Comments Add Comment

डोकोमा ढुंगा बोक्दै धुर्मुस-सुन्तली, दोस्रो बस्ती निर्माण सुरु (भिडियोसहित)

चार करोड लागत अनुमान, २२ लाख संकलन

Dhurmus

२९ वैशाख, काठमाडौं । हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम बुधबारबाट सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन सो बस्ती शिल्यान्यास गरिएको थियो ।

सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको उनको भनाई छ ।

यस अघि काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । ‘सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकीकृत बस्ती बन्नेछ’ धुर्मुस भन्छन् ।

पहिलो एकीकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् । उनले भने, ‘हामीले नेतृत्व मात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ आवश्यक छ ।’

पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी सामानका पनि धुर्मुस-सुन्तलीले आह्वान गरेका छन् । उनीहरु आफैं बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर कार्यक्षेत्रमा खटिएका छन् ।

२२ लाख संकलन

बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । ६५ भूकम्पपिडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थलनिर्माण सम्पन्न गर्न ४ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

‘काम सुरु गरिसकेका छौँ, तर पर्याप्त रकम छैन,’ उनले भनिन्, ‘अन्य अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नु पर्नेछ ।’ गिरान्चौर एकीकृत बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरुले बताएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्प प्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment