Comments Add Comment

सम्वेदनशील ठाउँमा डिजिटल चेकपोष्ट राख्ने सरकारको तयारी

प्रविधिसँगै प्रवृत्ति पनि सुधार्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Shakti-Basnet२७ जेठ, नेपालगन्ज । सरकारले केहीदिन भित्रै महत्वपूर्ण र सम्वेदनशील ठाउँमा डिजिटल चेकपोष्ट राख्ने तयारी गरेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले डिजिटल चेकपोष्ट राख्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका हुन् ।

बाँकेको कोहलपुरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले डिजिटल चेकपोष्ट राख्नका लागि बजेट समेत छुट्टयाइएको जानकारी दिए । इलाका प्रशासन कार्यालय कोहलपुरको भवन उदघाटन कार्यक्रममा उनले सुरक्षा निकायमा प्रविधिको प्रयोगसँगै प्रवृत्ति पनि सुधार्न आवश्यक रहेको औंल्याए ।

उनले भने, ‘सुरक्षा निकायमा छरितो सेवा दिनका लागि प्रविधिको प्रयोग गरिने भएपनि प्रवृत्तिमा सुधार नहुँदासम्म प्रविधिले मात्र केही गर्न नसक्ने भएकोले प्रवृत्तिमा सुधार ल्याउन आवश्यक छ ।’

उनले शान्ति सुरक्षाको सवालमा कुनै पनि ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पार्दै भने, ‘सेवाग्राहीलाई छिटो छरितो सेवा दिन र कुनैपनि बाहानामा सेवा प्रवाह गर्नको लागि निर्देशन समेत दिन चाहान्छु ।’

उनले मुलुक द्वन्द्वका कारण एक दशक र संक्रमणकालका कारण एक दशक गरी २ दशक पछाडि परेको उल्लेख गर्दै अब परिवर्तनलाई संस्थागत गर्ने र अर्थिक विकास, सुशासन, शान्ति सुव्यवस्था कायम गर्दै मुलुकको विकासमा लाग्न जरुरी भएको स्पष्ट पारे ।

बाँकेको पूर्वी तथा उत्तरी भेगका खासकुश्मा, कचनापुरी, महादेवपुरी, नौबस्ता, चिसापानी, बनकटवा, शम्शेरगन्ज र कोहलपुर नगरपालिकाका करिव २ लाख सेवाग्राहीले जिल्ला प्रशाशन कार्यालय बाँकेबाट पाउने सबै सेवा अब ईलाका प्रशाशन कार्यालय कोहलपुरबाट पाउने छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बस्नेतले बाँके कचनापुर-२ का विक्रान्त डाँगीलाई नागरिकताको प्रमाणपत्र वितरण गरेर कार्यालयको उदघाटन गरेका थिए ।

कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का सांसद दिनेशचन्द्र यादव, क्षेत्र नम्बर १ का सांसद देवराज भार, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र शर्मालगायतले पनि आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment