+
+

नम्बरी जग्गा दाइजो नपाउँदा बिहे भाँडियो

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते ५:४४

marrige४ जेठ, काठमाडाैं । पर्साको लखनपुर-४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन-३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते तय भएको थियो ।

विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेको भए पनि बेहुला पक्षले जन्ती लिएर नआएपछि विवाह भाँडिएको हो। विवाहमा जन्तीलाइ खुवाउनका लागि बेहुलीको घरमा खानाका विभिन्न परिकार खेर गएको अाजको अन्नपूर्णले जनाएको छ ।

बेहुली पक्षले बेहुला पक्षलाइ दाइजोमा नगद ५० हजार रुपैया र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको विहे बैशाख १७ गते हुने तय भएको थियो।

दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाइ नगद ५० हजार रुपैया बिवाह तय गरिएको मिति भन्दा एक हप्ता पहिले नै बुझाइसकेका थिए। तर नम्बरी जग्गा (खेत) बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिने प्रस्ताव राखेपछि बेहुला पक्षले अस्विकार गरेको थियो।

यतिमात्रै होइन् बेहुला पक्षले त्यही निहुमा उनले बैशाख १४ गते बेहुलीको घरमा लैजानु पर्ने विहेको सगुन पनि लिएर गएनन्।बेहुलाको घरबाट सगुन नआएपछि चिन्तित भएका बेहुलीका बुबा मथुराले बैशाख १५ गते जिल्ला मालपोतमा कार्यालयमा गएर मोहीको पाँच कठ्ठा १० धुर जग्गा छोरी सुनिताको नाममा गरिदिए।

छोरीको नाममा गरिएको मोहीको जग्गाको कागजात सहित मथुराले बैशाख १६ गते आफना एक जना आफन्तलाइ बेहुलाको घरमा पठाए। तर बेहुलाका बुबा गणेशले उल्टै बेहुली पक्षकालाइ हप्काएर फिर्ता पठाइदिए।

यता, बैशाख १७ गते जन्ती आउने आशमा बसेका बेहुलीका बुबा राति अबेरसम्म पनि बेहुलाको जन्ती नआएपछि निराश भएका छन्।

उनले भने, ‘जन्ती आउँछ भनेर म ढुक्क थिए, जन्तीको स्वागतका लागि सबै तामझाम गरेका थियौ, तर जग्गाकै निहुँ बनाएर केटा पक्षले जन्ती ल्याएन, मेरो छोरीको भविष्यसँग खेलवाड गरे।’

छोरीको विवाह भाँडिएपछि मथुराले दाइजोमा दिएको नगद फिर्ता र विहेको तयरीमा खर्चको क्षतिपूर्ति उपलब्ध गराइदिन माग गर्दै वैशाख २० गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिए।

मथुराको उजुरीको आधारमा  इलाका प्रहरी कार्यलय पोखरीयामा आइतवार प्रहरीको रोहबरमा पन्चायती (सर्वपक्षीय बैठक) बस्यो।पन्चायतिमा दाइजो नपाएको निहुमा बिबाह भाँडने बेहुला पक्षलाइ कानुनी कारबाही गर्नुको सट्टा गाँउका भद्रभलादमी र अगुवाहरुले पिडित बेहुली पक्षलाइ दबाब दिएर मिलापत्र गर्न लगाए।

पञ्चायतीमा दाइजो बापत बेहुलाका बुबा गणेशले लिएको ५० हजार रुपैया नगद बेहुलीका बुबा मथुरालाइ फिर्ता दिने सहमति भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्र बहादुर शाहले बताए।

पञ्चायतीमा दुवै पक्षले मिलापत्र गर्छौ भनेपछि प्रहरीले कार्वाही प्रकृया अगाडि बढाएन, उनले भने, ‘ गाँउसमाजले गरेको निर्णयको विरोधमा जादा प्रहरीलाइ नै अप्ठयारो पर्ने भएकाले हामीले हस्तक्षेप गरेनौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?