि केही समय म पढाईमा मात्रै केन्द्रित भएँ । बनारसमा मैले दुई विषयको पढाई गरेँ, साहित्य र आयूर्वेदको । साहित्यतर्फ मध्यमा (आइएजस्तै) मा विश्वविद्यालय टप गरेर छात्रवृत्ति पाएँ । त्यसपछि मेरो आर्थिक समस्या दुर भयो । आयूर्वेदमा पनि आचार्य गरेर वैद्य भएँ । म भारत र नेपाल दुवैतर्फ रजिस्टर्ड वैद्य हुँ ।

यति पढिसकेर नेपाल फर्केँ । बुटबलमा अञ्चल पञ्चायतले साप्ताहिक पत्रिका चलाउथ्यो । मलाई प्रधानसम्पादकको अफर आयो । त्यसताका मेरो लेखन यात्रा अगाडि बढिसकेको थियो । बनारस बस्दा मेरा केही कृतिहरु छापिएका पनि थिए । मैले नासु सरहको प्रधानसम्प्ादकको पद स्वीकार गरेँ र ३ वर्ष काम गरेँ । त्यस पत्रिकामा काम गर्दा पञ्चायतको गुणगान मात्रै गाउनुपथ्र्यो । ३ वर्ष काम गरेपछि वाक्क लाग्यो । त्यो छोडेर बुटबलमा केही साथीहरुसँग मिलेर लुम्बिनी कलेज खोलियो, २४ सालमा । म त्यसैमा पढाउन थालेँ ।

हामीले खोलेको कलेजलाई मान्यता दिइएको थिएन । त्यसैले हामीले कलेजलाई मान्यता दे भनेर जुलुस निकाल्यौं । त्यसपछि त कांग्रेस-कम्युनिस्टले आन्दोलन गर्न थाले भनेर भनेर हामीलाई पक्राउ गरी राजकाज मुद्दा लगाएर थुने । तीन वर्षको मुद्दा लगाए पनि एक वर्षपछि हामी निस्कियौं । जेलभित्र राजनीतिक कार्यकर्ताहरु धेरै थिए । निस्किँदासम्म मलाई राजनीतिको रस पसिसकेको थियो ।

त्यसपछि बनारसबाट पुष्पलालले बोलाउनुभो । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टी पुनर्गठन गर्दैछौं, तपाईंले सांस्कृतिक मोर्चा सम्हाल्नुस ।’ मैले स्वीकारेँ । हामीले सांस्कृतिक मोृर्चा निर्माण गर्दा मदन भण्डारी बनारसमा पढ्न आउनुभएको थियो । मभन्दा ८-९ वर्ष कान्छो हुनुहुन्थ्यो । उहाँको साहित्यमा झुकाव थियो । एउटा कवि सम्मेलनका लागि लेखेको कविता मलाई देखाउनुभएको थियो । किसान शिर्षकको छन्द कविता थियो । मैले अलिअलि मिलाइदिएँ ।

पुष्पलालले मदन भण्डारीको प्रतिभा देखेर उनलाई पार्टीमा ल्याउन प्रयत्न गर्नुस भन्नुभयो । तर, उहाँको पारिवारिक अवस्था राम्रो रहेनछ । जेठो दाजु जोगी भएर हिँड्नु भएको रहेछ । उहाँ माइलो । बाआमा बुढाबुढी भइसकेका । ताप्लेजुङमा झोडा फाँडेर बस्नुभएको रहेछ  । ‘म राजनीतिमा आउन सक्दिन । परिवारको सम्पुर्ण जिम्मेवारी मेरो काँधमा छ,’ उहाँले भन्नुभयो । यद्यपि, सांस्कृतिक मोर्चामा आउन तयार हुनुभयो । मोर्चामार्फत भारतभरी मैले संगठन गरेँ ।

वीपी, पुष्पलाल र गणेशमान

हामीले नेपालमा प्रजातन्त्र ल्याउन नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी मिल्नुपर्छ भनेर अडान लिँदै आएका थियौं । तर कम्युनिस्ट-कम्युनिस्ट बीचमै एकता थिएन । पुष्पलाल र मनमोहन अधिकारी आपसमा नमिल्ने । उहाँहरु नाताले साढुदाई-साँढुभाई हुनुहुन्थ्यो । मनमोहन भन्नुहुन्थ्यो, ‘त्यो पुष्पलालले केही लछारपाटो लाउदैन ।’ उहाँ आफू भने दुई-चार बुद्धिजिवीहरुसँग भुलेर बस्नेभन्दा केही नगर्ने । जबकि पुष्पलाल खटेर संगठनको काम गर्नुहुन्थ्यो ।

Modnath prasitहामीले पुष्पलालको पार्टी राम्रै बनायौं । त्यसपछि कांग्रेस-कम्युनिस्ट संयुक्त मोर्चाका लागि पहल थाल्यौं । कांग्रेस र कम्युनिस्ट दुवै तर्फका विद्यार्थीहरुको पहलमा पुष्पलाल, गणेशमान र वीपीलाई एउटै मञ्चमा बोल्न लगाइयो । त्यहाँ नेताहरुले संयुक्त मोर्चा भएर जाने घोषणा गर्नुभयो । तर त्यसको एक महिनापछि अर्कै माहोल भयो । वीपीले भन्न थाल्नुभयो, ‘खोई, भारतमा इन्दिरा गान्धिले इमरजेन्सी लगाइन् । अब यहाँ बसेर काम गर्न गाह्रो छ । हामी त बरु नेपालै जाने । राजाले जेलमा हालिदेलान् । अब जेलै बस्ने ।’

गणेशमानको कुरा पनि त्यस्तै थियो । बरु मंगलादेवी पड्किइन् । उनी भन्थिन्, ‘हेर पुष्पलाल भाई, यी बुढा गोरुले खेत जोत्दैनन् । यिनीहरु राजाको तबेलामा घाँस खान जाने भए । बरु म बस्छु । संयुक्त मोर्चा बनाएर जाउँं ।’ तर, वीपी र गणेशमान नभएपछि पुष्पलालले उनलाई के भर गर्थेर् । उनी निराश बने । हामीलाई भन्न थाले, ‘म अब एक-दुई वर्ष अध्ययनमा लाग्छु, बरु तपाईंहरु पनि आयआर्जनतिर लाग्नुस ।’

पुष्पलालको निराशापछि हाम्रो जनवादी क्रान्तिकारी सांस्कृतिक समुहमार्फत म, मदन भण्डारी र जिवराज आश्रतिले मिलेर मुक्ती मोर्चा भन्ने पत्रिका निकाल्न थाल्यौं । मदन भण्डारी सांस्कृतिक आन्दोलनमार्फत बिस्तारै-बिस्तारै राजनीतिमा धकेलिदै जानुभएको थियो । हाम्रो पत्रिकामा पुष्पलाललाई हान्यौं, वीपी, गणेशमान सबैलाई हान्यौं ।

मेरो भारतभरी पकड थियो । त्यसलाई प्रयोग गरेर हामीले मुक्तीमोर्चा समुह निर्माण गर्‍यौं । नेपालमा झापाली युवाहरुको एउटा संगठन व्यक्तिहत्याको राजनीतिमा संलग्न थिए, कोअर्डिनेसन केन्द्रका नाममा । त्यसको नेतृत्व सिपी मैनालीले गरेका थिए ।

हामीले उनीहरुसँग पनि कुरा गर्‍यौं । उनीहरुले पनि एकतामा रुची देखाए । ०३६ सालतिर हाम्रो एकता भयो र नेकपा माले गठन भयो । माले निर्माणपछि देशभरका युवाहरुको लहर हामीतिर सोहोरिएर आयो । पार्टी चाँडै देशव्यापी बन्यो । मैले लेखेका किताबहरु पार्टीको पाठ्यक्रमका रुपमा देशभर छरिए ।

कविता टाँसेर जेलबाट भागेँ

मुक्तिमोर्चाको छपाईंका लागि बनारसमा जानुपथ्र्यो । छापेर फर्किने क्रममा ३७ सालमा म पक्राउ परेँ । हामीलाई भैरहवाको जेलमा राखियो । जेल परेको ६ महिनापछि हामी भाग्न सफल भयौं ।

त्यतिबेला जेलमा हाम्रो समुहका ६-७ जना थियौं । भित्रको झ्यालको डण्डी बिचमा खिइएको थियो । त्यसलाई काटेर बाहिर निस्कने योजना बनायौं । हामीलाई खाना लिएर आउनेहरुलाई भन्यौं, ‘भोली खिर लिएर आउनु, खिरभित्र एउटा ह्याक्सो र केही नटबल्टु ल्याउनु ।’

खिरभित्र चेक हुने कुरा भएन । हामीले मागेको सामान जेलभित्र आयो । जेलभित्र हामीसँग वाध्यवाधनका सामग्रीहरु थिए । बेलुकी भएपछि हामी एकथरी डम्फु बजाएर गित गाउने र अर्काथरी ह्याक्सोलेझ्यालको डण्डी काट्न थाल्यौं । त्यसपछि खापाहरु पनि निकाल्यांैं । ३-४ वटा खापालाई नटबल्टुले जोडेपछि पर्खाल बराबर भयो । त्यसलाई बाहिर पर्खालमा हामी भाग्यौं । त्यतिबेला रातको ४ बजेको थियो । भाग्नुअघि मैले एउटा कविता लेखेर जेलको भित्तोमा टाँसिदिएको थिएँ । कविता यस्तो थियोः

यी द्विपद्विपलाई स्टेसन बनाइ हिँड्ने
यी चन्द्र शुक्र मंगल जङ्सन बनाइ उड्ने
आकाशलाई चिर्दै नक्षत्रलोक चहार्ने
हाम्रो अनन्त यात्रा ब्रम्हाण्ड जित्नलाई
के रोक्न सक्छ फुच्चे पर्खालले मलाई

Modnath 4
पागलबीच गोलघरमा

जेलबाट निस्केपछि हामीले एउटा अन्डर ग्राउन्ड प्रेस खोल्यौं । एउटा डाँडामाथि गोठ जस्तो बनाएका थियौं । मुन्तिर सुरुङ खनेर ठूलो हल बनायौं । बनारसबाट टाइपराइटर मगाइसकेका थियाैं । तर, काम सुरु नगर्दै म प्रेस नजिकै रहेको डेराबाट पक्राउ परेँ । त्यो काम त्यत्तिकै थन्कियो र टाइपराइटर कवाडीमा परिणत भयो ।

जेल ब्रेक गरेको भनेर मलाई काठमाडौंमा लगेर गोलघरमा राखियो । त्यहाँ मसँगै ५ जना पागलहरु राखिएका थिए । म पाँच महिनासम्म ती पागलहरुसँग गोलघरमा बसेँ । यस क्रममा पागलहरुको मनोविज्ञान र विशेषताहरु धेरै अध्ययन गर्ने मौका पाएँ । त्यसका अनधारमा मैले बहुलाहरुसँग पाँच महिना भन्ने लेख लेखेको छु । त्यसको ७-८ वर्षपछि मात्रै म जेलबाट छुटेँ ।

गणेशमानलाई नांगै बनाएर घुमाइयो

हामीले संयुक्त मोर्चा बनाउने प्रस्ताव गर्‍याैं तर उनीहरुले मानेनन् । यसबाट हाम्रा कार्यकर्ता आक्रोशित बनेका थिए ।

यसैबीचमा कांग्रेसका नेता गणेशमान सिंह हेटौडामा भाषण गर्न पुगेका रहेछन् । भाषण सुन्न हाम्रा कार्यकर्ता पनि ठूलै संख्यामा पुगेका थिए । मञ्चबाट गणेशमानले कम्युनिस्टहरुलाई गाली गर्न थाले । त्यसबाट क्रोधित भएर हाम्रा कार्यकर्ताले गणेशमानलाई मञ्चबाट ओरालीकन नांगैझार पारे । उनको लगौंटीसमेत फुकालिदिएर हेटौडा बजार घुमाउँदा कांग्रेस कार्यकर्ता हेरेको हेर्‍यै भए ।

त्यो घटनापछि बल्ल गणेशमान सिंह संयुक्त मोर्चा बनाउनेतर्फ सकारात्मक बनेका हुन् । त्यो देखेपछि मनमोनहन पनि आउनुभो एकता गर्न । गणेशमान, मनमोहन सबैलाई मिलाएर त्रिचन्द्र क्याम्पसमा सभा गरियो र जनआन्दोलन सुरु भयो ।

४६ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्र आएपछिको पहिलो चुनावमा म हारेँ । रुपन्देहीबाट उठेको भए जित्थेँ, तर अर्घाखाचीको टिकट पाएकाले हारेँ । ५१ सालको चुनावमा रुपन्देहीबाट जितेँ र एमाले अल्पमतको सरकारमा शिक्षा मन्त्री भएँ । पछिल्लो कालखण्डमा राजनीतिबाट निवृत्त भएर लेखनमा केन्द्रित  भएको छु ।

साहित्यकार तथा एमालेका पूर्व नेता प्रश्रितसँग चिरञ्जीवी पौडेलले गरेको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?