२१ जेठ, काठमाडौं । नेपाली कांगेसका सांसद धनराज गुरुङले कर्मचारी तथा सांसदको तलव बृद्धि गरेकोमा विरोध गरेका छन् । उनले संशोधन हाल्ने बताएका छन् ।
व्यवस्थापिका संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले भूकम्प पीडित जनता अझै पालमुनी रोइरहेका बेला तलव भत्ता र घरभाडा बढाउनु गलत भएको बताए । वीपीले आफू प्रधानमन्त्री हुँदा आफ्नो तलब २५ सयबाट १५ सय र मन्त्रीहरुको १५ सयबाट १ हजारमा झारेको स्मरण गर्दै उनले भने, ‘म वीपीको अनुयायी हुँ । त्यसैले यसमा विधिवत रुपमा संशोधन हाल्छु ।’
उनले सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम बढाएकामा पनि विरोध गरे । यस्तो रकममा अनियमितता भएको जनगुनासो आएको र यसले पूँजी पनि निर्माण नहुने भन्दै उनले दुबै हटाउन माग गरेका छन् ।
संसद बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै सांसद गुरुङले आफ्नो संशोधनपछि तलव वृद्धि रोकिने विश्वास गरे । यदि फिर्ता नभए बढेको रकम गरिव तथा जेहेन्दार विद्यार्थीलाई दिँदै आएको सहयोगमा थप गर्ने उनले बताए ।
उनले भने, ‘यसअघि पनि मैले आफ्नो तलवको २५ प्रतिशत छात्रवृत्तिमा खर्च गर्दै आएको छु । बढेको तलव राज्यले फिर्ता लिएन भने त्यसमा थप गर्छु ।’
प्रतिक्रिया 4