ट्रेलर वा गीत रिलिज भएपछि १ लाख पटक युटुबमा हेरियो भने निर्माता-निर्देशक दंग पर्छन् । चलचित्रमा काम गर्ने कलाकारको त झन् कुरै नगरौ, फेसबुकमा शेयर गरेर उनीहरु हिट भएकोमा दंग हुन्छन् । नेपाली चलचित्रका ट्रेलर, गीतले छोटो समयमै १ लाख पटक दर्शक पाउनु आफैमा नौलो कुरा हो ।
तर, अब विस्तारै समय बदलिएको छ । सामाजिक संजालको प्रभाव, चलचित्रको ब्रान्ड आदिका कारणले गर्दा अब १ लाख पटक दर्शक पाउनका लागि धेरै दिन कुर्नुपर्दैन । पछिल्लो समयम त केही चलचित्रका गीत र ट्रेलरले २४ घन्टा नवित्दै १ लाख बढी पटक दर्शक पाएका छन् ।
चलचित्र ‘ड्रिम्स’को ट्रेलर रिलिज भएको २४ घन्टा नवित्दै १ लाख पटक दर्शकले हेरे । २ दिनमा २ लाख, ३ दिनमा ३ लाख हुँदै यसका दर्शक बढेका थिए । अनमोल केसीको स्टारडमले युटुबमा पनि काम गरेको प्रष्ट थियो ।
केही दिन अगाडि रिलिज भएको चलचित्र ‘छक्का पन्जा’को गीतले पनि २४ घन्टा नकट्दै १ लाख बढी दर्शक पायो । यो चलचित्रको गीतलाई ५ दिन भित्रमा करिब ३ लाख पटक हेरिएको छ ।
२४ घन्टा नवित्दै चलचित्र ‘लुट २’को टिजरले अर्को रेकर्ड राखिसकेको छ । यो चलचित्रको टिजरलाई पनि २४ घन्टा नवित्दै १ लाख बढीले हेरिसकेका छन् ।
चलचित्रको ब्रान्ड बनाउन सकेको खण्डमा वा मेकर नै चर्चित रहेको खण्डमा अहिले युुटुबबाट चलचित्रका प्रचार सामाग्रीलाई दर्शकले रुचाउन थालेका छन् ।
नेपाली चलचित्र हेर्ने दर्शक पनि अहिले युटुबमा बढेको पाइन्छ । नाम सुनिएका, व्यापार राम्रो गरेका, चर्चित कलाकार भएका चलचित्रले युटुबमा रेकर्ड राखिरहेका छन् ।
चलचित्र बनाउनेहरु अहिले युटुबमा पाएको दर्शकको संख्याको आधारमा चलचित्रको व्यापार आँकलन गर्न थालेका छन् । हुनत, युटुबमै हेरिएको आधारमा हलमा दर्शक आउछन् भन्ने छैन । तर, युटुबमा छोटो समयमा कुनै चलचित्रको गीत वा ट्रेलरले रेकर्ड राखेको खण्डमा त्यसप्रति दर्शकको आकर्षण वुझ्न सकिन्छ ।
प्रतिक्रिया 4