Comments Add Comment

फाष्ट ट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा नै बनाऔंः बाबुराम

'यसले समृद्धिको दिशामा क्वान्टम जम्प हान्नेछ'

Baburam bhattrai

२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले फाष्ट ट्र्याक र दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने बताएका छन् ।

आफ्नो नेतृत्वको सरकारले नै फास्ट ट्र्याकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरेको भन्दै उनले राष्ट्रिय आयोजनाहरुबारे राष्ट्रिय सहमति नबन्नु र फाष्ट ट्र्याक र दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा नै विवाद हुनु दुःखद भएको उनले बताए ।

भट्टराईले राष्ट्रिय गौरवका योजनालाई विभागीय मन्त्रालयमा छाडेर मात्र नहुने भन्दै भट्टराईले समन्वयात्मक ढंगले नीति र योजना निर्माण र कार्यान्वयन र अनुगमन गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत अधिकारसम्पन्न संयन्त्र निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘राज्यले नै विभिन्न श्रोतहरूबाट सहुलियतपूर्ण ऋण लिएर, स्वदेशी विदेशी प्राविधिक र व्यवस्थापकको सेवा लिएर आफैले सम्पन्न गर्नु उपयुक्त हुन्छ ।’

उनले अघि भने, ‘यसलाई राम्ररी सम्पन्न गर्न सक्यौं भने यसले हाम्रो राष्ट्रिय क्षमता र आत्मविश्वास हृवात्तै बढाउनेछ, ठूलो मात्रामा निजी र विदेशी लगानीको ढोका खोल्नेछ र देशले विकास र समृद्धिको दिशामा क्वान्टम जम्प हान्नेछ ।’

यद्यपि ठूला योजनामा ठूलो धनराशी, उच्च प्रविधि, आधुनिक व्यवस्थापन आवश्यक पर्ने र शुरुको चरणमा राज्य वा निजी क्षेत्रले एक्लै गर्न नसक्ने र विदेशी लगानी सहजै आकर्षित नहुने उनले बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘कुन राज्य आफैले गर्ने, कुन सार्वजनिक-निजी साझेदारीमा गर्ने र कुनमा विदेशी लगानी भित्र्याउने भनेर परियोजनाको आवश्यकता र सम्भाव्यता हेरी प्रत्येकको ठोस निर्णय राज्यले गर्नुपर्छ ।’

ठूला र जटिल परियोजना सम्पन्न गर्न राष्ट्रिय क्षमता नपुग्ने भएकाले विदेशीलाई नै दिनुपर्छ वा विदेशी कम्पनीलाई दिएपछि राष्ट्रियता नै धरापमा पर्छ भन्ने दुवै एकांगी सोच भएको उनले बताए । परियोजनाको गुण र दोषका आधारमा निर्णय गर्नुपर्ने उनले बताए ।

भारत र चीन नै तत्काल विदेशी लगानीका मुख्य सम्भावित श्रोत भएको भन्दै उनले दुवैका संवेदनशीलता र हाम्रो राष्ट्रिय हितलाई ध्यान दिंदै कुन परियोजना र क्षेत्रमा कुनलाई प्राथमिकता दिने भन्ने निर्णय गर्नुपर्ने पूर्व प्रधानमन्त्री भट्टराईले बताएका छन् ।

नयाँ शक्तिका संयोजक भट्टराईले भनेका छन्, ‘सामान्यतया दक्षिण भागमा दक्षिणी छिमेकी र उत्तर भागमा उत्तरी छिमेकीलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment