Comments Add Comment

‘भद्र सहमति’ को प्रश्नमा झलनाथ यसरी टक्टकिए

ईश्वर पोखरेल भन्छन्ः काँध फेर्ने हो, तर गलेपछि

Uml

२१ जेठ, काठमाडौं । कुनै पनि राजनीतिक एजेन्डामा अपष्ट र ढुलमुले चिन्तन एवम् व्यवहारका लागि प्रख्यात छन् एमाले नेता झलनाथ खनाल । एमाले मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो यही शैलीको एक झलक देखाए ।

एमालेले आफ्ना ३१ विभागहरुलाई पूर्णता दिएको विषयमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । त्यसो त निमन्त्रणा पत्रमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा पत्रकार सम्मेलन हुने’ उल्लेख भएकाले थुप्रै पत्रकारहरु ठाडा कान लगाएर धुम्बाराही पुगेका थिए ।

तर, प्रचार विभाग प्रमुख योगेश भट्टराईले सुरुमै बनीबनाऊ प्रष्टीकरण दिए- ‘कार्यव्यस्ताका कारण प्रधानमन्त्री उपस्थित हुन सक्नुभएन ।’

प्रधानमन्त्री नआए पनि कार्यक्रममा एमालेका थुप्रै हस्तीहरु थिए, जसमध्ये पत्रकारहरुको ध्यान तानियो दौरा सुरुवाल र कालोटोपीमा ठाँटिएका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालतर्फ । उनी गम्भीर मुद्रामा उपस्थित थिए ।

खनाल उनै हुन्, जो पछिल्लो समय ‘माओवादीसँग भएको भद्र सहमति एमालेले पालना गर्नुपर्ने’ आशयको अभिव्यक्ति दिएर मिडियामा छाएका छन् । यही विषयलाई लिएर शुक्रबार पत्रकारले सुरुमै उनीतिर प्रश्न तेस्र्याए, ‘एमाले र माओवादीबीच सत्ता हस्तान्तरणको विषयमा भद्र सहमति भएको छ भनेर तपाईं भन्दै हिँड्नुभएको छ, तपाईकै पार्टी अध्यक्षचाहिँ कुनै त्यस्तो सहमति भएको छैन भन्दै हुनुहुन्छ । यो कस्तो विरोधाभास हो ?’

मुसुक्कै हाँस्दै खनालले भने, ‘आजको सान्दर्भिक प्रश्न भएन । विभाग गठनको विषयमा सोधौं न ।’

पत्रकार के मान्थे, एकजनाले उठेर भने, ‘एमालेका लागि आज योभन्दा सान्दर्भिक प्रश्न के हुन्छ ? कमरेड खनालबाट जवाफ आउनुपर्‍यो ।’

तैपनि खनाल टक्टकिए । उनी बोल्न नचाहेपछि महासचिव ईश्वर पोखरेल अघि सरे । उनले लामो भूमिका बाँध्दै भने, ‘नेपालका प्रमुख राजनीतिक पार्टीहरुबीच सहमतिको आधारमा संविधान जारी भएको छ । जारी भएको संविधान कार्यान्वयन गर्न पनि प्रमुख पार्टीहरुबीच समझदारी चाहिन्छ भनेर हामीले भन्दै आयौं । दुर्भाग्यवस बीचमा समझदारी टुट्यो । सँगै हिँडिरहेको एउटा पार्टनर चिप्लेर कसोकसो हामीबाट छुट्यो ।

अहिले पनि हाम्रा दुईजना नेताहरुले बोल्नुभएको बीचमा फरक छ कि जस्तो बुझेर होला, सायद तपाईंले जिज्ञासा राख्नुभयो । कुरो केे हो भने भने, सहमतिका साथ बन्ने सरकारप्रति हाम्रो सहमति हुन्छ । हाम्रो जहिले पनि पक्षपोषण भनेको मेजर पोलिटिकल पार्टीहरुबीच सहमति आवश्यक छ भन्ने नै हो । सरकार गठनमा, संविधान कार्यान्वयनमा सहमति चाहिन्छ । प्रस्तुतिमा कताकता जोणकोण नमिलेर अलिकति अलग-अलगरुपमा सम्प्रेषण भएको हो कि जस्तो लाग्छ । त्यस्तो (विरोधाभासको स्थिति) होइन । सहमति हुन्छ भने एनी टाइम, चाहे एमालेकै नेतृत्वमा होस वा माओवादीको वा अरु कसैको, हामी अवरोध बन्दैनौं । सहमति आजको आवश्यकता हो ।’

पत्रकारले महासचिव पोखरेललाई बीचमा रोकेर फेरि सोधे,- ‘भद्र सहमति भएको चाहिँ हो कि होइन ?’

‘भद्र सहमति मलाई थाहा छैन,’ बल्ल कुरोको चुरोमा आए महासचिव, ‘भद्र सहमति भनेर केही समय पहिले पनि यो शब्द चर्चामा थियो । त्यतिबेला आयो भनेर अहिले पनि यो शब्द सापटी लिएको जस्तो लाग्दैछ । बैठकमा बस्ने ‘चश्मदीत प्रतिनिधि’ हामी पनि हौं । सहमति भनेको मूल रुपमा कन्टेन्टमा आधारित हुनुपर्छ । कसले लिड गर्छ, त्यो प्रमुख कुरा होइन । आज हामीले लिड गरेका छौं, सहमतिका लागि यसमा आउ भनेर कांग्रेसलाई भन्दैछौं । आयो भने ठिकै छ । आएन भने सहमतिका लागि नयाँ चक्रबाट हामी सुरु गछौर्ं । नयाँखालको स्थिति आउँछ भने पनि छलफल गर्न तयार छौं । यस्तोखालको कुरा पो हो त ।’

‘के झलनाथ कामरेडको पनि यही कुरा हो ?’ पत्रकारले फेरि खनाललाई नै च्यापे । बल्ल उनी बोल्न तयार भए । तर, फेरि पनि प्रष्ट कुरा गरेनन् ।

‘उहाँ (प्रधानमन्त्री) ले भनिसक्नुभएको छ । अहिलेको परिप्रेक्षमा हामी संविधान कार्यान्वयनको स्टेजमा छौं । जसरी संविधान निर्माण गर्दा र राजतन्त्रलाई उन्मुलन गर्दा सबै राजनीतिक पार्टीबीच एकता कायम गर्‍यौं, त्यसैगरी संविधानलाई कार्यान्वयन गर्न पनि साझा अन्डरस्ट्यान्डिङ चाहिन्छ भन्ने हो ।’ यति भनिसकेर खनाल एकछिन रोकिए ।

उनले फेरि बोल्न सुरु गरे, ‘कोही सत्तामा बस्ने, कोही प्रतिपक्षमा बस्ने पनि हुन सक्छ, यदि बस्नैपर्छ भन्ने आवश्यकतावोध भयो भने । तर, एउटा अन्डरस्ट्याण्डिङ बिना संविधान कार्यान्वयन गर्न सकिँदैन । संविधान कार्यान्वयनका लागि एउटा साझा सहमति चाहिन्छ, राष्ट्रिय सहमति चाहिन्छ भन्ने कुरा हाम्रो बीचमा भएकै हो । हामीले त्यो ढंगको समझदारी निर्माण गरेर विगतको संकटलाई टुंग्याएकै हौं ।’
पत्रकारले फेरि हस्तक्षेप गर्दै सोधे, ‘तपाईंले काँध फेर्ने कुरा पनि गर्नुभएको छ, त्यो चैं के हो ? प्रष्ट बोल्नुपर्‍यो ।’

तर, खनालले फेरि घुमाउरो जवाफ दिए, ‘राष्ट्रिय सहमतिको कुरा सुरुदेखि नै भएको भए पनि सबै मेजर पार्टी एकै ठाउँ आउन सकेनन् । कोही प्रतिपक्षमा बसे । जुन खालका मिसअन्डरस्ट्यान्डिङ क्रिएट भएका थिए, त्यसलाई सम्हालेर राष्ट्रिय सहमति निर्माण गर्ने कुरा हामीले गरेका छौं ।’

खनालको जवाफ पत्रकारले चित्त नबुझाएको महसुस गरेर होला, महासचिव पोखरेलले फेरि माइक समातेर भने, ‘काँध फेर्ने हो, तर गलेपछि । अहिले गलेको छैन ।’

कार्यक्रम सकिएपछि अनलाइनखबरले खनालसँग छोटो कुराकानीका लागि आग्रह गर्‍यो । उनी ‘आज त फुर्सदै छैन’ भन्दै पन्छिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment