Comments Add Comment

गुमनाम एसएसपीहरुले भूमिका पाए, अञ्चल प्रहरी कार्यालयको अधिकार थपिँदै

घुमुवाको निगरानी गर्न छुट्टै युनिट

Nepal-Police-Headquarter
२७ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना अञ्चल कार्यालयहरुलाई बलियो बनाउने तयारी गरेको छ । अपराध अनुसन्धानमा अञ्चल प्रहरी कार्यालयहरुको भूमिका बढाउने गरी तयारी थालिएको हो ।

नेपाल प्रहरीको उपत्यका बाहिर रहेका युनिटहरुको नेतृत्व क्षेत्रीय प्रहरी कार्यालयले गर्छ । क्षेत्रीय प्रहरी कार्यालयपछि अञ्चल प्रहरी कार्यालय र जिल्ला कार्यालय तथा अन्य इकाइहरु छन् ।

डिआइजीको नेतृत्वमा क्षेत्रीय प्रहरी कार्यालय हुन्छ जसले आफ्नो क्षेत्रमा पर्ने सबै प्रहरी कार्यालयको संयोजन गर्छ । त्योभन्दा तल्लो तहमा रहेको अञ्चल प्रहरी कार्यालयको नेतृत्व एसएसपीले गर्ने गरेका छन् । अधिकार र जिम्मेवारीको हिसाबले पनि क्षेत्रीय प्रहरी कार्यलयपछि अञ्चल प्रहरी कार्यलय बढी प्रभावकारी हुनु पर्ने हो । तर देशैभरि रहेका १४ वटामध्य अधिकांश अञ्चल प्रहरी कार्यलय र त्यसको नेतृत्व गर्ने एसएसपीहरु गुमनाम जस्तै बन्ने गरेका छन् ।

अञ्चलभन्दा तल रहने जिल्ला प्रहरी कार्यालयले आवश्यक समन्वय र रिपोर्ट पनि क्षेत्रीय प्रहरी कार्यालयसँगै गर्ने भएकाले अञ्चल प्रहरी कार्यालय र त्यसको नेतृत्व गर्ने एसएसपीको भूमिका ओझेलमा परेको हो ।

अपराध अनुसन्धानको जिम्मेवारी सम्हालेलगत्तै अपराध अनुसन्धान विभागले १४ वटै अञ्चल प्रहरी कार्यालयका एसएसपीहरुको भेला गरायो ।

उपत्यका बाहिरका जिल्लाहरुमा हुने अपराध अनुसन्धानको नेतृत्व अञ्चल प्रहरी कार्यालयले गर्नुपर्ने भन्दै एसएसपीहरुको भेला गराइएको थियो । जिल्लाहरुमा हुने कतिपय अपराधिक घटनाहरुको अनुसन्धान जटिल हुनसक्छ भनेर अनुसन्धानको जिम्मेवारी अञ्चल प्रहरी कार्यलयलाई दिइएको छ । त्यसो त महिला, बालबालिकाहरुको केश पनि अञ्चल प्रहरी कार्यालयले हेर्नुपर्ने छ ।

‘एक त अञ्चल प्रहरी कार्यालयको भूमिका त्यति प्रभावकारी देखिएन, अर्को जिल्ला प्रहरी कार्यालयले दैनिक शान्ति सुरक्षामा ध्यान दिनुपर्ने भएकाले अञ्चल प्रहरीलाई अनुसन्धानको जिम्मेवारी दिइएको हो,’ अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्मा बताउँछन् ।

मुद्दा जिल्ला प्रहरी कार्यालयबाट चल्ने भए पनि घटनाको विस्तृत अनुसन्धानको काम अञ्चल प्रहरी कार्यालयले गर्नुपर्ने उनको भनाई छ । जिल्लाले गरिरहेको अनुसन्धानको निगरानी गर्ने काम पनि अञ्चल प्रहरी कार्यालयले गर्नुपर्ने उनले बताए ।

अपराध अनुसन्धानमा जनशक्ति बढाइने

अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेपछि एआइजी विज्ञानराज शर्माले १२ वटा अञ्चल प्रहरी कार्यालयको निरिक्षण गरे । उनले सम्बन्धित अञ्चल प्रहरी कार्यालयका प्रमुखसँगै स्थानीयसँग पनि अन्तर्क्रिया गरे ।

अन्तर्क्रियामा अधिकांशको गुनासो एउटै थियो, प्रहरीको अनुसन्धान प्रभावकारी भएन । कतिपयले फितलो अनुसन्धानका कारण अपराधीले सजायँ नपाएको गुनासो गरे भने कतिपयले निर्दोषले सजाय पाएको दावी गरे ।

अपराध अनुसन्धान गर्ने दक्ष जनशक्तिको अभावका कारण यस्ता गुनासोहरु बढ्न थालेको एआइजी शर्माको निश्कर्ष छ । त्यसैले अब नेपाल प्रहरीको करिब १० प्रतिशत जनशक्तिलाई अपराध अनुसन्धानमा दक्ष बनाउने योजना बनाएको एआइजी शर्माले बताए ।

‘हामीकहाँ अनुसन्धान गर्ने जनशक्ति निकै कम छ, अब हामी अनुसन्धानको तालिम बढाउँछौं र उनीहरुलाई अनुसन्धानमै खटाउछौं,’ एआइजी शर्माले भने ।

घुमुवाको निगरानी गर्न छुट्टै युनिट

अपराधिक समूहको बारेमा सूचना संकलनको लागि भन्दै प्रहरीका अधिकांश युनिटहरुले सादा पोशाकमा प्रहरी परिचालन गर्छन् । जसलाई अर्को शब्दमा घुमुवा भनिन्छ । तर, त्यो घुमुवा टोली सूचना संकलनमा प्रभाकारी नभएको भन्दै आलोचना हुने गरेको छ । कतिपयले आपराधिक समूहसँग सम्बन्ध राखेर पैसा असुल गर्ने र उनीहरुलाई प्रहरी कारवाहीबारे सूचनासमेत दिने गरेको आरोप लाग्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालयले जथाभावी घुमुवा राख्ने प्रहरी युनिटका प्रमुखलाई कार्वाही गर्ने चेतावनी दिएको छ । अपराध अनुसन्धान विभागका एआइजी शर्माले भने, ‘कुनै घटना विशेषको बारेमा सूचना लिनसम्म राखेको छ भने ठीकै हो, तर मनलाग्दी घुमुवा राख्नेहरुलाई कार्वाही हुन्छ ।’

यदि कसैले घुमुवा राखेको छ भने उसले आफूभन्दा माथिल्लो निकायमा जानकारी गराएको हुनुपर्ने पनि उनले बताए ।

अपराध अनुसन्धान विभागले घुमुवाको निगरानी गर्न छुट्टै युनिट बनाउने तयारी गरिरहेको पनि एआइजी शर्मा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment