Comments Add Comment

चीनको सहयोगमा बन्ने पेट्रोल भण्डारणमा १५ अर्ब लाग्ने

Nepal-Oil३ जेठ, काठमाडौं । चीन सरकारको सहयोगमा देशका विभिन्न तीन ठाउँमा नयाँ पेट्रोलियम भण्डारण बन्ने भएको छ ।

सरकारले आपूर्ति नहुँदा पनि कम्तिमा ९० दिनलाई पुग्ने गरी पेट्रोलियम भण्डारण गर्ने योजना अन्तरगत चीनको सहयोग लिन लागेको हो ।

काभ्रेको पाँखखाल, नुवाकोटको बट्टार र तनहुँको खैरहनीमा नयाँ पेट्रोलियम भण्डारण केन्द्र बनाउन चीन सरकारले सहमति जनाइसकेको छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा पेट्रोलियमको भण्डारणका लगि सहयोग गर्ने सहमति भएको थियो ।
‘अहिले भण्डारण क्षमता कमजोर हुँदा आपूर्ति केही दिन असहज हुनासाथ समस्या उत्पन्न हुने गरेको छ’ आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने-‘त्यसैले नयाँ भण्डारण केन्द्र स्थापना गर्न प्रक्रिया सुरु भएको हो ।’

तीन भण्डारण केन्द्रका लागि १५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक अनुमान छ । यसमा चीन सरकारले कति लगानी गर्ने भन्ने तय हुन भने बाँकी छ । नेपाल सरहकारले पनि यसको केही हिस्सा लगानी गर्नेछ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सरकारले यो विषयलाई समेटेकाले सम्भाव्यता अध्ययन र जग्गा अधिग्रहण लगायतका कामका लागि यसवर्ष बजेट विनियोजन हुने सम्भावना छ ।

चीनलाई निम्तो

आपूर्ति मन्त्रालयले चीनलाई यी तीन आयोजनाको सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया सुरु गर्न भन्दै पत्र पठाएको छ । परराष्ट्रमार्फत पठाइएको पत्रमा तीन ठाउँमा पेट्रोलियम भण्डारणको सम्भाव्यता अध्ययनका लागि चीनको प्राविधिक सहयोग मागिएको छ ।

अब केही समयभित्रै चीनको प्राविधिक टोली आएर तीनै ठाउँमा भण्डारण केन्द्र राख्नेबारे अध्ययन सुरु गर्ने प्रवक्ता रेग्मीले जानकारी दिए ।

चीनबाट समेत इन्धन आयात गर्ने सहमति भइसकेकाले नयाँ तेल भण्डार आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । पाँचखाल, बट्टार र खैरहनी चीनबाट तेल आयात भएमा भण्डारणका लागि अति उपयोगी हुनेछन् ।

केरुङ नाकाबाट भित्रिने इन्धन बट्टार र खैरहनीमा भण्डारण गर्न सकिने छ भने तातोपानीबाट भित्रिने इन्धन पाँचखालमा स्टोरेज हुनेछ । थानकोट डिपोको क्षमता पनि कमजोर भएकाले भारतबाट भित्रिने इन्धन पनि पाँचखालमा भण्डारण गर्न सकिने छ ।

कहाँ कति भण्डार ?

सरकारले नयाँ स्थापना गर्ने पेट्रोलियम भण्डारण केन्द्रमा एकैपटक १ लाख ६३ हजार मेट्रिक टन  इन्धन भण्डारण गर्न सकिने छ । काभ्रेको पाँचखालमा बन्ने भण्डारण केन्द्र ७१ हजार मेटि्रक टन क्षमताको हुनेछ ।

यस्तै बट्टार र खैरहनीको केन्द्रमा ४६/४६ हजार मेटि्रक टन पेट्रोलियम पदार्थ अटाउनेछ । ‘यो हाम्रो प्रारम्भिक तयारी मात्रै हो’ प्रवक्ता रेगमीले भने-‘सम्भाव्यता अध्ययनपछि भण्डारण केन्द्रको क्षमतामा थपघट हुनसक्छ ।’

अहिलेको योजनाअनुरुप झण्डै १ लाख ५३ हजार मेटि्रक टन तेलका लागि नयाँ भण्डारण बन्नेछ । यसअनुसार यी तीन केन्द्रमा झण्डै २० करोड लिटर तेल भण्डारण हुनेछ ।

सरकारले ३ वटै भण्डारणका केन्द्रको निर्माणका लागि उपयुक्त जग्गाको पहिचान गरिसकेको छ । तर, सम्भाव्यता अध्ययनपछि मात्रै अधिग्रहणको प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

पहिलोपटक ग्यासको भण्डारण

चीनको सहयोगमा ग्यासको भण्डारण पनि सुरु गर्ने सरकारको योजना छ । अहिलेसम्म नेपालमा ग्यासको भण्डारण छैन । त्यसैले चीनले अहिले गर्ने सहयोगमा आधारित भएर नेपालमै पहिलोपटक ग्यासको भण्डारण बनाउने योजना बनेको छ ।

यसअनुसार १० हजार मेट्रिक टनको ग्यास भण्डार निर्माण हुनेछ । काभ्र्रेको पाँचखालमा बन्ने ७१ हजार मेटि्रक टनको इन्धन भण्डारमै १० हजार मेट्रिक टन ग्यासको स्टोरेज गरिने आपूर्ति प्रवक्ता रेग्मीले बताए । १० हजार मेटि्रक टन ग्यास ५ सय ५५ बुलेट बराबर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment