२५ जेठ, काठमाडौं । विशिष्ट पदाधिकारीहरुले राज्यकोषबाट लिँदै आएको सेवा सुविधाबारे सूचना चुहाएको भन्दै प्रधानमन्त्री कार्यालयको निर्देशनमा शहरी विकास मन्त्रालयले भवन सम्भार डिभिजनका प्रमुख कृष्णराज पाण्डेलाई स्पष्टिकरण सोधेको छ ।
बिशिष्ट पदाधिकारीहरुले राज्यकोषको दुरुपयोग गरी महंगा र ब्राण्डेड सामान लिने गरेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले महंगा र ब्राण्डेड सामान मगाएको माग फारमको फोटो सहितको विवरण अनलाइनखबरले सार्वजनिक गरेको थियो ।
(पढ्नुस् समाचार: प्रधानमन्त्रीलाई बजाजको फ्यान, राष्ट्रपतिलाई हकिन्सको कराई !)
राष्ट्रपतिदेखि प्रधानमन्त्रीको निवासबाट प्राप्त भएको सामानको माग फारम मिडियालाई उपलब्ध गराएर बिशिष्ट पदाधिकारीको बद्धनाम गर्न खोजिएको आरोप लगाउँदै शहरी विकास मन्त्रालयले स्पष्टिकरण सोधेको हो । ‘गोप्य सूचना चुहाएर पदको दुरुपयोग गरेको र विशिष्ट पदाधिकारीको सामाजिक छवि धुमिल्याउने बद्नियत राखेको भनी स्पष्टिकरण सोधिएको छ,’ भवन सम्भारका कार्यालय स्रोतले भन्यो, ‘अहिले त स्पष्टिकरण दिन भ्याइनभ्याइ छ ।’
विशिष्ट पदाधिकारीहरुले राज्यको पैसा खर्च हुनेगरी चम्चा, कराइदेखि साबुन सेम्पु, टावेल, सोफा, पर्दा र पंखासम्म ब्राण्डेड सामान मगाउँदै आएका छन् । ‘प्रधानमन्त्रीले प्रकाशित समाचारप्रति चासो राख्नुभएको थियो । र कर्मचारीले महत्वपूर्ण सूचनाको सुरक्षा गर्न सकेको देखिएन,’ अनलाइनखबरको जिज्ञासामा शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भनिन्, ‘यस विषयमा के भएको हो भनी जानकारी मागिएको हो ।’
यो पनि पढ्नुस्
ब्राण्डेड सामानबारे हेल्लो सरकारको चासो, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयलाई ध्यानाकर्षण
प्रतिक्रिया 4