Comments Add Comment

मेरी श्रीमती: धेरै केटी हेरियो, कुनामा मुना भेटिइन् !

उनले स्यान्डल लगाउँदा दुबै उत्रै हुन्छौं

Jitu and Munaहाम्रो सतप्रतिशत मागी विहे हो । हिजो जस्तो लाग्छ, उनलाई दुलही बनाएर भित्र्याएको । १४ वर्ष बितिसकेछ । ०५९ साल फागुन महिनामा हाम्रो बिहे भएको हो ।

बिहे गर्ने निर्णयमा पुगेपछि केटी खोज्न थालियो । केटी हेर्ने काम वास्तवमा साह्रै अप्ठेरो हुँदो रहेछ । नहेरिकन बिहे गर्न नसकिने । हेर्दा मन परेन भने कसरी मन परेन भन्ने । मन नपरिकन बिहे गर्ने कुरा पनि आएन । मैले आधा दर्जन जति केटी हेरेर छाडेँ । कसैको अनुहार चित्त बुझ्दैनथ्यो भने कोही मभन्दा अग्ली भएर छोड्नुपर्थ्यो ।

एक ठाउँमा केटी हेर्न गइएको थियो । मलाई केटी खासै मन परेन । ठाडै मन परेन त भन्न भएन । मैले ‘होस्, अहिले बिहे गर्दिँन’ भनेर कुरा मिलाउन खोजेँ । तर, लमीले ठाडै केटी पक्षकै अगाडि ‘केटोले मन पराएन जस्तो छ’ भनिदिए । पछि केटीले ‘आफू चैं कत्तिन राम्रो भन्ठादोरहेछ गान्टे’ भन्दै गाली गरिन् रे भन्ने थाहा पाएँ ।

कुनामा मुना

केटी हेर्ने क्रममा मेरा भिनाजु (बुवाका भाञ्जी ज्वाइँ) मार्फत एउटी केटीको कुरा आयो । उनलाई हेर्न जानुपर्ने भयो । म एक्लै जाने निर्णय गरेँ । सकभर मन परे हुन्थ्यो भन्ने सोच्दै गएँ ।

केटीलाई भिनाजुकै घरमा बोलाइएको थियो । म कोठाभित्र पस्दा दुई-तीनजना केटीहरु एक ठाउँमा डल्लो परेर बसेका थिए । मैले सबैलाई नमस्कार गरेँ । बसेपछि तीनैजना केटीहरुलाई पालै पालो हेरेँ । कसैले पनि मलाई आकर्षित गरेनन् । ‘लौ आज पनि फसियो’ भनेर सोच्दै थिएँ, भिनाजुले उता-उता भन्दै देखाउनुभो । मैले हेर्नुपर्ने केटी छुट्टै कुनामा बसेकी रहिछन् ।

मैले उनलाई हेरेर नमस्ते गर्दै ‘म जितु नेपाल’ भनेँ । उनी खितखित गरिन् । म जहाँ जाँदा पनि यसैगरी केटीलाई नमस्ते गर्थेँ । तर, उनलाई अचम्म लागेछ । मैले उनलाई नियालेर हेरेँँ, शीरदेखि पाउसम्म । हाम्रा आँखा जुधे । उनी मसक्क मस्किइन् ।

पहिलो हेराइमै मलाई उनी मन परिन् । गोरी, राम्री, चुटुक्क परेकी थिइन् । विशेषतः उनको हाँसोले नै तान्यो, चुम्बकले जसरी । मलाई हाइटमा अलिकति डर लाग्यो ।

०००
त्यतिबेला म काठमाडौंमा संघर्षरत नै थिएँ । नेपाल टेलिभिजनमा साप्ताहिक गीताञ्जली कार्यक्रम चलाउथेँ । एउटा कार्यक्रमको सात हजार आउँथ्यो । कोटेश्वर, जडिबुटीमा दाइले बनाएको घरमा बस्थेँ । बुवा बुढो भइसक्नुभएको थियो । कान्छो छोरोको बिहे नभई मर्छु कि भन्ने डर थियो उहाँलाई । त्यसमाथि मेरो भतिजोको धरी बिहे भइसकेको अवस्था थियो । त्यसैले मैले ‘जे पर्छ, पर्छ’ भनेर बिहे गर्न सहमति जनाएँ ।

फिल्म लाइनमा लागेको भएर मेरो लभ-सभ छ कि भन्ने परिवारले आशंका गरेको थियो । लभ परेको भए ल्याए हुन्थ्यो भन्ने पनि थियो होला । तर, मेरो जीवनमा त्यस्तो डिप लभ कसैसँग परेन । सानातिना लभहरु बिहेसम्म पुग्न योग्य भएनन् ।

म जस्ती केटीलाई पनि ताक्न सक्ने सर्वगुणसम्पन्न पनि थिइनँ । दाइका घरमा बसेको थिएँ । कमाइ भरपर्दो थिएन । न त्यतिसाह्रो ह्याण्डसम नै थिएँ । हाइट जम्मा पाँच फिट । त्यसैले मैले धेरै हाइफाइवाला केटी चाहेको थिइनँ । सकभर मजस्तै गाउँले जीवन भोगेकी, सरल केटी, हेर्दा कसैले छ्या नभन्ने, त्यति भए पुग्थ्यो मलाई ।

हाइट मिल्यो, कुरो मिल्यो

उनको नाम रहेछ मुना । उनी मैले चाहेजस्तै पाएँ । सिम्पल र निर्दोष । फर्पिङ, पानीपोखरीदेखि धाएर पीके क्याम्पस पढ्दिरहिछन् । भनेपछि मिहिनेती पनि छिन् भन्ने लाग्यो ।

Jitu Nepal Mundre and Muna

हिँड्ने बेलामा फेरि सबैलाई नमस्कार गरेँ । उनी जुरुक्क उभिइन् । उभिँदा हाइट ख्याल गरेँ । मभन्दा अग्ली छैनन् भन्ने अनुमान गरेँ ।

ओर्लेर मोटरसाइकल स्टार्ट गर्ने बेलामा भिनाजु हतारिँदै आउनुभो । ‘केटी कस्तो लाग्यो ? कुरा चलाउने हो ?’ भनेर सोध्नुभयो ।

‘कुरा चलाउने होइन,’ मैले आफ्नै स्टाइलमा भनिदिएँ, ‘दौडाउने हो ।’

म एक्लै गएको थिएँ मुनालाई हेर्न । उनीसँग छुट्टै बसेर कुराकानी पनि गरिएन । न घरमा कसैको सहमतिको प्रतिक्षा गरेँ । एकैचोटि हुन्छ भनिदिएँ । केटी पक्षको भने कुरा आउन बाँकी नै थियो । मलाई मन पर्‍यो भन्दैमा उनीहरुले पनि मन पराउने के ग्यारेन्टी ? आखिर म कुनै सलमान खान होइन क्यारे । यो सोचेर मनमा चिसो पनि पस्यो ।

तर, चाँडै नै उताबाट खबर आयो, केटीको घरमा आउनुपर्‍यो भनेर । केटीका बुवाले कुरा गर्न खोज्नुभएको रहेछ । यही बहानामा उनीसँग दोस्रो भेट हुने भयो । म दाइलाई लिएर हान्निँदै फर्पिङ पुगेँ । बुबासँग लामै कुरा भयो । उहाँ प्रष्ट वक्ता हुनुहुँदोरहेछ । मेरो गीताञ्जली कार्यक्रम हेर्ने गर्नुभएको रहेछ । यत्तिको प्रतिभा भएको मान्छेले मेरी छोरीलाई पाल्छ भनेर ढुक्क हुनुभएको रहेछ ।

उहाँले भन्नुभयो, ‘तपाईं कलाकार मान्छे, हामीजस्तो गाउँका साधारण मान्छेसँग किन सम्वन्ध गाँस्न खोज्नुभएको हो ?’

मैले पनि भनिदिएँ, ‘कलाकार भए पनि म हजुरहरुभन्दा साधारण छु । धन्दै मान्नुपर्दैन ।’ हामी कुरा गरिहँदा उनी ढोकाबाट मलाई चियाइरहेकी थिइन् । सबै कुरामा बुढालाई कन्भिन्स गरेँ । बिहेको टुंगो लाग्यो ।

पहिलो फोन

त्यतिबेला मोबाइल फोन अहिलेजस्तो ब्यापक भइसकेको थिएन । मैले भर्खर-भर्खर बोक्न थालेको थिएँ । उनको मोबाइल थिएन । एक दिन मेरो मोबाइलमा ल्यान्डलाइन नम्बरबाट फोन आयो ।

‘मलाई चिन्नुभो ? म मुना फर्पिङबाट,’ उनले स्वाँ-स्वाँ गर्दै भनिन् ।

उनको स्वर सुन्दा म एकाएक व्यग्र बनेँ ।

‘अहो मुनाजी, किन नचिन्नु, भन्नुस न के छ हालखबर ? धन्यवाद फोन गर्नुभएकोमा ।’ ‘बुबासँग कस्तो कुरा भो ? बुवा अलि कडा मिजासको हुनुहुन्छ । टेढो-टेढो कुरा गर्नुभएको जस्तो लाग्यो । हजुर रिसाउनुभो कि ?’

‘बुवाले जेजस्तो कुरा गरे पनि मलाई छोरी दिन्छु भन्नुभएकै छ । मैले त तपाइर्ंलाई दुलही बनाउने तयारी गरिसके है मुनाजी । बरु तपाईं मेरी श्रीमती हुन तयार हो कि होइन भन्नुस त ।’

‘हैट, त्यस्तो कुरा नगर्नुस न मसित । म त बुवाले जे भन्नुहुन्छ, त्यही मान्ने हो ।’

‘भनेपछि मैले कुरा बुझेँ तपाईंको । मेरो भाग्य चम्किने नै भो ।’

उनी खितखित गर्दै फोन राखिन् । मलाई एक्कासी डीप लभमा परेको जस्तो अनुभूति हुन थाल्यो । तर, उनीसँग मोबाइल नभएकाले डीप कुरा गर्न सकिएन ।

केही दिनपछि हाम्रो टीकाटालो भयो । टीकाटालोमा मेरो परिवार, आफन्त र केही कलाकार साथीहरु गरी ३०-३५ जना फर्पिङ गएका थियौं । पुलाउ तरकारी बनाएर खुवाए । ‘किन यति टाढा आयो केटो भनेको त यति राम्री केटी भेटेछ र पो त,’ भन्दै साथीहरुले जिस्क्याउँदा म भित्रभित्रै गदगद भएँ ।

टीकाटालो गर्दा पनि मैले हाइट तुलना गरेँ । उनले स्यान्डल लगाउँदा हामी दुवै जना उत्रै हुँदारहेछौं ।
 
पहिलो डेटिङ

टीकाटालोपछि मैले उनको घरमै फोन गरेर फोटो हेर्ने बहानामा भेट्न बोलाएँ । उनी कलंकीमा रहेको आफ्नो अंकलको घरमा आइन् । म पनि त्यहीँ गएँ । त्यहाँ केहीबेर बिताएपछि मैले उनलाई आफ्नो मोटरसाइकलमा राखे । उनी दुईपट्ट िखुट्टा झुण्ड्याएर मसित टाँसिएर बसिन् । आफूसँग टाँसिएर बसेकी केटी मेरी हुनेवाली श्रीमती हो भन्ने सोच्दा मनै तरंगित बन्यो ।

Jitu Nepal and Muna

मैले उनलाई कालिमाटी ल्याएँ । एउटा रेस्टुरेन्ट अगाडि बाइक रोकेँ । बाइक पार्क गरेर रेस्टुरेन्ट छिरेँ । तर, उनी आएकै रहिनछिन् । फर्केर जाँदा उनी हेल्मेटको फित्ता खोल्न नसकेर ठसटसी कनिरहेकी थिइन् । म आफैंले फित्ता खोलिदिएँ । त्यतिबेला हो, उनको शरीरमा मैले पहिलोचोटि टच गरेको । उनी लाजले भुतुक्कै भइन् ।

रेस्टुरेन्टमा हामी दुई साइडमा बस्यौं । उनले मलाई सोधिन्, ‘हजुर डि्रङ्स गर्नुहुन्छ कि गर्नुहुन्न ?’

मैले भनें, ‘आक्कल-झुक्कल मात्रै गर्छु । ढुक्क भए हुन्छ, बिहेपछि म मातेर घर आएर तिमीलाई कुट्दिन ।’

उनले आफ्नो ट्रेडमार्क स्टाइलमा खितखित गरिन् । उनको खितखित खाँसो मलाई औधि प्यारो लाग्न थालेको थियो ।

बोल्ने विषय खासै केही थिएन । मैले उनलाई भनें, ‘म एउटा कमेडियन । हाइट पनि छैन । गोरो पनि छैन । तैपनि मन पराइदिनुभयो । भित्रैदेखि धन्यवाद छ है ।’ उनी यसपटक मज्जाले हाँसिन् ।

बिहेअगाडि फेरि एकपटक उनीसँग भेट भयो । उनको लुगा र जुत्ताको नाप दिनका लागि बजारमा आएकी थिइन् । त्यतिबेला म भतिजीहरुसँग गएको थिएँ । उनीसँग रोमान्टिक गफ हुन पाएन ।

बिहेमा दुलाहा भोकै

बिहे गर्दा मसँग पैसा धेरै थिएन । त्यसैले धेरै तडकभडक गरिनँ । सामान्य हिसाबले बिहे भयो । बिहेमा बाजा बजाउने साह्रै रहर थियो । तर, बजाइँन । तर, साथीभाइहरुले बिहेमा धेरै रमाइलो गरे । साइपाटा गर्न तुलसी घिमिरे, ऋषि लामिछाने, दीपकराज गिरीलगायत धेरै कलाकारहरु जानुभएको थियो ।

हाम्रो बिहे गराउने बाहुन अलि कडा रहेछन् । आएका जन्ति सबैले खाना खाइसके, तर मलाई भने जग्गेबाट उठ्नै दिँदैनन् । भोकले मर्न लागिसकेँ । केही नलागेर मुखै फोरेर भनेँ, ‘ए गुरु, आफ्नो बिहेमा दुलाहाले भोकै मर्नुपर्ने नियम छ कि क्या हो यताको ?’

‘अहो, ज्वाइँ साब, अघि नै भन्नुपर्दैन ?’ भन्दै उनले लञ्च ब्रेक दिए हामी दुबैलाई ।

बिहे सकिएर अन्माउने बेलामा मलाई जेठानहरुले बोक्न खोजे । मैले ज्यान गए पनि मानिनँ । ‘कि मलाई बोकेरै कोटेश्वर पुर्‍याउनुस, होइन भने नबोक्नुस्’ भनेर अडान लिएपछि उनीहरुको केही लागेन ।

गाडी चढ्दा उनी रोइरहेकी थिइन् । गाडीमा हाम्रोपट्टबिाट आएका पुरेत र मेरी भतिजी पनि थिइन् । भतिजीले उनलाई सम्झाइन् । ‘हामी तपाईंलाई माइतीमा जस्तै माया गर्छौं, अंकल पनि कस्तो रमाइलो हुनुहुन्छ, हँसाइरहनुहुन्छ,’ इत्यादि भनेर भतिजीले सम्झाइरहँदा मैले अरुले नदेख्ने गरी सुटुक्क उनको हात समातेँ । चोभारतिर आइपुगेपछि उनी रुन छोडिन् । तर, मैले हात  छोडिनँ ।

भोलिपल्ट टुच्च

भोलिपल्ट पार्टी थियो । बिहानदेखि नै बेस्सरी पानी दर्कियो । खानपिन सबै भद्रगोल भयो । कहिले के सकियो भन्छन्, कहिले के पुगेन भन्छन् । दुलाहा मान्छे आपै+m दौडादौड गर्नुपर्‍यो । दिनभरको तनाव र दौडधुपले थाकेर लखतरान भइयो ।

बेलुकी भएपछि दाइहरु झुरुप्प बसेर ‘टुच्च’ लगाउन थाल्नुभएछ । पहिले हामी कहिलेकाहीँ परिवारमै सबैजना बसेर लगाउने गथ्र्यौं । तर, त्यो दिन मलाई नबोलाइकन सुरु गरेको देखेर झोंक चल्यो ।

दाइले भन्नुभो, ‘हेर भाइ, अब पहिलेजस्तो हुँदैन । बुहारी आएकी छिन् । तैंले रक्सी खाँदा उनले कस्तो मान्छिन् ? सोधेर मात्रै खा है ।’

‘जस्तो ठान्छिन् ठान्छिन् म त खाने हो, थोडै श्रीमतीसित डराउने हुँ र ?’ भन्दै मैले एक पेग घुड्क्याएँ । भित्रभित्रै भयंकर डर लागिरहेको थियो ।

राति सुत्ने बेलामा उनले थाहा पाइहालिन् ।

‘छ्या हजुर त कस्तो गन्हाइस्या, रक्सी खाइसेको हो ?’ उनले नाक थुन्दै सोधिन् ।

मैले पनि स्पष्टीकरण दिएँ, ‘तिमीलाई मैले पहिले नै आक्कल झुक्कल खान्छु भनेको थिएँ नि । हो त्यो आक्कल झुक्कल आजै हो ।’ उनी रिसाएर केही बोलिनन् ।

बिहेपछि फलीफाप

बिहेपछि हामीले हनिमुन मनाएनौं । एक त पैसा पनि थिएन । त्यसमाथि बुवा बिरामी पर्नुभयो । उहाँलाई यता र उता हस्पिटल दौडाउनुपर्ने भयो । तर, बिसेक हुनुभएन । फागुनमा हाम्रो बिहे भएको, वैशाख ९ गते बुवा बित्नुभयो । त्यसपछि त एक वर्ष घुमघाम गर्ने कुरै आएन ।

Jitu Nepal and Muna (3)

बरु बिहेको ६ महिनापछि मैले घर बनाउने सुर कसेँ । बिहेको ऋण तिरिसकेको थिएँ । आफ्नो अंशको पुख्र्यौली जग्गा बेचेर जडीबुटीमा ०५३ सालमा तीनआना जग्गा किनेको थिएँ । बैंकबाट आठ लाख ऋण लिएँ र एक तल्लाको घर बनाएँ ।

दुई वर्षसम्म ऋणको बोझले गर्दा ‘स्ट्रगल’ भयो । भनेजस्तो खाने र लाउने गर्न सकिएन । मासु खान पनि दशचोटि सोच्नुपथ्र्यो । तर, यही बीचमा नेपाल टेलिभिजनमा जिरे खुर्सानी कार्यक्रम सुरु भयो । त्यसपछि आर्थिक स्थिति सुधि्रन थाल्यो । दुई वर्षमा ऋण तिरिसकियो र घरको तल्ला थप्ने काम पनि भयो ।

जिरे खुर्सानी सुरुमा एनटीभीले आफैं चलाउँथ्यो र नियमित पैसा पनि आउँथ्यो । मिडिया हबले त्योभन्दा राम्रो पैसाको अफर गरेपछि हामी त्यहाँ गएका हौं । मिडिया हबले पनि सुरुका वर्षहरुमा नियमित पैसा दिन्थ्यो । यसै कार्यक्रमबाट हामी स्थापित भयौं । देश र विदेशका कार्यक्रममा डिमान्ड बढ्दै गयो । एक सिजनमा ३-४ लाख पनि कमाउन थालियो । कमाएको छ भन्दैमा बेफिक्री खर्च गरेनौं । जोगाउनेमा ध्यान दियौं ।

मुनाले बिहे गर्दा आइए पास गरेकी थिइन् । उनले आफ्नो पढाइलाई निरन्तरता दिइन् । बीए पनि पास गरिन् र अहिले एमए पढ्दैछिन् । केही वर्षअघि लोकसेवामा नाम निकालेर नगरपालिकामा जागिर खाँदैछिन् । रातिको कलेज पढ्छिन् । उनकै कमाइले घर व्यवहार चलेको छ । कहिलेकाहीँ ठूलो पैसा आवश्यक पर्दा मात्रै मैले निकाल्नुपर्छ ।

बिहे गरेको दुई वर्षपछि छोरी जन्मिइन् । पहिलोपटक मलाई छोरीकै इच्छा थियो । तीन वर्षपछि छोरो जन्मियो र हाम्रो परिवार पूर्ण भयो ।

भान्सामा म जाँगरिलो

छोराछोरी जन्मिँदा उनले जागिर खान थालेकी थिइनन् । म प्रायः घरबाहिरै हुने हुँदा सन्तान हुर्काउने जिम्मेवारी उनी एक्लैले बहन गरिन् । यद्यपि घरमा भएका बेलामा म सबै कुरामा उनलाई सघाउँथे । बच्चाबच्चीको आची पुछिदिनेदेखि नुहाइदिने, तेल लगाइदिने सबै काम गर्थेँ । अचेल पनि म त्यस्तै छु । कुनै कामका लागि पनि उनको मुख ताक्दिँन । समय भएसम्म उनलाई सघाउँछु । भान्साका काममा मलाई जाँगर लाग्छ ।

बरु मुनाचाहिँ अल्छी छिन् । बिहान चाँडै नउठ्ने र भान्साको काममा अल्छी गर्ने स्वाभावले कहिलेकाहीँ मलाई रीस उठ्छ । श्रीमतीले बिहानै चिया ल्याएर दिएको, बेला-बेलामा नयाँ-नयाँ परिकार पकाएर खुवाएको कुन श्रीमानलाई मन पर्दैन ?

छोरी जन्मिँदा घरमा लक्ष्मीको आगमन भएको जस्तो हुँदो रहेछ । छोरी मान्छे भनेका घरका शोभाजस्ता हुँदा रहेछन् । मेरी छोरीले अचेल मलाई चिया पकाएर खुवाउँछिन् । कहिलेकाही अनुहार अँध्यारो देखिन् भने चिन्ता लिन्छिन् । छोरो आफ्नै टाइपको छ । उ घरको काममा केही मतलब गर्दैन । बरु अहिलेदेखि नै अरुलाई हँसाउन खप्पिस हुँदै गएको छ । भोलि गएर मलाई पनि उछिन्ने छाँट छ ।

कुनै कामका लागि पनि उनको मुख ताक्दिँन । समय भएसम्म उनलाई सघाउँछु । भान्साका काममा मलाई जाँगर लाग्छ

शंकालु थिइन्

श्रीमतीसँग बेलाबखत ठाकठुक पनि नहुने होइन । सुरुसुरुमा दिनमा उनले ममाथि खुब शंका गर्थिन् । फलानोसँग किन हिँडेको ? फलानोले किन फोन गरेकी ? यति लामो फोन कोसँग गरेको ? आदिजस्ता प्रश्नहरु खुब आउँथे । म भन्थेँ, ‘ममाथि शंका नगर । हाम्रो क्षेत्रमा केही मान्छेहरु त्यस्ता होलान्, तर मचाहिँ केटीका मामलामा नौनी घ्यू जस्तै शुद्ध छु । मेरो पूरा ध्यान कलाकारितामा मात्रै छ ।’ सुरु-सुरुमा जतिभन्दा पनि नसम्भिmने । बिस्तारै कुरा बुझ्दै गइन् । अहिले त्यस्तो समस्या छैन ।

मुनाको रीस कडा छ । उनी पनि मेरो रीस कडा छ भन्ने ठान्छिन् । हुन पनि म उनलाई बेलाबेलामा हप्काइदिन्छु  । कतै जानुपर्‍यो भने मेकअप गर्न र लुगा भिर्न घण्टौं लगाउने उनको बानी छ । त्यसले मलाई झोंक चल्छ । उनले चैं म राति ढीलो आएको, छोराछोरीलाई टाइम नदिएको विषयमा गनगन गर्छिन् ।

कहिलेकाहीँ झगडा भएर केहीवेर बोलचाल हुँदैन । त्यस्तो बेलामा छोराछोरीले हुलाकीको काम गर्छन् । तेरी आमालाई यस्तो भन्दे भन्छु, उनी पनि तेरो बाउलाई यस्तो भन्दे भन्छिन् । विस्तारै आफैं बोल्न थाल्छौं ।

सबै मिलाएर उनी एक जिम्मेवार पत्नी र बुहारी हुन् । मेरो र परिवारको सबै ख्याल राख्छिन् । घर चलाउने जिम्मेवारी उनकै काँधमा छ । केटाकेटीको स्कुल फी तिर्नेदेखि उनीहरुलाई होमवर्क गराउनेसम्म उनले नै गर्छिन् । म साढे दुई महिनासम्म बाहिर हुँदा पनि एक्लै सबै काम भ्याउँछिन् ।

बिहे यताका १३ वर्षसम्म माया-प्रेम उस्तै छ । मेरो हाइट उस्तै छ । उनको खितखित उस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment