Comments Add Comment

नयाँ शक्ति: एक ज्ञान यात्रा

ज्ञान अब कुनै निश्चित वर्ग, समुदायको मुठ्ठीमा रहेन । यसलाई निजी पुँजी बनाउन अब सम्भवै छैन । त्यसो गर्न खोज्नु अनैतिक विषय हो भन्ने कुरामा पनि दुविधा भएन । ज्ञानको प्रसार र विस्तारबाट मात्र यसको औचित्य रहने भयो ।

jekendra shrestha
लेखक

बुद्धहरूले, मार्क्सहरूले, आइन्स्टाइनहरूले आफ्ना ज्ञ्ाानको प्रसार नगरी आफ्नै आत्मतुष्टिमा कैद गरेको भए हामी ज्ञानको संसारमा विचरण गर्न पाउने नै थिएनौँ । यहाँ बुद्ध, माक्र्स र आइन्स्टाइनहरू प्रतिनिधि पात्र हुन् । ती नयाँ चेतना निर्माण र पुराना चेतना विनिर्माणका प्रतिमुर्ति हुन् ।

किन सम्झन्छौँ हामी बुद्ध, मार्क्स र आइन्स्टाइनलाई ?

सिद्धार्थ गौतमलाई दरबारमा सुखसयलको कुनै कमि थिएन । दरबारको चौघेराभित्रको चेतनाभन्दा बाहिर सत्य खोज्ने संकल्प तिनले गरे । समाजको घोर निन्दा र कठोर तपस्या चुपचाप पचाए । मानव जगत्लाई सत्यको अर्काे पाटो उद्घाटित गरेर विदा भए ।

मार्क्स भन्दा अगाडि विभिन्न ज्ञ्ाानका शाखाहरू छिरलिएका थिए । मार्क्सले अर्थशास्त्र, राजनीतिशास्त्र, इतिहास र दर्शनलाई सुसंगत प्रणालीमा ढाले । त्यसमार्फत् मानव समाजको विकासलाई नयाँ आयाम दिए । माक्र्सले त्यसअघिका विद्वानहरूको योगदानलाई आलोचना र विकास गर्दै त्यतिबेलाको सामाजिक चेतनाको सार खिचे ।

आइन्स्टाइनले न्यूटनको गुरुत्वबल सिद्धान्तलाई दह्रोसँग समाए र ‘अनन्त स्थिर ब्रम्हाण्ड’ को न्यूटनीय विश्वासलाई भत्काइदिए । उनले सापेक्षतावादको सिद्धान्त स्थापित गरे । क्वान्टम भौतिकीको विजारोपण गरेर भौतिक विज्ञानलाई नयाँ उचाईमा पुर्‍याए ।

बुद्धले तत्कालीन सामाजिक चेतनाकै निरन्तरतामा बाँचेका भए, माक्र्स ‘हेगेलियन’ भएरै जीवन बिताएका भए, आइन्स्टाइन न्यूटनका सच्चा अनुयायी भएर विज्ञानका प्रवचनहरूमै रमाएका भए हाम्रो चेतना यहाँसम्म आइपुग्ने थिएन ।

स्थापित ज्ञान/दर्शनलाई चलाउन मिल्छ ?

बुद्ध, माक्र्स र आइन्स्टाइनका ज्ञानका सीमा देखिए । तिनको समयसापेक्ष परिमार्जन गरौँ । यसो भन्दा चरम धृष्टता ठहरिएला । तर बुद्ध, माक्र्स र आइन्स्टाइन स्वयं तत्कालीन सामाजिक चेतनाका आलोचक थिए । माक्र्सले ‘हरेक सच्चा  दर्शन तत्कालीन समयको बौद्धिक सारत्व हो’ भने । स्थापित मान्यता र दर्शन कुनै अपरिवर्तनशील कुरा होइन । वर्तमानको बौद्धिक सारत्व अहिलेकै समाज विकास र यसको चेतनाबाट खिच्नु माक्र्समाथि पनि सम्मान नै हुनेछ ।

आलोचनात्मक चेतनाबाटै माक्र्सले ‘हेगेलियन’ बाट आफूलाई मुक्त गरेर समाज विकासको नयाँ क्षितिज देखाए । माक्र्सका विचारबाट प्रभावित अनुयायीहरूले माक्र्स र उनको विचारलाई देवता र धर्मग्रन्थको रूपमा चित्रित गरे । अनुयायीहरूको व्यवहारबाट आजित भएका माक्र्सले ‘म माक्र्सवादी होइन’ समेत भन्नुपरेको थियो ।

बुद्ध, मार्क्स र आइन्स्टाइनले तिनका योगदान घोक्न, उद्धरणहरू उद्धृत गर्न र तिनीहरूको भजन गाउन पक्कै सिकाएका होइनन् । बरु त्यसो गर्नु उनीहरूप्रतिको घोर अपमान हो । स्थापित मान्यतालाई आलोचनात्मक दृष्टिले हेर्न र  ज्ञ्ाानविज्ञ्ाानका नवीनतम खोज, अनुसन्धानलाई मानव समाज विकासमा लगाउन हामीलाई उनीहरुले सिकाएका हुन् ।

स्थापित मान्यतामा परिवर्तन
बुद्धले आत्मिक ज्ञानको सुत्र प्रतिपादन गरेर अद्वितीय योगदान दिए । तर एकैपटक सबै मान्छेहरूमा त्यस्तो ज्ञान प्राप्तिको सम्भावना हुँदैन । सामाजिक व्यवस्था परिवर्तनमा त्यसले निणर्ायक भूमिका खेल्न सक्दैन ।

आइन्स्टाइनले क्वान्टम भौतिकीमा खोज गरेवापत नोबेल पुरस्कार प्राप्त गरे । तर उनी आफै त्यस खोजप्रति विश्वस्त भएनन् । थप अनुसन्धान गरेनन् । उनको मृत्युपछि वैज्ञानिकहरूले त्यसमाथि गरेका अनुसन्धानहरूले भौतिक विज्ञानमा नयाँ आयाम थपेका छन् ।

मार्क्सको दर्शन न्यूटनसम्मको वैज्ञानिक आविष्कारमा आधारित थियो । न्यूटन पछिका वैज्ञानिक आविष्कारहरू माक्र्सको जीवनकालभन्दा पछाडि मात्र भए । शुरूमा पदार्थको अन्तिम एकाई मानिएको परमाणु प्रोटोन र इलेक्ट्रोनबाट बनेको हुँदोरहेछ भन्ने कुरा बीसौँ शताब्दीको शुरूवाततिर मात्र पत्ता लाग्यो । त्यसको दुई दशकपछि मात्र न्यूट्रोन भन्ने अर्काे कण पनि परमाणुभित्र हुन्छ भन्ने पत्ता लाग्यो ।

तर आज प्रोटोन र न्यूट्रोन पनि अझ साना ‘क्वार्क’ भनिने कणहरुबाट निर्मित हुन्छन् भन्ने खोजले नोबेल पुरस्कार नै प्राप्त गरिसकेको छ । क्वान्टम सिद्धान्तले पदार्थको विशेषताबारे नयाँ तथ्य सार्वजनिक गरिदिएको छ । त्यसकारण एकपटक स्थापित मान्यताहरू अन्तिम मान्यता हुन सक्दैनन् ।

तत्कालीन वैज्ञानिक उपलब्धिमा आधारित भएर मार्क्सले अघि सारेका मान्यताहरूमा पनि व्यापक फेरवदल आएका छन् । प्रकृतिमा विपरीत तत्वको संघर्षले गति उत्पन्न गरेजस्तै समाजमा वर्गसंघर्षले गति उत्पन्न गर्छ । त्यसले समाजवाद हुँदै साम्यवादमा पुग्ने सोझो बाटो तय गर्छ भन्ने माक्र्सको मान्यता न्यूटनको एकल रेखीय चिन्तनमा आधारित थियो ।

नयाँ शक्तिप्रति लक्षित गरेर ‘नयाँ बोतल पुरानै रक्सी’, ‘मार्क्सवादको परित्याग’ जस्ता उपमा आलोचकहरूले भिराउने गरेका छन् । यसो भन्नु वास्तवमा दर्शन माथिको क्रूर ठट्टा हो ।

तर विज्ञानको नयाँ आविष्कारले पदार्थको स्वभाव व्यतिकरणमा चल्छ र अनिश्चित हुन्छ भन्ने देखायो । समाज विकासको चरण पनि जुन बाटो पनि हिँड्न सक्ने भयो । एकै वर्ग समूहभित्र पनि हरेक मानिसको सोच्ने तरिका एउटै हुँदैन । मानिसको संस्कार, पहिचान, निजत्व उसलाई प्राणजत्तिकै प्रिय हुन्छ । मानवीय क्षमता, रूचि, कला व्यक्तिपिच्छे फरक हुन्छ । यी सबै तत्वहरूको गठजोडबाट मानिसको व्यक्तित्व निर्माण हुन्छ । न्यूटनको आविष्कार यन्त्र विज्ञ्ाानसम्म सीमित थियो र हामी आज पनि समाज र व्यक्तिलाई यान्त्रिक आँखाबाटै हेरिरहेका छौँ ।

दर्शनमाथिको मजाक

नेपालमा नयाँ विचार सहितको वैकल्पिक राजनीतिको थालनी भएको छ । नयाँ शक्तिप्रति लक्षित गरेर ‘नयाँ बोतल पुरानै रक्सी’, ‘मार्क्सवादको परित्याग’ जस्ता उपमा आलोचकहरूले भिराउने गरेका छन् । यसो भन्नु वास्तवमा दर्शन माथिको क्रूर ठट्टा हो ।

द्वन्द्ववादको आधारभूत कुरा नै हरेक चीज गतिशील छ भन्ने हो । एउटा फेसबुक प्रयोगकर्तालाई आफ्नो पहिलो फोटो र आजसम्मको फोटो राखेर उसमा आएको परिवर्तन फेसबुकले देखाइदिन्छ । हामी सँधैं ऐना हेछौँ तर आफ्नो अनुहारमा परिवर्तनको महसुस गर्दैनौँ । फेसबुकमा फोटो हेरेपछि चकित पछौँ । एउटा वयस्क मान्छे पुरै नयाँ हुनै सक्दैन । लामो पृष्ठभूमि उसको छायाँजस्तै हुन्छ । आफ्ना पूर्ववत् पृष्ठभूमिको पुनरावलोकन गरेर नयाँ बन्ने कुरा हो । गलत संस्कार, प्रवृत्ति त्याग्दै रूपान्तरित चेतनाको संकल्प नयाँ शक्ति अभियन्ताका लागि अनिवार्य शर्त हो । यस अर्थमा नयाँ शक्ति सबै नयाँ मान्छेहरूको केन्द्रीकरण हो ।

माक्र्सको सिद्धान्तका राम्रा पक्षलाई पश्चिमा देशहरूले उहिल्यै प्रयोग गरिसके । हामी ‘को बढी माक्र्सवादी’ भन्दै एकअर्कालाई हिलो छ्याप्नमै आनन्द मान्छौँ । माक्र्सको नाम जपेर माक्र्सवादी भइने होइन । माक्र्सवादी हुनु भनेको त सामाजिक चेतनाको विकास र ज्ञ्ाान विज्ञ्ाानका नविन खोज, अन्वेषण र आविष्कारलाई आफ्नो दिमागमा सुसज्जित गर्नु हो । र समाजलाई सोही अनुरूप नेतृत्व प्रदान गर्नु हो ।

हातेमालो गरौँ

समाज र सत्ताद्वारा निर्धारित चेतना भन्दा परको सत्य खोज्नु हरेक समयमा दुस्साहसपूर्ण नै मानिन्छ । तर कसै न कसैले त यो जोखिम उठाउनै पर्छ । समाज विकासको गति ‘शान्त तलाऊ’ जस्तो हुँदैन । त्यसभित्र थुप्रै ज्वारभाटा र तरङ्गहरू उत्पन्न भइरहेका हुन्छन् । समाजिक चेतनाको नेतृत्व गर्नेहरूले त्यस्ता ज्वारभाटा र तरङ्ग देख्नैपर्छ । र तिनको मनोदशाको सार खिच्नैपर्छ ।

हामी मानव समाजको विकासमा आजसम्म भएका सबै योगदानहरूको सम्मान गरौँ । सकारात्मक सोचको विकास गरौँ । समृद्ध देश निर्माण गर्न आफ्नो तहबाट योगदान गरौँ ।

(श्रेष्ठ नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment