
२० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधान पुँजीवादी संविधान भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई पूर्ण रुपमा स्वीकार गर्न नसकिने पनि बताए ।
‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायाँै । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्त्वपूर्ण कुरा राखेका छाँै,’ नेता खनालले भने, ‘यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं ।’
साथै, उनले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको जिकिर गरे ।
तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउनसके संसदमा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने उनको भनाइ थियो ।
‘चुनाव आउलान्, ती कार्यनीति लक्ष्यहरू हुन् । चुनाव नै हाम्रो लक्ष्य हुँदैन । तर चुनावमा बढी भन्दा बढी हाम्रा प्रतिनिधिहरूलाई जिताउन सक्यौँ भने त्यो संसदमा गएर पनि हामी यो नौटंकी सरकारको भण्डाफोर गर्नसक्छौँ । र जनताका आवाजहरू त्यहाँ बुलन्द गर्नसक्छौँ । बहुमत ल्यायौँ भने हामी जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्नसक्छौँ,’ खनालले भने ।
सरकारले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर गर्दै उनले नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको बताए ।
‘जस्तो हिजो नीति र कार्यक्रम आयो, नौटंकी मात्रै छ । खालि बोलिने कुरा मात्रै छन् त्यहाँ । तर गरिने कुराहरु बहुतै कम छन् । त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ । त्यसो गरेर मात्रै समस्यालाई विस्तारै बिस्तारै समाधान गरेर अघि बढाउनसक्छौँ,’ सम्मानित नेता खनालले भने ।
प्रतिक्रिया 4