Comments Add Comment

सैनिक श्रीमती संघ भन्छः संकलित रकम सेनाकै परिवारलाई !

'कन्सर्टले महिला सशक्तिकरणमा टेवा पुग्यो'

Amarpanchi kathmandu (5)४ जेठ, काठमाडौं । भूकम्पपीडितको सहयोगका लागि भन्दै भारतीय हिरोइनहरुलाई सैनिक मञ्चमा नचाएर विवादमा तानिएको सैनिक श्रीमती मञ्चले एउटा विज्ञप्ति जारी गरेको छ । सबैलाई धन्यवाद ज्ञापन गर्दै जारी गरिएको विज्ञप्ति आफैंमा विवादास्पद छ ।

चार बुँदे विज्ञप्तिमा कन्सर्टबाट संकलित रकम भूकम्पपीडितलाई दिइने कतै उल्लेख छैन । बरु बहालवाला र भूतपूर्व सैनिक परिवार यसबाट लाभान्विन हुने प्रष्टै उल्लेख गरिएको छ ।

विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‍याउने उद्देश्य रहेको छ ।’

सोही बुँदामा संघले विनाशकारी भूकम्पलगायत विपतपूर्ण अवस्थामा देशका विभिन्न भागमा पुगी राहत वितरण गरेको अवगत गराइएको छ ।

तेस्रो बुँदामा यो कार्यक्रमले महिला सशक्तिकरण अभिवृद्धि गर्न मद्दत पुगेको विश्वास संघले व्यक्त गरेको छ । चौथो बुँदामा यस प्रकारका कार्यक्रमलाई थप सफल र उपयोगी बनाउन सञ्चारजगतदेखि नागरिकसमाजसम्मको रचनात्मक सहयोग र सुझावको अपेक्षा व्यक्त गरिएको छ ।

अब फर्किउँ दोस्रो बुँदामै । संघले सुरुदेखि नै यो कार्यक्रम भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको भनेर प्रचारप्रसार गरेका थिए । कार्यक्रमका विषयमा आयोजित पत्रकार सम्मेलनमा एक बहालवाला सैनिक अधिकारी नै उपस्थित भएर भनेका थिए, ‘मेन फोकस भूकम्पपीडितको सहयोग नै हो ।’

त्यसो भए संघको विज्ञप्तिमा किन यो शब्द उच्चारण भएन त ? यस विषयमा जिज्ञासा राख्न हामीले सैनिक श्रीमती संघको कार्यालयमा सम्पर्क गर्‍यौं । आफूलाई सूचना अधिकृत बताउने नवराज घिमिरेले फोन उठाए । अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘हामी सबै कुरा पारदर्शी रुपमा गर्छौंं । जेमा खर्च हुन्छ त्यो सबैलाई थाहा दिइन्छ ।’

कन्सर्टबाट उठेको रकम भूकम्पपीडितसम्म पुग्छ कि पुग्दैन त भन्ने प्रश्नमा उनले भूकम्पबाट क्षति भएका सम्पदा, स्कुल लगायतको पुनर्निर्माणमा केही रकम दिन सकिने उल्लेख गरे ।

त्यसो त सैनिक मञ्चमा गरिएको कन्सर्टको आम्दानीभन्दा खर्च बेसी भएको चर्चा पनि चलिरहेको छ । यसैले गर्दा पनि कतै सैनिक श्रीमतीहरुले बोली फेरेका त होइनन् ?

अहिलेसम्म संघले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छैन । सूचना अधिकृत घिमिरे भन्छन्, ‘आम्दानी र खर्चका विवरणहरु संकलन गर्ने क्रम जारी छ । सबै संकलन भएपछि जानकारी दिने नै छौं ।’

उनले भारतीय नायिकाहरुलाई कति रकम तिरेर ल्याइएको हो भन्ने खुलाउन मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment