Comments Add Comment

पाल्पाको छहरा–तीनगिरे सडक चौडा बन्दै

१२ जेठ, पाल्पा । छहरा–तीनगिरे सडक चौडा बनाउने कार्य चलिरहेको छ । छहरा, मेहलधाप, तीनगिरेको ९.५ किलोमिटर सडक छ मिटर चौडा गर्ने काम भइरहेको हो । छहरा बजारदेखि मेहलधाप बजार क्षेत्रसम्म चौडा गर्ने काम सम्पन्न भएको छ ।

हार्थोक–छहरा–तीनगिरे सडक अपग्रेडिङ परियोजनाअन्तर्गत छहरा–तीनगिरे सडक पहिलो चरणमा फराकिलो गर्ने काम भइरहेको छ । यस आवको कात्तिक २४ गतेदेखि सुरु भई आगामी आवको २०७३ माघ २८ गते काम सम्पन्न गर्नुपर्नेछ ।

फाइल फोटो
फाइल फोटो

छ महिनाको अवधिमा आठ प्रतिशत मात्र काम भएकाले निर्माण सम्पन्न गर्न आगामी फागुन चैतसम्म लाग्न सक्ने ठेकेदार पक्षका इन्जिनियर अजय बानियाँले जानकारी गराउनुभयो । नाकाबन्दीका कारण इन्धनको समस्या भएकाले समयमा काम सुरु गर्न नसक्दा केही दिन ढिलो भएको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा रु आठ करोड २२ लाख ७३ हजार ३६६ भ्याटसहितको रकममा सो सडक निर्माण हुँदैछ । परियोजनाअनुसार सडक चौडा, नाली, वाल र कालोपत्रे गर्ने काम हुनेछ । सडकको काम पूरा भएपछि पाल्पा र अर्घाखाँची जिल्लाका यात्रु सहजै तानसेन हुँदै बुटबल र पोखरा जान सक्नेछन् ।

स्थानीय खुमा पोखरेलका अनुसार यस क्षेत्रको सडकमा कालोपत्रे भएपछि जिल्ला सदरमुकाम तानसेन लगायतका स्थानमा पुग्न सहज हुने र स्थानीय उत्पादनले बजार पाउनेछ । सडक निकै साँघुरो र अप्ठेरो भएकाले यात्रामा समस्या हुने गरेको थियो । तीनगिरेदेखि छहरासम्म कालोपत्रे हुने भएपछि यहाँका स्थानीय बासिन्दासमेत खुसी बनेका छन् । स्थानीयवासीले दूध, तरकारी आदि उत्पादन गर्दै आएका छन् ।

जिल्ला विकास समिति पाल्पाका इन्जिनियर राजाराम खड्काका अनुसार निर्माण कार्य ढिलाइ भएको छ । छ महिनाको अवधिमा १५ प्रतिशत काम सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ ।

जिविसका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गाबहादुर थापाले समयमा नै निर्माण कार्य सम्पन्न गर्न सुझाव दिएको बताए । ठेकेदार पक्षको बेवास्ताका कारण ढिलासुस्ती गरी समयमा निर्माण नभएमा कडा कारबाही हुने बताए ।

डोजरको प्रयोग गरी सडक चौडा बनाउने कार्य गर्दा वातावरणीय असर गर्न सक्नेछ । सडक विस्तार गर्दा ठूलो मात्रामा धुलो उड्ने र सडकको तल्लो भागमा माटो फालिदिँदा साना बोटबिरुवा ढाकिएका छन् ।

बर्सातका बेला डोजरको प्रयोग गरी खनिएका सडक पहिरो जाने र सडकमुनि माटो फाल्दा माटो बगाउँदा भूक्षय हुने खतरासमेत बढेको छ । स्थानीय सामुदायिक वनले सडकको माटो सहीरुपले प्रयोग गर्न नसकेको अवस्थामा वर्षाका बेला समस्या आउन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment