Comments Add Comment

बिबादका कारण सडक निर्माण कार्य अवरुद्ध

२६ जेठ, डोटी  ।  डोटी रानागाउँको बाग्नेटे हुँदै बासुदेबी गाबिस जोड्ने सडक खण्डको निमार्णका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बिनियोजन गरेको छ तर काम सुचारु हुन सकेको छैन ।

Road 2
फाइल फोटो

खातिवाडा गाबिसको पुनेतोलादेखि चाँसी मेल्लेक हुँदै बिरलकाँडा सडक निर्माणका लागि निर्वाचन क्षेत्र पूर्बाधार बिकास कार्यक्रम अन्तरगत सात लाख बिनियोजन गरियो ।

उक्त सडकमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप-३) अन्तरगत पनि पाँच लाख रुपैयाँ बिनियोजन भएको छ तर स्थानीय बिवादका कारण सम्झौता समेत हुन सकेको छैन ।

त्यस्तै आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने कार्यक्रम अन्तरगत सिमलडाँडा, गाँजरी र पोखरी हुँदै सोकट जोड्ने सडक निमार्णका लागि १२ लाख रुपैयाँ बिनियोजित भएको भएपनि बिवादका कारण सम्झौता हुन सकेन ।

जिल्लाका अधिकांस सडकहरुमा उपभोक्ता समितिको अध्यक्ष को हुने र सडक मार्ग कताबाट लैजाने भन्ने बिवाद रहेको छ । रानागाउँ बाग्नेटे हुँदै बासुदेबी जोड्ने सडक निर्माणका लागि बासुदेवी गाबिस-८ का प्रेम कुँवरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी बैशाख २२ गते जिल्ला बिकास समितिको कार्यालयसंग सम्झौता भएको थियो ।

सोही दिन सम्झौता भए लगत्तै नेपाली कांग्रेसका नेता समेत रहेका रानागाउँका स्थानीय लोकेन्द्र शाहीले उपभोक्ता समिति गठन गर्दा रानागाउँ गाबिसका मान्छेलाई जानकारी नदिएको भन्दै सडक निर्माण रोक्न जिबिसमा उजुरी दिए । उजुरीमा भनिएको छ ‘रानागाउँलाई जानकारी नदिई उभोक्ता समिति बनाएकोले, सडक निर्माण हुने क्षेत्र दुबै गाबिसको भू-भाग पर्ने भएकाले संयुक्त उपभोक्ता समिति गठन गराई दिन हुन आग्रह गदर्छु ।’

शाहीले उपभोक्ता समिति गठन गर्दा रानागाउँ गाबिसका मान्छेलाई जानकारीनै नगराई गरेको भन्ने आरोप लगाएपनि समितिमा रानागाउँका गणेश मल्ल उपाध्यक्ष रहेको जिल्ला बिकास समितिसंग भएको सम्झौतामा उल्लेख छ । गणेश मल्ल उपाध्यक्ष हुँदाहुँदै पनि समिति एकलौटी भएको उजुरी पर्नु अध्यक्षनै चाहिन्छ भन्ने दावी हो भन्ने बुझाई सम्वन्धित निकायको छ ।

अध्यक्ष रानागाउँ गाबिसको बन्ने की बासुदेबी गाबिसको भन्ने विवाद उत्पन्न हुँदा सडक निमार्णको काम हुन नसकेको बासुुदेबी गाबिसका सह लेखापाल डम्मर भट्टले बताए ।

उपभोक्ता समिति गठनका लागि ६ पटकसम्म संयुक्त बैठक बसाउँदा पनि समाधान नआएको रानागाउँ गाबिसका सचिब दिपेन्द्र शाहले जानकारी दिए । उनले भने ‘६ पटक बैठक बस्यौं तर समिति कसरी बनाउने बारे टुङगो लागेन ।’ रानागाउँ र बासुदेबी गाबिसका स्थानीयले अध्यक्ष आफ्नो बन्नु पर्ने भन्ने दाबी  गरेका कारण समाधान हुन नसकेको हो ।

राजनैतिक बिवादका कारण उपभोक्ता समिति गठन हुन नसकेको स्थानीय बिकास अधिकारी बासुदेब रेग्मीले बताए । रेग्मीले भने ‘उपभोक्ता समिति गठनमा कस्को पार्टीको बन्ने, को बन्ने भन्ने बिवाद हुन्छ त्यसै कारणले धेरै ठाउँमा उपभोक्ता समिति गठन हुन सकेको छैन ।’

गाँजरी, पोखरी हुँदै सोकट जोड्ने सडक र खातिवडा गाबिसमा  सडकको मार्ग कहाँबाट बनाउने भन्ने बिवाद उत्पन्न हुँदा सडक निर्माणको सम्झौता हुन नसकेको हो । बिबाद भईरहँदा रकम फि्रज हुने चिन्ता स्थानीय सर्वसाधारणमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment